३० लाख लगानी भएकाे कम्पनीकाे भ्यालु ५० करोड, ४ हजारले रोजगारी पाएका छन् : जयन्द्र वीरसिंह बस्नेत

  २०७५ असोज ४ गते १७:०१     विकासन्युज

जयन्द्र वीरसिंह बस्नेत, सीइओ, जी फोर्स सेक्युरिटिज कम्पनी

जयन्द्र वीरसिंह बस्नेतले नेपाली सेनाको प्रमुख सेनानीबाट अवकास पाएपछि जी फोर्स ग्रुफ अफ कम्पनीको स्थापना गरे । उनी अहिले सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । जी फोर्स सेक्युरेटी, जी फोर्स रिर्सच एण्ड सर्भिसेस, जी फोर्स टेक्निकल ट्रेनिङ सेन्टर र सहकारी संस्थामा उनको संलग्नता रहेको छ । उनको सेक्युरिटी कम्पनीले मात्रै ४ हजार बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका छन् । राष्ट्रको सुरक्षामा २५ वर्षे अनुभवलाई उनले कम्पनीमार्फत प्रयोग गरिरहेका छन् । सुरक्षाको विषयमा कम्पनीले नयाँ प्रविधिको विकास गरिरहेको छ । नेपालमा सुरक्षा प्रदायक कम्पनीको भुमिका र यसको प्रभावबारे विकास बहसका लागि खेमराज श्रेष्ठले सीईओ बस्नेतसंग गरेको कुराकानी:

तपाइलाई सेक्युरिटी कम्पनी सञ्चालन गर्ने योजना कसरी आयो ?

२५ वर्ष नेपाली सेनामा जागिर खाइयो । देशको राजनीतिक परिस्थिती देखेर चिन्तित अवस्थामा थिएँ । साथीसँग मिलेर सेक्युरिटी कम्पनी खोल्यौं । साथीहरुलाई रातारात धनी बन्ने इच्छा जाग्यो र यस कम्पनीमा उनीहरुले काम गर्न चाहेनन् । किनकी त्यतिबेला माओवादी ट्रेड युनियनको दवदवा रहेको थियो । यसकारण साथीहरुले यसलाई सामना गर्ने आँट पनि गरेनन । तर मैले आँट गरेर यसलाई निरन्तरता दिईरहेको छु ।

कस्ता-कस्ता व्यक्तिले तपाईको कम्पनीमा रोजगारी पाउने गरेका छन ?

हामीले प्राय नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीबाट अवकास र तालिम केन्द्रबाट तालिम लिएका व्यक्तिलाई रोजगारी दिइरहेका छौं । हाम्रो ट्रेनिङ सेन्टरबाट तालिम पास भएपछि पनि हामी रोजगारी दिने छौं ।

हाल कति व्यक्तिलाई रोजगारी दिइरहनु भएको छ ?

कम्पनीको विभिन्न शाखाबाट ४ हजार बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरिरहेका छन् । हामीले जी फोर्स रिर्सच एण्ड सर्भिसबाट ड्राइभर, प्लम्बर, इलेक्ट्रिसियनलाई जागिर प्रदान गरिरहेका छौं । यस शाखाबाट सेक्युरिटी बाहेकका सबै प्राविधिक कामका सेवाहरु प्रदान गरिरहेका छौं । हामी आफैंले ट्रेनिङ दिएर सेक्युरिटीका लागि दक्ष जनशक्तिहरु उत्पादन गरिरहेका छौं ।

कति लगानीबाट कम्पनी स्थापना गर्नुएको थियो । आजको दिनमा जी फोर्सको ब्राण्ड भ्यालु कति पुगेको छ ?

