सेयर बजार घट्दैमा म्युचअल फण्डका लगानीकर्ताले डराउनु पर्दैन-समीर दाहाल

  २०७५ असोज १५ गते १३:०६     विकासन्युज

सन् २००२ मा चाटर्ड एकाउन्टेट भएपछि सीमरप्रसाद दाहाल आफैंले २ वर्ष लेखापरीक्षण फर्म सञ्चालन गरे । त्यसपछि हिमालयन बैंकमा इन्टरर्नल अडिटरको रुपमा सन् २००५ देखि काम सुरु गरेका दाहाल सन् २०१२ पछि सिटिजन्स बैंकमा गए । सिटिजन्सले प्रवद्र्धन गरेको सीबीआईएल क्यापिटलमा हाल उनी २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सेयर रजिस्ट्रार भन्दा पनि सीबीआईएलले लगानी व्यवस्थापन  र यो वर्ष पनि नयाँ पोर्टफोलियो योजना ल्याउने सीईओ दाहाल बताउँछन् । प्रस्तुत छ, नेपालमा पुँजी बजारको विकास र म्युचअल फण्डका बारेमा केन्द्रीत रहेर सीईओ दाहालसंग विकासन्युजले गरेको वहस ।

सीबीआईएल क्यापिटल २ वर्ष पुरानो भयो । अहिले संस्था कुन अवस्थामा पुगेको छ ?

यसले आफुलाई बजारमा कुशल लगानी व्यवस्थापकको रुपमा चिनाईसकेको छ । लगानीकर्ताले सीबीआईएल क्यापिटल लगानी व्यवस्थापक हो, म्युचुअल फण्डको व्यवस्थापन गरेको छ, पोर्टफोलियो म्यानेजमेन्टको काम पनि गरेको छ भनेर बुझ्नु भएको छ । हामीले इन्भेष्टमेन्ट बैंकिङ व्यवसायलाई प्राथमिकतामा राखेका छौं । साथै, सेयर रजिष्टार तथा निष्काशन प्रवन्धक, डिम्याट खाता खोल्ने, अन्डरराइटिङको कार्य पनि स्थापनाकाल देखि नै गरिरहेका छौं ।

अन्य मर्चेन्ट बैंकर आक्रमक रुपमा आइरहँदा सीबीआईएलले नगर्नुको कारण के हो ?

हामी स्थापना हुनु भन्दा पहिले सीमित मर्चेन्ट बैंकर मात्र रहेका हुँदा सेवाग्राहीले अनिवार्य रुपमा सीमित संस्थाहरुबाट मात्र सेवा लिनुपर्ने बाध्यता रहेकोमा हाल आएर मर्चेन्ट बैंकरहरुको संख्या वृद्धि भएको हुँदा सेवाग्राहीहरुलाई विकल्प प्रशस्तै छन् । तसर्थ व्यवसाय वृद्धिमा पूर्ण रुपमा आशावादी छौं ।

यहाँले इन्भेष्टमेन्ट पोर्टफोलियमा ध्यान केन्द्रीत भएको कुरा गर्नुभयो । सीबीआईएलले कुन क्षेत्रमा लगानी गरिरहेको छ ?

अहिले हामीले व्यक्तिगत र संस्थागत लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं । पुँजी बजारमा प्राविधिक जनशक्ति चाहिने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सेयर बजारमा ठुलो मात्रामा लगानी गरेका छन् । तर, सबैसंग सेयर बजारका बारेमा जानकार कर्मचारी नहुन सक्छन् । सेयर सम्बन्धि विस्तृत विश्लेषण गर्ने संयन्त्र तथा अर्थशास्त्री कर्मचारीको अभाव हुन सक्छ । व्यक्तिगत लगानीकर्ता मध्ये धेरै जसोले बजार बढ्न थाल्यो भनेपछि सेयरको बारेमा विस्तृत अध्ययन नगरी लगानी गरेको पाइएको छ । यसले गर्दा हामीले लगानीकर्तालाई सुरक्षित लगानी गराउने तर्फ ध्यान दिएका छौं ।

लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ?

