२५ लाखकाे बीमा गर्नेले १ कराेड रूपैयाँ पाउँछ-मनोजकुमार भट्टराई

  २०७५ असोज ७ गते ९:०७     विकासन्युज

 

मनोजकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा प्राइम लाइफले मात्रै ३२ प्रतिशत कर्मचारी गुमायो । तर कम्पनीले यहि वर्ष छलाङ मार्यो । २२ प्रतिशतले बीमा व्यवसाय वृद्धि गर्यो । ४ वर्षदेखि हुन नसकेको साधारणसभा सोही वर्ष गर्यो । त्यति मात्र होइन, ‘प्राइम जीवन उपहार’ नामक नयाँ बीमा पोलिसी पनि ल्यायो । यो पोलिसी कार्यान्वनमा आएको पहिलो महिनामा नम्बर वान बन्यो । यी सबै कसरी संभव भए ? प्रस्तुत छ, बीमा र बैकिङ क्षेत्रमा लामो समय काम गरेर उत्कृष्ठ नेतृत्व गर्दै आउनु भएका प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईसँगको विकास वहस ।


तपार्इले पछिल्लाे समय ल्याउनु भएकाे प्राइम लाईफ जीवन उपहार पाेलिसी कस्तो  भर्इरहेकाे छ ?

हामीले प्राइम जीवन उपहार भन्ने नयाँ योजना ल्याएका छौं । आवश्यकता नै आविस्कारको जननी हो भन्ने मान्यताका आधारमा यो योजनाको तयार पारिएको हो । हामीले विवाहित महिला लागि मात्रै भनेर प्राइम नारी जीवन प्रडक्ट ल्याएका थियौं । यस्तो प्रडक्ट प्राइमसँग मात्रै छ । यो प्रडक्टमा प्रत्येक वर्ष २.५ प्रतिशतका दरले १६ वर्षसम्म फिर्ता गर्ने भन्ने थियो । यसले १६ वर्षमा बीमांकको ४० प्रतिशत फिर्ता हुने थियो । बाँकी ६० प्रतिशत बीमा अवधी सकिएपछि फिर्ता गर्ने भन्ने थियो । बीचमै मृत्यु भएमा पूरै जोखिम बहन गर्ने प्रडक्ट थियो ।

यस प्रडक्टको कार्यान्वयन तहमा हामीले विभिन्न अनुभव समाल्यौं । खासगरी हरेक वर्ष २.५ प्रतिशत रकम फिर्ता गर्न केही कठिनाइ भए । थोरै रकम भएकोले बीमितहरु पनि कम संख्यामा लिन आउने एउटा समस्या थियो भने बनेका चेक ठिक समयमा बीमितले कलेक्सन गर्न नसक्दा त्यसको मिति गुज्राने समस्या देखियो । शाखा कार्यलयहरुमा झनै समस्या भयो । हामीले केन्द्रबाट चेक बनाएर शाखामा पठाउने, शाखामा बीमित ठिक समयमा चेक लिन नआउने र म्याद सकिएपछि फेरी चेक केन्द्रीय कार्यालयमा फिर्ता आउने गरेको थियो ।

एकातिर चेक काट्नेलाई भ्याई नभ्याई, अर्कोतिर बीमितले पैसा फिर्ता पनि नपाउने अवस्था आयो । पैसा फिर्ता गर्ने संयन्त्र राम्रो नहुँदा बीमितले पनि समयमा पैसा नपाएको गुनासो गरिरहे । यस्तो अवस्थालाई हेरेर हामीले नारी जीवन बीमा गर्दा बैंक खाता अनिवार्य गर्यौं ।
बीमितलाई सर्भाइबल बेनिफिट दिन थालिएपछि जीवन उपहारको योजना आएको हो । नारीमा २.५ प्रतिशत थियो, यसमा प्रत्येक वर्र्ष ५ प्रतिशत फिर्ता दिने व्यवस्था छ । यस पोलिसी अन्तरगर्त १६ वर्षको बीमा हुन्छ । प्रत्येक वर्ष ५ प्रतिशत फिर्ता पाउँछन । पहिलो वर्षको प्रिमियमको ५ प्रतिशतले दोस्रो वर्षको प्रिमियम तिर्न पुग्छ । खासमा ७ प्रतिशत जति प्रिमियम आवश्यक पर्ने थियो । तर दोस्रो वर्षमा अभिकर्ता कमिसन समेत दिनु नपर्ने, प्रशासनिक खर्च पनि गर्नु परेन्, रसिद काट्नु पनि परेन, यसले करिब १.५ प्रतिशत लागत पनि घट्ने रहेछ । पहिलो वर्षको बीमा शुल्कको बार्षिक रिटर्नसँगै दोश्रो वर्षको प्रिमियम पुग्छ ।

