वुद्ध एयरले सेयर बिक्री गर्ने, अन्तर्राष्ट्रिय उडानको तयारी

  २०७५ असोज २५ गते १०:४५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी वुद्ध एयरले सेयर बिक्री गर्ने भएको छ । बुद्धलाई पब्लिक कम्पनी बनाएर सेयर बिक्री गर्न लागेको हो । कम्पनीले अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत मात्र सेयर राखेर पब्लिक कम्पनीमा लैजाने तर आन्तरिक उडानका लागि पब्लिकमा नलगिने निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाई क्षेत्रमा आउन चाहनेलाई दिइने उनले स्पष्टपारे । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले पब्लिक कम्पनीका रूपमा पहिलो चरणमा भारत र चीन उडान भर्ने जनाएको छ ।
बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् ।

आन्तरिक र क्षेत्रीय उडानमा देशकै अब्बल कम्पनी बुद्धले अबको यात्रा अन्तर्राष्ट्रिय गन्तव्यतर्फ केन्द्रित गर्ने भएको छ । अबको तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको बुद्धले त्यसको तयारी पनि थालेको छ ।

अन्तर्राष्ट्रिय उडानमा १४ विमान

अन्तर्राष्ट्रिय उडानको योजना बनाएको बुद्धले तीन वर्षपछि १४ वटा विमानबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेररलगायत विमान उत्पादक कम्पनीसँग वार्ता गरिरहेको जनाएको छ ।“पोखराबाट १४ विमानले सेवा दिन्छौँ, पहिलो चरणमा भारत र चीनका गन्तव्यमा नै केन्द्रित हुन्छौँ, हामी यो वर्षको अन्त्यमा एयरबस वा बोइङ भित्र्याउने आर्थिक स्रोत व्यवस्थापनसहितको कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने।

भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, चेन्नाइ, हैदरावाद र चीनको बेइजिङ, साङ्घाइलगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्धको योजना छ । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले काठमाडौँबाट भारतका केही शहरमा उडान गरिरहेको छ ।

हवाई मार्ग इजाजत तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने जनाइएको छ । “इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला भन्ने विश्वास छ । यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ । उक्त अवधिसम्म व्यावसायिक योजना र जनशक्ति तयारी पूरा गर्छौँ”, उनी भन्छन् ।पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सेवा विस्तारको योजना अघि सारिएको कम्पनीले जनाएको छ ।

बुधबारदेखि २२ औँ वर्षमा प्रवेश गरेको बुद्धले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ । नेपालको भूबनोटअनुसार एटिचार सुरक्षित र भरपर्दो विमानको रूपमा स्थापित भएकाले आन्तरिक उडानमा एटिआरमै सीमित हुने बस्नेतले उल्लेख गरे। भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौँबाट भारतको वनारसमा नियमित उडान शुरु गरेको छ । निकट भविष्यमै नेपालगञ्जबाट नयाँदिल्ली उडान शुरु गर्ने योजना छ ।

दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर

बुद्ध एयरले सञ्चालन गरिरहेको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर भएको दाबी गरिएको छ । सिङ्गापुर एटिआरका बिक्री तथा सेवा प्रमुख बिली वोले बुद्ध एयरको ह्याङ्गर दक्षिण एशियास्तरको रहेको बताउनुुहन्छ ।आफ्नो १० वर्षे सहकार्यमा बुद्ध एयरले हवाई सुरक्षाका साथै अन्तर्राष्ट्रियस्तरको मर्मत सम्भारलाई विशेष प्राथमिकता दिएको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.