आतंकवादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ-विजयबहादुर शाह

  २०७५ असोज १४ गते १०:२९     विकासन्युज

विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह यसअघि सो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । एआईआरडीसीको सम्मेलनबाट नेपालले के सिक्यो र सो संस्थाको अध्यक्षको काँधमा के–के जिम्मेवारी आएको छ भन्ने विषयमा केन्द्रीत भई नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका शाहसँग गरिएको विकास वहस यस अंकमा ।

एआईआरडीसी के हो ? यसलाई कसरी बुझ्ने ?

एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज नामको संस्था ४० वर्षअघि स्थापना भएको थियो । यसको हेर्डक्वार्टर फिलिपिन्सको मनिलामा रहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका नियामक र बीमा कम्पनीहरु यसका सदस्य छन् । यसले बीमाको ज्ञान अभिवृद्धि, व्यवसायिक भाइचारा, बीमाका क्षेत्रमा आईपर्न सक्ने चुनौती व्यवस्थापनका लागि बहस चलाउने र पूर्व तयारी गर्ने गर्छ ।

यस संस्थाको अध्यक्ष बन्नुभएको छ । तपाईको काँधमा के के जिम्मेवारी आएको छ ?

यो संस्थाको भर्खरै सम्पन्न साधारण सभाले मलाई अध्यक्ष चुनेको छ । यो मेरो लागि मात्रै नभएर नेपाली बीमा क्षेत्रका लागि नै खुसीको कुरा हो भन्ने लाग्छ । मेरो काँधमा एआईआरडीसीको उदेश्य पुरा गराउने जिम्मेवारी आएको छ । यसको मञ्चलाई उपयोग गरेर बीमा क्षेत्रलाई व्यवसायिक र अब्बल बनाउन भूमिका खेल्नु मेरो जिम्मेवारी हो । बीमा क्षेत्रमा नयाँ प्रडक्ट भित्र्याउने, प्रबिधि भित्र्याउने काम गर्नुपर्नेछ ।

एआईआरडीसीको २१ औं सम्मेलनबाट बीमा क्षेत्रले के सिक्यो ?

हरेक सम्मेलनको एउटा नारा हुन्छ । यसपालिको नारा डिजास्टर रिस्क फाइनान्सिङ थियो । हामीले जल वायु परिवर्तनबाट भविष्यमा आउन सक्ने जोखिमबारे व्यापक छलफल गरेका छौं । जल वायु परिवर्तनले प्रलय ल्याउँछ । प्रलयले ठूलो आकारमा नोक्सानी गर्छ जसलाई व्यक्ति वा कम्पनीले जोखिम वहन गर्न सक्दैन । यस्ता ठूला प्रलयहरुले देश विकासमै अवरोध पनि ल्याउँछ । यस प्रकारका प्रलयहरुबाट हुने नोक्सानीको जोखिम वहन र फाइनान्सिङका लागि यो सम्मेलन फलदायी भएको छ ।

त्यस्ता प्रलयहरुको नोक्सानी व्यवस्थापन र फाइनान्सका केहि तरिका छन् । त्यो कुरा बीमा कम्पनी वा नियामक निकायले मात्रै होइन, देशले नै सिक्नुपर्ने देखिएको छ । विभिन्न फाइनान्सिङ प्रडक्टहरुका माध्यमबाट समयमै सम्बोधन गर्न सक्यौं भने भोलिका दिनमा प्रलयहरु आउँदा कसैको मुख ताक्नु पर्दैन । कसैको आस गरेर बस्नुपर्ने अवस्था रहँदैन । हामी आफैं पुननिर्माण गर्न सक्छौं भन्ने कुरा यो सम्मेलनबाट सिकेका छौं । यो नै सबै भन्दा ठूलो सिकाई हो भन्ने मलाई लाग्छ ।

नेपालमा कस्ता खालका प्रलयहरु भोग्नुपर्ने पूर्वानुमान गरियो र त्यसको जोखिम हस्तान्तरण कसरी गर्न सकिने देखियो ?

