५७.३ मेगावाटको म्याग्दी खोला परियोजना बन्दै, १० अर्ब लगानी

  २०७५ असोज १४ गते १०:२१     विकासन्युज

काठमाडौं। हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइडो पावर परियोजनाबाट उत्पादन गर्ने विजुली खरिद विक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिंग र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरे ।

म्याग्दी जिल्लामा बन्ने ५७.३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाले सन् २०२३ मा विद्युतको ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ । ‘जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिवद्ध छौं,’ आयोजनाका अध्यक्ष थापाले भने ।

परियोजनाका प्रबन्ध निर्देशक सुशिल पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष बैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ । ‘अहिले हामी परियोजनालाई जोड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी गरिरहेका छौं,’ पोखरेलले भने, ‘आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।’

परियोजनाले जारी गरेको विज्ञप्ति अनुसार यस आयोजनाले सुख्खा याममा १०३.११ गिगावाट आवर र बर्षामा २३२.८८ गिगावाट आवर गरी बार्षिक औषत ३३५.९९ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । उत्पादित विजुली प्राधिकरणले बर्षातमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा खरिद गर्ने छ ।

धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित विजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.