बागदरबार पुरातात्विक होइन, भत्काएरै छाड्छौंः मेयर शाक्य

  २०७५ असोज २१ गते ९:५५     विकासन्युज

काठमाडौँ । ‘बागदबार नभत्काउनू’ भनी सर्वोच्चले दिएको अन्तरिम आदेशको काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले अदालतको आदेशको खण्डन गरेका हुन् । न्यायाधीश दिपकराज जोशीको एकल इजलासले ‘बागदबार नभत्काउनू’ भनी केही दिन अघि अन्तरिम आदेश दिएको थियो ।

आदेशमा बागदबार पुरातात्विक महत्वको ऐतिहासिक दरबार भएकाले रिट निवेदन किनारा नलाग्दासम्म विद्यमान स्वरुप परिवर्तन गरी कुनै पनि निर्माणसम्बन्धी काम नगर्नू, नगराउनू भन्ने उल्लेख छ । दरबारलाई यथास्थितिमै संरक्षण गर्नू, गराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएपछि मेयर शाक्यले त्यसको खण्डन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुका लागि आयोजना गरेको ‘सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिबृद्धि संवन्धि दुई दिने अभिमुखिकरण तालिम’ कार्यक्रममा बोल्दै मेयर शाक्यले अदालतले जथाभावी आदेश दिएको आरोप पनि लगाए ।

महानगरपालिकाका अघिकांश वडाका वडाध्यक्षहरु सहभागी कार्यक्रममा बोल्दै मेयर शाक्यले भने–‘सर्वोच्चले एकतर्फी अन्तरिम आदेश दिएको छ । सर्वोच्च जस्तो सम्मानित र गरिमामय निकायले गरेको यो आदेश गलत छ । हरि दबारलाई बागदरबार भन्नु नै गलत छ । यो बागदरबार होइन, हरिदरबार हो,’ हरिदरबार सय वर्ष पुगेको छैन । सय वर्ष नपुगेकाले यो पुरातात्तित्क होइन । त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण छैन ।’

महानगरलेपुरातत्व संरक्षण ऐनमा समेत सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम रहेको भन्दै हरिदरबार सय वर्ष नपुगेकाले भत्काउँदा हुने बताउँदै आएको छ । पुरातत्व विभागले समेत जेठ १५ गते महानगरलाई ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनर्निर्माण गर्नू’ भनेकाले अब भत्काउन कुनै अप्ठेरो नपर्ने महानगरको दाबी छ ।
|
मेयर शाक्यले महानगरपालिकाका जनप्रतिनिधिलाई समेत ढुक्क भएर काम गर्न निर्देशन दिए । शाक्यले केही एनजीओ, आइएनजीओ महानगरपालिकाको नेतृत्वलाई नै असफल बनाउन लागि परेको स्मरण गराउँदै जनतालाई दिने सेवालाई अझ चुस्त र दुरुस्त बनाउन सबै वडाध्यक्षको भूमिका रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.