पहिलो पोलिसी १६ वर्षको हुन्छ । सानोमा १६ वर्ष पुगेकाले यो पोलिसी लिन पाउँछ, बढीमा ५४ वर्षको उमेरसम्मकाले खरिद गर्न पाउँछ र ७० वर्षको उमेरमा बीमा परिपक्क हुन्छ । पहिलो पटक १६ वर्षको थियो, दोस्रो १५ वर्षको बीमा हुन्छ । पहिलो बीमा योजना लिएको १६ वर्ष पुगेको दिन दुबै बीमालेख परिपक्क हुन्छ । सोही दिन (दोस्रो) पछिल्लो बीमा लेखको शतप्रतिशत र पहिलो बीमालेखको २५ प्रतिशत रिटर्न आउँछ । र, यसमा थप बोनस पनि आउँछ । यसमा  १२५ प्रतिशत बीमाङ्क फिर्ता गरेर बोनस पनि थप दिन्छौं । एउटा बीमालेख लिँदा १६ वर्षसम्म डबल जोखिम बहन हुन्छ । २०० प्रतिशत जोखिम बहन, डबल बोनस यसमा सुनिश्चित गरेका छौं ।

यो पोलिसीका बारेमा बजारको प्रतिक्रिया कस्तो छ ?

यो पोलिसी २०७५ असार १० गते सार्वजनिक गरेका हौं । साउन १ गतेदेखि बेच्न थालेका थियौं । साउन दोश्रो हप्ता बिजनेश कन्फेरेन्स गरेर शाखाहरुलाई जानकारी दियौं । साउनको १७ गतेदेखि भदौं १६ गतेसम्म मार्केटिङको टोलीलाई भेला गरेर अभिकर्तालाई तालिम दिन भनेको थिएँ । नारायणी पूर्व र पश्चिम गरि दुई केन्द्र बनाएर तालिम दिएको थिएँ । दुई जना मार्केटिङ हेड खटाएर आन्तरिक प्रचार प्रसार गरियो । कम्पनीको ३३ वटै शाखामा तालिम दिईयो । भदौको रिपोर्ट हेर्दा १६ प्रकारका बीमा योजनामध्ये सबै भन्दा बढी यहि योजना बिक्री भएको छ । कुल बिजनेशको २६ प्रतिशत हिस्सा देखिएको छ ।

कुन उमेर समुहले धेरै रुचाएको देखियो ?

ठ्याक्कै कुन उमेर समुहले धेरै रुचाए भनेर हेर्न भ्याएकाे छैन । तर ३४/३५ वर्ष उमेर समूहका लागि प्रति हजार ९२/९३ रुपैंयाँ प्रिमियम पर्छ । मनी ब्याक भन्दा यो १० प्रतिशतले मात्रै बढी प्रिमियम तिरेपछि डबल जोखिम भएको पोलिसी पाइन्छ । २५ लाखको यो बीमा गर्दा उसले पुगनपुग १ करोड रुपैंयाँ पाउँछ । अहिले नै बोनस एकिन गर्न त सकिन्न । बैंकको ब्याजदर, कर्मचारी खर्च, मुद्रास्फीतिका आधारमा बोनस थप घट हुन्छ । तर अहिलेकै बोनसको मात्रा कायम भयो भने २५ लाख रुपैयाँको बीमा गर्दा एक करोड रुपैयाँ पाइन्छ ।

अहिले हाम्रो औषत बोनस प्रतिहजार ३५ देखि ७५ रुपैयाँ छ । यो खालेको प्रडक्टको प्रति हजार ४४ रुपैंयाँ छ । २०७५ सालमा यो प्रडक्टमा ५० रुपैंयाँ पुग्छ । दुई वटा बीमा पोलिसीमा ५०/५० गर्दा १०० रुपैयाँ पुग्छ । यो पोलिसी न्युनतम ५ लाखको छ । एभरेजमा ८ लाख रुपैयाँको पोलिसी धेरै रुचाईएको छ ।

पछिल्लो समय ठूला बीमा पोलिसी धेरै बिक्ने गरेका छन्, तपाईलाई चाँही के लाग्छ ?

