ब्याजदर घटाउन वाणिज्य बैंकबीच भद्र सहमति, मुद्धति निक्षेपमा १० प्रतिशतसम्म दिने

  २०७५ असोज २५ गते १२:१०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकबीच मुद्धतिको ब्याजदर घटाउने सहमति भएको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बिहीबार बसेको २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकले मुद्धति निक्षेपमा १० प्रतिशत ब्याजदर कायम गर्नेे भद्र सहमति भएको हो ।

लगानीयोग्य पुँजीको कमी हुन थालेपछि निक्षेप बढाउन २ वटा वाणिज्य बैंकले यसअघि गरेको भद्र सहमति तोडेपछि एसोसियसनको आकास्मिक बैठकले मुद्धतिमा ब्याजदर घटाउने निर्णय गरेको हो । सहमतिअनुसार शुक्रबारदेखि बैंकहरुले संस्थागत मुद्धतिमा ९ र व्यक्तिगत मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति भएको सेन्चुरी कमर्शियल बैंकका सीइओ तुलसीराम गौतमले बताए । यस्तै बैंकहरुले साधारण वचतमा ७ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने सहमति भएको उनले जानकारी दिए । यसअघि बैंकले व्यत्तिगतलाई ११ र संस्थागतलाई साढे १० प्रतिशत ब्याज दिदै आएका थिए ।

बैंकहरुले धमाधम योजना ल्याएर निक्षेप तान्न थालेका छन् । बैंकहरुले मुद्धतिमा साढे १० प्रतिशत भनेपनि यसअघि भएको भद्र सहमति तोडेर केही बैंकले १२ प्रतिशतसम्म ब्याज दिएपछि बैंकले सहमति खोजेका हुन् । बैंकहरु ब्याजदर बढाउदा कर्जा महंगो हुने र यसले मूल्यवृद्धि गराउने र अर्थतन्त्रलाई पनि समस्यामा पार्ने निष्कर्षमा बैंकर पुगेका छन् ।

बुधबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । गत साउनमा तरलता बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्ला २ महिनामा बैंकले लगानी बढाएपछि प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । कर्जाको मागअनुसार बैंकले निक्षेप परिचालन बढाउन सकेका छैनन् । मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात घटाएपछि बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ तरलता बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.