महेन्द्र राजमार्गकै मोडलमा मेची-महाकाली रेलमार्ग, काकडभिट्टा-बर्दिबास खण्ड प्राथमिकतामा

  २०७५ असोज २४ गते १८:१०     विकासन्युज

काठमाडौं । ९४५ किलोमिटर लामो मेची महाकाली रेलमार्ग पनि महेन्द्र राजमार्ग(पूर्व पश्चिम) राजमार्गकै मोडलमा निर्माण हुने भएको छ । अर्थ मन्त्रालयको अगुवाईमा सरकारले मेची महाकाली विद्युतिय रेलमार्गको बिभिन्न खण्डहरुमा लगानीकर्ताहरुको खोजी गरिरहेको छ । केहि समय अघि मात्रै अर्थ मन्त्रालयमा आयोजित रेल ब्रिफिङमा जापान, कोरिया, चीन र भारतले मेची महाकाली रेलमार्गको बिभिन्न खण्डको निर्माणमा चासो देखाएका थिए ।

त्यस लगत्तै अर्थमन्त्री डा. युवराज खतिवडाले एक महिनाभित्र पूर्व पश्चिम रेलमार्गको कुन खण्डमा कसले लगानी गर्छन भन्ने तथ्य एक महिनाभित्रै सार्वजनिक गरिदिने घोषणा गरेका थिए । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारले पनि मेची महाकाली रेलमार्गको निर्माणका लागि दाताहरुको खोजी आरम्भ गर्ने समय भैसकेको बताए ।

‘महेन्द्र राजमार्ग पनि खण्ड खण्ड गरेर बिभिन्न देशहरुको सहयोगमा निर्माण भएको थियो, रेलमार्गलाइ पनि त्यसरी नै बनाउन सकिन्छ, अब लगानीकर्ता खोज्ने समय भैसकेको छ’, चित्रकारले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले पनि केहि समयभित्रै पूर्वपश्चिम रेलमार्गको काकडभिट्टा बर्दिबास खण्डको निर्माणका लागि दातासँग सम्झौता हुने बताए ।

मन्त्री महासेठले भने,‘बर्दिबासदेखि काँकडभिट्टा हामी निकट भविष्यमा नै सम्झौता गर्न गैरहेका छौं । २४६ किलोमिटर फाष्ट्र ट्रेनको रुपमा यसलाई विकास गरेर हामीले निकट भविष्यमा एग्रिमेन्ट गर्न गैरहेका छौं । त्यस्तै जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास यही डिसेम्बरबाट सकभर सञ्चालन गर्न हामी गैरहेका छौं ।’

हाल बर्दिबासदेखि लालबन्दीसम्मको खण्डमा धमाधम निर्माण कार्य चलिरहेको छ । त्यस्तै लालबन्दिदेखि निजगढसम्मको खण्डमा केहि पुलहरुको टेण्डर निकालिएको छ । मुआब्जा वितरण पनि अघि बढिसकेको छ । काठमाडौं–केरुङ रेलमार्गको प्रि–फिजिवीलिटी सम्पन्न भैसकेको र अब विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउने पनि उनले स्पष्ट पारे ।

मन्त्री महासेठले भने,‘त्यस्तै भारतसँग सहमति भए अनुसार वीरगञ्ज–काठमाडौं रेलमार्गको प्रि–फिजिविलीटी सम्पन्न भैसकेको छ । अब छिट्टै डीपीअार बनाउन लागिसकेका छौं । यो छोटो अवधिमा पनि हामीले यी नयाँ–नयाँ कामहरु गरेर ल्याएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.