म नेपाल लाइफको सीईओ हुँदाको कुरा सम्झँदा अहिलेका पोलिसी भयंकर ठूला हुन् । त्यतिबेला ३ हजार ५०० देखि ४ हजार रुपैयाँ प्रिमियम हुन्थ्यो । ५० हजारको बीमा हुन्थ्यो । आजका दिनमा हामीले ३१÷३२ हजार रुपैंयाँ एभरेज प्रिमियम छ । यो भनेको ५ लाख रुपैयाँको बीमांक हो । अहिले १८ हजार भन्दा कमको एभरेज कसैको पनि छैन । १८ हजारदेखि २२ हजारमा धेरै कम्पनी छन् । २९ देखि ३४ हजारको बीमांकमा केहि कम्पनी छन् । केही कम्पनीमा एभरेज प्रिमियम ४१ हजार रुपैयाँसम्म पनि देखियो । उनीहरुले सिंगल प्रिमियम पोलिसी बढी बेचेका छन् । नयाँ र पुराना कम्पनीले नै पनि बीमांकको ९३ प्रतिशतसम्म प्रिमियम एकै पटक संकलन गर्छन् । सिंगल प्रिमियमलाई हटाउने भने हो २७/२८ हजार रुपैयाँ नै हुनुपर्छ भन्ने लाग्छ ।

प्राइमलाइफले बेच्दै आएका १६ वटा पोलिसीमध्ये गत असार मसान्तसम्म पहिलो पोजिसनमा कुन पोलिसी छ ?

गत बर्षसम्मको तथ्यांक हेर्ने भने प्राइम स्वर्णिम हो, यो केटाकेटीहरुको बीमा पोलिसी हो । यो १० लाख रुपैयाँसम्मको पोलिसी हो । एक्चुरीहरु बालबालिकाहरु केन्द्रित पोलिसी बनाउनै मान्दैनन् । बीमा भनेको त जो व्यक्तिमा परिवार आश्रित छ त्यसको मात्रै बीमा गर्ने हो भन्छन एक्चुरीहरु । भारतीय एक्चुरीहरुले बच्चाको बीमा गराउनेले बीमाबाट पैसा लिनैको लागि बीमा गरेको बच्चा गुमाउने र फेरि अर्काे बच्चा पाउने जोखिम हुन्छ भन्छन् । नेपालमा त्यस्तो छैन । बच्चा नै परिवारको भविष्य हो भन्ने गरेका छौं । हामीले बालबालिकाको आज बीमा गर्दा भोलि फाइदा हुन्छ भनिरहेका छौं । स्वर्णिम जीवन बीमाको प्रिमियममै २५ प्रतिशत हिस्सा छ ।

दोश्रो नम्बरमा जीवन सुरक्षा पोलिसी पर्छ । पोलिसी परिपक्क भएपछि पैसा पाइने, त्यसपछि प्रिमियम नतिरी जोखिम कभर हुने, जहिलेसुकै मृत्यु भएपनि परिवारले बीमांक पाउने पोलिसी हो यो । त्यसपछि प्राइम सरल, धन सागर, सुलभ लगायतका पोलिसी पर्छन् । भदौपछि चाँही जीवन उपहार पहिलो, स्वर्णिम दोश्रो, जीवन सुरक्षा तीन र पेन्सन चाँही चार नम्बरमा पुगेको छ । ८ वर्षअघि ल्याएको पेन्सन पोलिसी खासै बिकेको रहेनछ । अब हामीले अभिकर्तालाई पेन्सन पोलिसी राम्रोसँग बुझाउने प्रयास गरेका छौं ।