सेयर बजार जहिले पनि तलमाथि भइरहेको हुन्छ । लगानी गर्दा कम्पनीको कमाई कति हुन्छ र प्रतिफल कति दिन्छ भन्ने हो । छोटो समयमा कति मूल्य वृद्धि हुन सक्छ भनेर मूल्य वृद्धिका लागि लगानी गर्ने भनेको स्पेकुलेसन हो, हामी यसमा विश्वास गर्दैनौं । हामी स्पेकुलेसनलाई व्यवस्थापन गरेर वास्तवमा प्रतिफल राम्राे दिने संस्थामा लगानी गर्छौं ।

गत फागुनमा ८२ करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्नुभएको थियो । म्युचुअल फण्डको वित्तीय विवरण कस्तो छ ?

फागुन अन्तिममा आएर म्युचुअल फण्ड बाँडफाँड गरेका हौं । सीबीआईएलले व्यवस्थापन गरेको कोषको मूल्य प्रति इकाई १० रुपैयाँ ५१ पैसा पुगेको छ । अर्को वर्षको लक्ष्य भनेको लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने हो । जुनकुरा हामीले विवरणपत्र निष्कासन गर्दा भनेका छौं । म्युचुअल फण्ड र मुद्धति निक्षेपबीचको फरक के हो भने फण्डले निक्षेपको प्रतिफल पनि दिन्छ भने बजारमा भएको मूल्य वृद्धि अनुसार आफ्नो भ्यालु बढाएर मूल्य वृद्धि अनुसार आफुलाई समायोजन गर्दै जान्छ । वर्षेनी लाभांश पनि आउँछ । म्युचुअल फण्ड पुँजीबजार र मुद्रा बजार दुबैको लाभ भएको लगानी गर्ने क्षेत्र हो । यसमा लगानी गर्दा कहिले बजार मूल्य घटेर तल पनि पुग्छ । त्यसबेला संयमता आवश्यक पर्छ ।

पछिल्लो समयमा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दै गएको छ । यसको कारण के
होला ?

जुन म्युचुअल फण्डहरुको मूल्य घटेको छ, उसको सेयर बजारमा प्रवेश गर्ने बेला अहिलेको तुलनामा सेयर मूल्य महंगो थियो । सेयर परिसुचक माथि भएको बेला प्रवेश गरेको भएपनि कन्टेन्जेसी फण्डको व्यवस्था नगरी पुरै कोष लगानी गरेको देखियो । त्यसले गर्दा उहाँहरुले सेयर बजार घटेका बेला किनेर मौकाको फाइदा उठाउन पाउनु भएन् । म्युचुअल फण्डले सबै पैसा सेयरमा मात्र लगानी गर्नुपर्छ भन्ने हैन । त्यसैले सम्बन्धित स्टेकहोल्डरहरुले हाम्रो योजना हेरेर सुझाव दिंदा उचित हुनेछ । तर सेयर किन्नु नै भनेर डण्डा हानेर किन्न वाध्य पारिनु हुन्न ।

म्युचुअल फण्डले कम्पनीको कस्ता सुचकको विश्लेषण गरेर सेयर खरिद गरेका हुन्छन् ?

पहिलो कुरा लगानीकर्ताको पैसा महंगो सेयरमा नपरोस् भनेर पीई रेसियोमा अत्यन्तै ध्यान दिन्छौं । यसपछि कम्पनीको व्यवसायको विश्लेषण गर्ने जसको दीगोपना र बजार हेरिन्छ । तेस्रो व्यवस्थापन पक्षको अवस्था हेरिन्छ । यसमा ग्रेडिङ गरिन्छ । बढी ग्रेड आएकोमा लगानी गर्नेछौं ।

सेयर बजारमा उतार चढाव आइरहेको देखिन्छ । अब बजार बढ्ने संभावना कतिको छ ?

सेयर बजारमा तलमाथि भइरहन्छ, यो नियमित प्रक्रिया नै हो । बजार घटेपछि किन्न थालिन्छ बजार बढ्नु स्वभाविक हो । मूल्य बढेपछि आवश्यकताअनुसार बिक्री गर्ने गरेका हुन्छ । हाम्रो लामो समयसम्म घट्दै गएकाले लगानीकर्ता निराश हुने अवस्था आएको छ । सरोकारवालाहरुबाट पनि बेलाबेलामा पुँजीबजारका बारेमा नकारात्मक टिप्पणीहरु आउँदा लगानीकर्ताको मनोवल खस्किएको छ जस्तो लाग्छ ।
सेयर बजार घट्दै गएपछि सबै म्युचुअल फण्ड धरासायी बन्ने अवस्था देखिएको हो ?