यो सम्मेलनको उद्घाटनमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि भन्नु भएको थियो कि अब प्राकृतिक र मानव सिर्जित साइबर रिस्क ठूला मुद्दा हुनेछन् । त्यससँगै आतंकवाद पनि अर्काे चुनौती हो तर त्यसलाई साइबर जोखिमले उछिनेको अवस्था छ । आतंकबादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ ।

जल वायु परिवर्तनले भूकम्प, बाढी, पहिलो, अतिवृष्टि, अनावृष्टि, हिमताल बिस्फोटन लगाएका समस्या आउनसक्छ । जसले एकै पटक ठूलो मात्रामा नागरिकहरुलाई नोक्सानी पुर्याउन सक्छ । यो देशको समृद्धिका लागि जल विद्युतको सदुयोग गर्नुपर्ने भनिएको छ । ठूला हिमताल फुट्यो भने तटिय क्षेत्रका जलविद्युत आयोजना सहित अन्य पूर्वाधारमा क्षति पुर्याउन सक्छ । यो सम्मेलनमा जलवायु परिवर्तनको जोखिमले के के गर्न सक्छ र त्यसको जोखिम न्युनिकरणका लागि वित्तीय औजार के के हुन भन्नेबारे छलफल भयो ।

हिजोका दिनसम्म खासै महत्व नपाएको हनुमन्ते खोलाले यसपाली भक्तपुरमा डुबान समस्या ल्यायो जसले ठूलो क्षति गरेको थियो । जलवायु परिवर्तनले व्यापक जोखिम ल्याउँछ र त्यसको समयमै जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने हो ।

आज प्रविधिले टाइफुन आँधीले कति प्रभाव पार्छ ? कति समयमा अर्काे देशमा असर गर्छ भन्ने अनुमान गर्न सकिएको छ । भूकम्प बाहेकका अन्य प्राकृतिक जोखिमहरुको पूर्वानुमान गर्न सकिन्छ । अहिले त्यस्तो पूर्वानुमानहरुको प्रविधिमा पनि बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने देखियो । त्यस्तो पूर्वानुमानको जानकारी दिन सकियो भने ठूलो धनजनको क्षति रोक्न सकिने सम्भावना उजागर भयो । सम्मेलनमा १६ देशका बीमा कम्पनीका प्रतिनिधि सहभागी भए । उनीहरुसँग त्यहाँका शिप र प्रविधिबारे जान्ने अवसर पायौं । सम्बन्ध सञ्जाल विस्तारको अवसर पाइयो । अब त्यसलाई सदुपयोग गर्ने सन्दर्भ आएको छ । त्यहाँ देखिएका अवसरहरुलाई यहाँ पनि अवसरका रुपमा उपयोग गर्ने कुुरा आउँछ ।

विदेशी विज्ञहरुले नेपालका बीमा कम्पनी अवस्था कसरी उजागर गरिदिए ?

नेपालका प्रत्येक बीमा कम्पनीले आ–आफ्नो बीमाको जोखिम व्यवस्थापनको योजना बनाएका हुन्छन् । बीमा उद्योगमा कसैले पनि सम्पूर्ण जोखिम लिँदैन । जोखिम बहन गर्न सक्ने अवस्था नै रहेपनि सबै जोखिम आफैं लिँदैनन् । जति धेरै सम्पत्ति भएपनि सबै जोखिम आफैंले लिदाँ वा सम्पत्ति आफैंसँग राख्दा भोलि भवितव्य पर्दा कम्पनी जोखिममा पर्छ । त्यसैले पुनर्बीमा गरिएको हुन्छ । हामीले नियामक निकायले तोकेको मापदण्ड भित्र परेका पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गरेका हुन्छौं । बीमा कम्पनीलाई देशभित्रको जोखिम मात्रै हुन्छ । पुनर्बीमा कम्पनीलाई त अन्तराष्ट्रिय परिस्थितिको पनि जोखिम हुन्छ । पुनर्बीमा कम्पनीले विश्वभर व्यवसाय गरिरहेका हुन्छन् । आ–आफ्नो व्यवसाय अनुसार आफ्नो कम्पनी र लगानीको सुरक्षाका उपाय अवलम्बन गरिएको हुन्छ ।

