भक्तपुरको तलेजुमा जमरा राखी दशैँ शुरु

  २०७५ असोज २४ गते १०:०८     विकासन्युज

काठमाडौं। भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ ।

आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताए।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ ।

तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ ।

तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.