कसैले २५ वर्ष अवधिको पेन्सन पोलिसी लिन्छ भने पाँच लाखलाई आधार मान्दा मासिक १ हजार ७३० रुपैंयाँ मासिक तिर्दा उसले २५ वर्षपछि मासिक ४ हजार ५०० रुपैैंयाँ पेन्सन पाउँछ । यो छोटो समयका लागि नभएर लामो समयका लागि गरिने बीमा हो । आज ३० वर्षको मान्छेले ३० वर्षका लागि १ हजार ६०० तिर्दा ५ हजार रुपैयाँ पेन्सन पाउन सक्छ ।

यसमा विकल्प पनि छन् । पेन्सन लिन्न, एक मुष्ठ देउ भन्न पनि मिल्छ । आधा पैसा र आधा पेन्सन पनि लिन सकिन्छ । अहिले यति रकम लिन्छु बाँकी पेन्सन देउ भन्न पनि मिल्छ । ८ वर्ष अघि बनाएको यस्तो राम्रो प्रडक्ट अहिले बल्ल महशुस भयो अब बजारिकरण गर्दैछौं ।

जीवन बीमाको क्षेत्रमा कस्ता मोरल हजार्डको समस्या देखिएका छन ?

गलत किसिमले बीमाको लाभ लिनुलाई मोरल हजार्ड भनिन्छ । सवारी साधनका सवालमा गाडी बनाउनु पर्ने भयो भने दुई गाडीलाई मिलेर ठोक्काउने अनि मिलेरै इन्स्योरेन्स कम्पनीबाट पैसा लिएर मर्मत गर्ने काम गर्छन् । जीवन बीमाका सवालमा रोग लागेको थाहा पाएपछि बीमा गराएर दावी भुक्तानी लिन्छन् । हामीले मेडिकल गराउन जाँदैनौं । १ लाख रुपैंयाँको प्रिमियम तिरेर १५ लाख रुपैयाँ दावी भुक्तानी लिन्छन् ।
वास्तवमा यो कम्पनीलाई ठगेको नभएर अन्य वीमितलाई ठगेको देखिन्छ । भारतमा श्रीमतीको बीमा गराएर कुनै बहानामा मारेर बीमा दावी लिने र फेरि अर्काे बिहे गरेर दाइजो समेत लिने गर्छन् । भारतीय कम्पनीहरुले श्रीमतीको मात्रै बीमा गराउँदैनन्, श्रीमानको पनि बीमासँगै गर्नुपर्छ । महिलाको बीमा गर्दा १ लाख रुपैयाँको भन्दा बढीको बीमा पनि गराउँदैनन् । बालबालिकाको बीमा गराउने हो भने बाबुआमाको पनि बीमा गराउनुपर्छ भन्ने एक्चुरीहरुको सुझाव छ ।

नयाँ जीवन बीमा कम्पनीहरुको आगमनले प्रतिस्पर्धा कति बढेको छ ?

हामीले भोगेको ठूलो जोखिम भनेको उच्च तहका कर्मचारी कम्पनी छाडेर गए । २/३ तह प्रमोशन लिएर कर्मचारीहरु गए । हाम्रो कम्पनीबाट ३५६ जना कर्मचारीमध्ये ९० जनाले जागिर छाडेर गए । ३२ प्रतिशत कर्मचारीले छाडेर गएपछि केहि अप्ठेरो महसुश गरेको थियौं । तर, त्यसले तल्लो तहमा बसेर काम गरेका कर्मचारीहरुले प्रमोशन भएर काम गर्ने अवसर पाए । एक लेभलका कर्मचारीले बढुवा पाए र आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर पाए । हाम्रा मेसेन्जरहरुलाई मेनेजर बनाएर पनि अरु कम्पनीले लगेको देखियो ।

यसरी कर्मचारीले छोड्दा फाइदा चाँही कहाँ कहाँ भयो प्राइम लाइफलाई ?