हाम्रो देशकै रेटिङ नभएकाले हाम्रा कम्पनीहरुको पनि अन्तराष्ट्रिय रेटिङ गरिएको छैन । विदेशीहरुले हाम्रा कम्पनीहरुको अवस्था जान्न वित्तीय विवरण र कुन कम्पनीमा पुनर्बीमा गरिएको छ भनेर हेर्छन् । त्यसकै आधारमा नेपाली कम्पनीहरु छान्ने गरेका छन् र यसबाट नै हामीप्रति उनीहरुको दृष्टिकोण बन्ने गरेको छ ।

एसियाली क्षेत्रका बीमा कम्पनीहरु बढी जोखिम रहेकाे विषय आयो नि ?

सबै भन्दा पहिले देशको रेटिङ के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । देशको सार्वभौम रेटिङले अर्थ राख्छ । कुनै देशको रेटिङ ए आयो भने त्यो देशको सरकारले लिएका विदेशी ऋणको सावाँ र ब्याज समयमै तिर्छ । जमानी बसेको छ भने समयमै तिर्न सकेन भने कुनै उपकरण उपयोग गरेर भए पनि तिरिदिन्छ भन्ने हो । तर हाम्रो देशको रेटिङ नै भएको छैन । तर पनि देशकै रेटिङ नभएको अवस्थामा कारोबार नै नहुने भन्ने चाँही हुन्न । अब कम्पनीका सवालमा कस्तो कम्पनीमा पुनर्बीमा गरिएको हो त्यसले महत्व राख्छ । त्यसकारण नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनीहरु खोज्ने गरेका छन् ।

बीमा कम्पनीमा एक रुपैंयाँ प्रिमियम उठाउँदा एक सय रुपैंयाँको जोखिम वहन गरेका हुन्छौं । किनकी एकै पटक एक सय रुपैंया नोक्सान हुन्न भन्ने अनुमान गरिएको हुन्छ । तर प्रलय भयो भने कम्पनीले तिर्न सक्दैन र कम्पनीको जायजेथा बेचेर पनि तिर्न सक्दैन् । त्यसकारण नियामक निकायले महाप्रलय लगायतका अवस्थाका लागि छुट्टै पुनर्बीमा सन्धि गर्नु भनेको छ । आफ्नो जायजेथाले नभ्याउने भएपछि महाप्रलयको पुनर्बीमा गर्नुपर्छ भन्ने कुरा सम्मेलनले सिकाएको छ ।

बीमा क्षेत्रमा प्रविधिको सवाल पनि उठेको थियो, त्यसमा केहि ठोस निष्कर्ष निस्कियो ?

३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो ।  त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ ।

प्रविधिको प्रयोग बिना बीमा सेवालाई छिटो छरिटो बनाउन अब असम्भव छ । किनभने मानिसको अपेक्षा बढिरहेको छ । क्षतिको भुक्तानी दिन ३ महिना लगाउने कम्पनीकोमा ग्राहक फर्केर जाँदैनन् । क्षति भएपछि ठाउँको ठाउँमै भुक्तानी दिने वा केहि घण्टामै भुक्तानी दिने प्रक्रिया अघि बढाउनुपर्छ । बीमालाई प्रविधिमैत्री बनाउने प्रक्रिया संसारभर सुरु भैसकेको छ ।

ठाउँको ठाउँमै वा केहि घण्टामै दावी भुक्तानी दिन हामीले पनि निकै प्रयास गरिरहेका छौं । १० वर्ष भन्दा अघिको बीमा क्षेत्र र आजको बीमा क्षेत्रले उपयोग गरिरहेका प्रविधिमा धेरै परिवर्तन आएको छ । तर यथोचित भएको चाँही पक्कै पनि छैन् ।

हामी अथाह बीमा बजार भएका देशहरुको बीचमा छौं । यद्यपी हामी बीमा सेवा निर्यात गर्न त सक्दैनौं तर त्यहाँको प्रविधि भित्र्याएर सस्तो र चाँडो सेवा प्रदान गर्न सक्छौं । बीमा कम्पनीहरुले त्यतातिर सोचिरहेका छन् । ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो । त्यसमा मानविय जनशक्तिको उपयोगले सम्भव थिएन् । त्यसमा अटोमेशन प्रयोग गरिएको थियो । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ ।

