७ तल्ले अत्याधुनिक भवन बनाउँदै बीमा समिति, ८० करोड लागत

  २०७५ असोज २४ गते ९:१०     विकासन्युज

काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ ।

कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो ।

एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ ।


बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ललितपुर महानगरपालिकामा नक्सा पासका लागि पठाईको छ । नक्सा पास भए लगत्तै विद्युतिय ठेक्का( ई बिडिङ) गरिनेछ । ३ रोपनी क्षेत्रफलमा बन्ने भवन आगामी साढे ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको छ ।

समितिको नयाँ भवन ४६८६.३२ वर्गमिटर क्षेत्रफलको हुनेछ । समितिले केहि बर्ष अघि नेपाल बैंकसँग ४८ करोड रुपैंयाँमा ९ रोपानी जमिन खरिद गरेको थियो । सोही जमिनको ३ रोपनीमा नयाँ भवन बन्नेछ । नयाँ भवन निर्माण भएपछि नियामक निकायहरुमध्ये समिति सबै भन्दा अत्याधुनिक भवनमा सर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.