हामीले कम्पनी सुरु गर्दा ३० लाख रुपैंया जति लगानी गरका थियौं । यो पेशामा लगानी भन्दा पनि बढी विश्वासको कुरा हुन्छ । हरेक संस्थाहरुले आफ्नो नाफाको केही प्रतिशत छुट्याएर सुरक्षा गार्ड राखेका हुन्छन् । उनीहरुले आफ्नो अर्बौ मूल्यको सम्पत्ती हाम्रो जिम्मामा छोडेका हुन्छन् । यस्तो अवस्थामा बार्गेनिङ गरेर सेवा फितलो बनाउन चाहादैनौं । संस्थाहरुले गरेको विश्वासको आधारमा हाम्रो कम्पनी दिनदिनै लोकप्रिय हुँदै गैरहेको छ । मोटामोटी हाल हाम्रो कम्पनीको बजार मूल्य ५० करोडको हाराहारीमा पुगेको छ ।

कर्मचारीहरुलाई कस्तो सेवा सुविधाहरु दिइरहनु भएको छ ?

सरकारले बनाएका नियम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गरिरहेका छौं । हामीले सबै कर्मचारीको तलब लगायत आर्थिक सेवा सुविधा बैंकबाटै प्रदान गर्दै आइरहेका छौं । कर्मचारीको सञ्चय कोष, बीमा लगायत सबै सेवा सुविधा प्रदान गरिरहेका छौं । समग्रमा एउटा सरकारी सुरक्षा निकायका कर्मचारीले जस्तो सेवा सुविधा जी फोर्समा छ । कर्मचारीलाई सबै प्रकारको सेवा सुविधा दिएका छौं । अहिले सरकारले उपदान थप गरेको छ, त्यो पनि लागू गर्दै छौं । अहिलेको नियम अनुसार दिनमा १२ घण्टा काम गर्नेले २१ हजार ४०० रुपैयाँ तलब पाउनैपर्छ । त्यो हामीले दिएका छौं । अनुशासनमा कुनै पनि हालतमा सम्झौता गर्दैनौं । चाहे त्यो ट्रेड युनियनले जतिसुकै दबाब देओस । बरु म कम्पनी बन्द गर्न तयार छु । तर अनुशासन, नियम र कानूनमा सम्झौता गर्दिन ।

जी फोर्सले कुन ठाउँमा सेवा विस्तार गरेको छ ?

हामीले अहिले ७५ जिल्ला नै सञ्जाल विकास गरेका छौं । अब प्रदेश अनुसार जाने तयार गरेका छौं । केन्द्रिय कार्यालय काठमाडौमा छ । हाम्रो शाखा हेटौंडा, पोखरा, वीरगञ्ज, बुटवलमा छ ।

सेक्युरिटीको काम जोखिम र बढी समय खट्नु पर्ने हुन्छ । यहाँले कतिको समय दिन भ्याउनु भएको छ ?

यो व्यवसाय चुनौतिपुर्ण छ । यसमा म दिन रात नभनी खटिइरहेको छु । यसमा भन्नु पर्दा २४ सै घण्टा हाई अलर्टमा बस्नुपर्छ । हाम्रो कार्यालय २४ सै घण्टा नै खुल्ने गर्दछ । सानोतिनो केस भैरहँदा केही भएन ठूलो घटनामा म आफैं लागेर समस्या समाधानमा अघि बढ्नुपर्छ । त्यसैले चुनौतिपुर्ण छ ।