अब प्रविधिको उपयोग नगरि बीमा कम्पनीहरु टिक्नै सक्ने अवस्था छैन् । अबका उपभोक्ता प्रविधिमैत्री र तुरुन्तै सर्भिस चाहने खालका छन् । अब प्रणालीले काम गरेन, कर्मचारी बिदामा छ त्यसैले ढिलो भुक्तानी हुने भयो भनेर अब पार पाइन्न ।

बीमा कम्पनीलाई यो व्यवसायमा रहनु छ भने प्रबिधीमा लगानी गर्नुपर्छ । हिजोसम्म बीमा कम्पनीको पूँजी थोरै थियो । कति लगानी प्रविधिमा गर्ने भन्ने कुरा अन्यौलमै थियो । अब त बीमा कम्पनीको पूँजी एक अर्ब अनिवार्य भैसकेको छ । अब प्रविधिमा व्यापक लगानी गर्नुपर्छ । बैंक र बीमा कम्पनीका लागि अब प्रविधि नै ठूलो कुरा हो । हामीले चाहे पनि नचाहे पनि प्रविधि त अनिवार्य भैसक्यो ।

नेपालको अर्थतन्त्रका लागि ३९ वटा कम्पनी संख्यालाई सम्मेलनमा सहभागीहरुले कसरी हेरेको देखियो ?

न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ ।

बीमाको पहुँच बढाउन यो सन्दर्भ महत्वपूर्ण हुन आउँछ । खुला बजार अर्थतन्त्रमा राम्रो सेवा दिने कम्पनी रहने हो बाँकी आफैं पछि पर्दै जानेछन् । मैले छलफल गरेका विदेशी साथीहरुले यो विषयमा खासै कुरा केहि गरेनन् । यो विषय हामीले नै धेरै बुझ्ने सवाल भयो । न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । अझ माइक्रो इन्स्योरेन्स थपिन पनि सक्छन् । यो बजारले निर्धारण गर्ने कुरा हो, समयले आफैं कोर्षमा ल्याउँछ भन्ने मेरो निष्कर्ष हो ।

एआईआरडीसीमा नियामक, रि इन्स्योरेन्स, इन्स्योरेन्स कम्पनीहरु एकै ठाउँमा कसरी अटाए ?

बीमा उद्योगसँग सरोकार राख्ने सबै संस्था एकै ठाउँमा आए भने समस्या समाधान र विकासका लागि सहकार्य गर्न सहज हुन्छ । छुट्टा छुट्टै बसियो भने एउटाको कुरा अर्काेले नबुझ्ने अवस्था आउँछ । यहाँबाट अघि सारिएका निष्कर्षहरुको कार्यान्वयन सहज हुन्छ । यो संस्थाको जुन संरचना छ, त्यसले बीमा क्षेत्रको विकासमै सहजता आउँछ ।

डिजिटाईजेशनका लागि पेपरलेस बनाउनु पर्छ । तर अहिलेसम्म नेपालको बीमामा कागज अनिवार्य गरिएको छ । भोली यसलाई हटाउन र डिजिटाइजेशनका लागि रेगुलेटरको अनुमति चाहिन्छ । डिजिटल पेपर स्वीकार गर्नका लागि कानुन नै सच्याउनु पर्छ ।

त्यसपछि प्रिमियम तिर्नेदेखि दावी भुक्तानी पनि पेपरलेस गर्न सक्छौं । ठूलो जनशक्तिको आवश्यकता नै पर्दैन् । ग्राहकले बीमा गर्ने हो, बीमा कम्पनीले क्षतिपुर्ति दिने हो । त्यसको बीचमा पेपरको रोकावटलाई फुकाउन यस्ता मञ्चहरुले नियामक र कम्पनीलाई छलफल गरेर निष्कर्षमा पुग्न सहजता प्रदान गरेको छ । एउटै मञ्चबाट साझा ज्ञान लिँदा सिंगो उद्योगलाई नै फाइदा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.