कम्पनीमा फ्रेस ब्लड आयो । पुराना कर्मचारीले प्रमोशनको अवसर पाए । ६० हजार तिरेर गराएको काम अहिले २० हजार तलब खानेहरुबाट गराउन सकिने अवस्था बनेको छ । काममा प्रभावकारीता पनि देखिएको छ । कर्मचारी व्यवस्थापनमा धेरै तनाब लिनु परेन । २ महिना चाँही मान्छे छान्नै समस्या भएको थियो तर त्यसपछि सबै काम चुस्त दुरुस्तै भयो । ९ महिनामा अघिल्लो वर्षको भन्दा २२ प्रतिशत बिजनेश बढाउन सकियो । यो अवधीमा मैले आफ्नो नेतृत्वको पनि मूल्यांकन गर्ने अवसर पाएँ ।

पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

अहिले १ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो सालको नाफा समेत बाँडेर पुँजी पुर्याउन सकिने सुबिधा बीमा समितिले दिएको छ । २०७४ असारसम्मको नाफाबाटै २६ करोड रुपैयाँ वितरण योग्य नाफा छ । असार मसान्तसम्मको अपरेशन प्रोफिट २२ करोड रुपैयाँ छ । लाइफ फण्ड भ्यालुएसनपछि ८ करोड रुपैयाँ थपिएर नाफा ३० करोड रुपैयाँ पुग्छ । नयाँ र पुरानो गरी ५६ करोड रुपैयाँ हुन्छ । हकप्रद सेयर नबिकेर लिलाम गर्दा आएको प्रिमियम रकम १७ करोड रुपैंयाँ पनि छ । सबै मिलाउँदा ७३ करोड रुपैयाँ पुग्छ, हामीले थप्नुपर्ने जम्मा २२ करोड रुपैयाँ मात्रै हो । पुँजी पुर्याएर पनि ५० करोड रुपैंयाँ बाँकी रहन्छ ।

पुस मसान्तभित्रै साधारण सभा गर्न सकिन्छ ?

हामीले गतवर्ष २ पटक साधारणसभा गरेका थियौं । ४ वर्षसम्म साधारण सभा गर्न नसकेको कम्पनीले सबै भन्दा पहिले साधारण सभा गरेर रेकर्र्ड कायम गरेको थियो । यसपाली पनि त्यस्तै हुन्छ । अडिट सकियो, बीमा समितिबाट सैद्धान्तिक स्वीकृत पनि आईसकको छ । भ्यालुएसन अन्तिम चरणमा पुगेको छ । अर्काे हप्ताभित्र एक्चुरियल भ्यालुएसन सकेर बीमा समितिमा पठाउँछौं । बीमा समितिले पास गरेको भोलिपल्टै बोर्ड बैठकबाट पास गरेर वित्तिय विवरण समितिमै पठाउन सक्छौं । अहिलेसम्मको कार्यप्रगति अनुसार मंसिर मसान्तभित्रै साधारण सभा गरिसक्छौं ।

सेयर मूल्यको विद्यमान अवस्थालाई कस्तो मान्नुहुन्छ ?

कम्पनीको सेयर मूल्य ५४० रुपैयाँका हाराहारीमा छ । यो मूल्यलाई मैले चाँही एक दमै ठिक मानेको छु । लगानीकर्ताका लागि यो उपयुक्त मूल्य हो । हाम्रो प्रति सेयर आम्दानी १२.३० रुपैंयाँको हाराहारीमा छ । यसमा पिई रेसियो ३५/३६ हुन आउँछ । हामीले अध्ययन गर्दा १५/२५ पिई रेसियो हुनुपर्छ भन्ने मान्थ्यौं । यस हिसाबले प्राइम लाइफको सेयर मूल्य ठिकै हो । दोश्रो बजारमा अनावश्यक रुपमा लाभ लिने गरि हुने चलखेलको कुरा वैग्लै हो । ५० करोड रुपैयाँ वितरणयोग्य रकम कोषमा छ, जुन २५ प्रतिशत लाभांश दिने क्षमता राख्छ । आगामी चार पाँच वर्षसम्म राम्रो प्रतिफल दिन सक्ने अवस्थामा कम्पनी स्थापित भैसकेको छ । त्यस हिसाबले चैँ हेर्दा सेयर मूल्य केहि कम हो कि जस्तो देखिन्छ । अन्यथा राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.