म्युचुअल फण्डले योजनाबद्धरुपमा प्रतिफल गणना गरि रकम लगानी गरेका हुन्छन् । बजार धेरै तलमाथि भइरह्यो भने रोलओभर भएर नाफा पनि बढी नै हुन्छ । दीर्घकालीन लगानीमा अल्पकालीन उतारचढावमा संयमता अपनाइन्छ । अहिले आएका म्युचुअल फण्ड सकिने भन्ने हुदैन् । प्रतिफल त आइरहन्छ । सबैले राम्रो कम्पनी छानेर लगानी गरेका हुन्छन् । अहिले पो घटेको छ, यो सधै निरन्तर हुदैन् । अहिले १० रुपैयाँको मूल्य घटेर ८ रुपैयाँसम्म आएको छ । अन्तत यो बढ्ने छ । दीर्घकालीन अवस्थालाई हेरेर लगानी गरिने भएकाले यसमा चिन्ता लिनु पर्ने अवस्था छैन ।

सीबीआइएल क्यापिटलले अहिले के गरिरहेको छ ?

सीबीआईएलले बजारमा लगानी व्यवस्थापन गर्ने संस्थाको रुपमा आफनो परिचय बनाएको छ । गत वर्ष हामीले नेपाल बैंकको सबैभन्दा बढी एफपीओ अण्डरराइटिङ गरेर सफलता पूर्वक सम्पन्न गराईयो । थप म्युचुअल फण्ड योजना र लगानी व्यवस्थापन योजना पनि ल्याएका छौं । आउँदो वर्ष ७ प्रदेशमा शाखा विस्तार गरेर काम सुरु गर्ने योजनामा छौं । ८२ करोड रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा आइसकेको छ भने अर्को १ अर्ब रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छौं । नयाँ म्युचुअल फण्ड ल्याउनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौं ।

स्वीकृति दिएको म्युचुअल फण्ड १ को पैसा लगानी गर्न बाँकी रहेको अवस्थामा तपाईलाई अरु थप फण्ड संचालन गर्ने स्वीकृति दिएर के गर्नु भन्नु हुन्छ ?

हामी जस्तो फण्ड म्यानेजरहरुले अध्ययन गरेर मात्र लगानी गर्छौ । एकै पटक ह्वातै लगानी गर्नु पनि हुँदैन । बजारलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले विस्तारै लगानी गरिरहेका छौं । सेयर बजार घटबढ भएकाले हामीसंग कन्टिेजन्सी कोष पनि चाहिन्छ । नयाँ अवसर आयो भने कसरी लगानी गर्ने ? त्यसलै बोर्ड नीतिगत रुपमा स्पष्ट हुन आवश्यक छ । एउटा स्किमलाई एक किसिमले चलाइरहेका हुन्छौं । फेरी अर्को स्किम सञ्चालनका लागि अनुमति मागेका छौं ।

सीबीआइएलले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको धेरै समय भइसक्यो हालसम्म आएको छैन । आईपीओ कहिले आउने छ ?
मर्चेन्ट बैंकरले आईपीओ ल्याउने कुरामा नीतिगत रुपमा व्यवस्थापन गर्दैैछौं भन्ने जानकारी प्राप्त हुन आएको छ । स्पष्ट नीति नहुँदा अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । हाम्रो २० करोड रुपैयाँ चुत्तापूँजीको कम्पनी हो । यसमा १७ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहेको छ । सिटिजन्स बैंक मुख्य कम्पनी हो भने नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेका छौं । यदि आइपीओ निष्कासनमा थप ढिलाई हुने भएमा हकप्रद सेयर जारी गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गृहकार्य पनि गरिरहेका छौं ।

सीबीआईएलको यो वर्षका लागि नयाँ कार्यक्रम के छन् ?

कर्पोरेट एडभाइजरी सेवा सुरु गर्ने छौं । ७ प्रदेशमा शाखा खोलेर लगानी व्यवस्थापनको सेवा दिने योजना अघि बढाएका छौं । साथै धितोपत्र बोर्ड बाट स्वीकृति प्रदान गरिने कुनै पनि कार्य गर्न तयार छौं ।

कर्पोरेट एडभाइजरी सेवा दिने कुरा गर्नुभयो । यो कस्तो योजना हो ?

कर्पोरेट एडभाइजरी सेवा नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सिविआइएल क्यापिटलले आफुलाई यसको लागि तयार गरिसकेको छ । संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेशन, र्विर्कङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.