जी-फोर्सलाई नेपालमा मात्रै सीमित नगरी बाहिर पनि विस्तार गर्ने योजनामा हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्ने योजनामा छौं । धेरै जसो देशमा सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपालीहरु छन् । मलेसिया, दुबइ, कतार, साउदी अरब प्राय काम गर्ने भनेका नेपाली हुन् । त्यसको प्रयास स्वरुप हामी कतार गयौं । तर खराब व्यक्तिको सल्लाहमा हामी सफल हुन सकेनौं । हामीलाई विदेशी नीति नियमको बारेमा केही जानकारी थिएन । केहि व्यक्तिको सहयोग लिन खोज्दा केही रकम गुमाउन पुगियो । यस अनुभवले मलाई के लाग्छ भने जो नेपालीको हकहितको रक्षाका लागि विभिन्न संघसंस्था खोलेर बसेका छन् त्यस्ता व्यक्तिहरु नै नेपालीहरुलाई ठग्ने गरेका छन् । यस्ता क्रियाकलापले नेपाली कामदारहरुको हित गर्दैन भन्ने मेरो निष्कर्ष छ ।
यो कुरा नछुटाई लेख्नुस्, सागर नेपाल, सरोज पुडासैनी, प्रकाश कार्की लगायत व्यक्तिले मैले कम्पनी खोल्न दिएको पैसा खाएर भागे । यो समुहले मेरो ४ करोड रुपैयाँ लिएर भागेका छन् । मसँग सबै कागजात छन् । ति ठगहरुलाई नेपाली राजनीतिक संरक्षण प्राप्त छ ।

सेक्युरीटी कम्पनीलाई सरकारले के कस्तो सुविधा दिनुपर्छ ?

सरकारले गर्नुपर्ने २/३ कुरा रहेका छन् । सरकारले नीति नियम बनाउँछ तर समयमै कार्यान्वयन गर्दैन । अहिले सरकारले राजपत्रमा मजदुरको न्युनतम तलब १३ हजार ४५० रुपैयाँ तोकेको छ । तर यो निकै ढिला भयो किनभने हाम्रो कम्पनीका वार्षिक योजना पहिले नै निर्माण भैसकेको हुन्छ । बीचमा फेरी परिमार्जन गर्नुपर्ने झन्झट छ । हामीले सेवाग्रीलाई पनि सम्झाउन सक्दैनौं यसले कम्पनीलाई असर गरिरहेको छ ।

हामी सुरक्षा सम्बन्धी काम गरिरहेका छौं । अब श्रम मत्रालयले श्रमिकको कुरा निकाल्दै यसो गर्नु र तेसो गर्नु भनेर कार्यक्रम ल्याउछ । के अब नेपाली सेनालाई पनि श्रम मन्त्रालयमा राख्ने ? आखिर गर्ने त सबैले श्रम नै हो । अनि कर्मचारीहरुले मन्त्रीलाई घुमाएर यता कागजात पुगेन उता कागजात पुगेन भनेर अलझाउने काम गर्छन् । त्यसैले हामी सेक्युरेटी कम्पनीलाई हेर्ने एउटा मात्र निकाय हुनुपर्छ ।

तपाईहरुले सेवाग्राहीलाई दिने सुरक्षाको मोडालिटी कस्तो छ ?

कार्यालयबाटै कर्मचारी कार्यस्थलमा पुगे वा पुगेनन सोको सबै रेकर्ड हामी राख्ने गरेका छौं । हामीले जिम्मा लिएको सुरक्षाको क्षेत्रमा हाम्रो कार्यालयबाट नै अनुगमन गरिरहेका छौं । अहिले जीपीएस ट्रयाकिङ प्रणाली प्रचलनमा आएको छ । सरकारी सवारीहरुमा पनि राख्ने गरिएको छ । तर यो खराब व्यक्तिको हात पर्यो भने त्यो निकै खतरनाका हुनेछ । यो निकै गम्भिर विषय हो । यसमा प्रयोग गर्ने सप्टवेयर हाम्रै आफ्नै हुनुपर्छ । अहिले यातायात व्यवस्था विभागको स्मार्ट लाइसेन्सको सफ्टवेयर कहाँ छ । आज विभागले लाइसेन्स् बनाउने सबै व्यक्तिको तीन पुस्ते विवरण भारतमा पठाइरहेको छ । त्यसैले हाम्रो कम्पनीले आफ्नै सफ्वेयर विकास गर्न लागेका छौं । यसले सुरक्षा प्रविधिमा नयाँ आयाम ल्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.