राजनीतिका कारण देशमा एड्स रोग लागेको छः उपाध्याय

  २०७५ असोज ४ गते ९:०७     विकासन्युज

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । कर्मचारी खराब भन्दै विगतमा राजनीति भयो, कर्मचारीलाई पनि राजनीतिमा होमियो । पुलिसलाई राजनीतिकरण गरियो, राजनीतिलाई एनजिओकरण गरियो, एनजिओलाई राजनीतिक आर्थिक श्रोताधार बनाईयो । राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिमा लागे । दलीय ट्रेड युनियनमार्फत मजदूर वर्ग राजनीतिकृत भए।

पेशागत संगठन( प्राध्यापक, ईन्जिनियर, चिकित्सक, वकिल र पत्रकार) सबै राजनीति गर्दै दलीय प्यानल बनाउदै चुनाव लडे, कोही संगठनमा, कोही सांसद मन्त्री राजनीतिक पदमा । विद्यार्थीकालमा राजनीति गरेका वा पेशाबाट राजनीतिक पक्षपोषण गरेका राजनीतिमा सक्रियहरू अदालतका न्यायाधीशमा हुलिँदै गए। । यी सबका सब राजनीति गर्न थाले, पेशागत नैतिकता र न्युट्रालिटी सखाप हुँँदै गरेर मुलुकमा एड्स रोग लाग्न पुगेको छ, रोग प्रतिरोधक क्षमता सून्य भएको छ ।

जे गरे पनि सन्चो नहुने रोगले गॉजेको छ । यसरी सरकार रन्थनिएर अव्यावहारिक, अपाच्य संस्कति अमैत्री समाज व्यवस्था बिखण्डिकरण गर्ने कडाकडा कानुन पास गर्दैछ र आफ्नै पासोमा आफू र सोझा जनतालाई झनझन् फसाउँदै छ । आज जे छौं यो हिजोको हाम्रा कुकर्मको नतिजा हो, लरोतरो ओखति र शल्यक्रियाले निदान हुन सक्ने अवस्था हैन । मुलुकको सुगर र प्रेशर असन्तुलित हुन पुगेकोले अलि कडा औषधी चलायो भने रोगी नै मर्न सक्छ । रोगीको यो हालत देखेर ‘अत’हरू हौसिएका देखिन्छन्, फट्यांग्राले लात हान्ने ऑट गरेको देखिन्छ ।
पहिले पहिले संस्कृति संस्कार, नैतिकता, लोकलाज, धर्म , पुण्यपाप, कानुनको पालनाले समाज स्थीर र अपराध नियन्त्रण हुँदै गएकोमा अहिले यी पनि ध्वस्त नै छन्।

राजनीति र सरकारबाट जनताको कडी टुटेको छ । जनताले चुनावमा जिताए पनि जित्नेप्रति जनताको विश्वास हराईरहेको छ । सरकार र जनता प्रतिद्वन्दि जस्ता देखिदै आएका छन् । सरकार जन पीडक वर्ग हो, शोषक हुन् भन्ने भावना सर्वसाधारणमा बलवान हुदै गएको छ । नेताको क्रेडिबिलिटी पनि खत्तम छ । सुशासनका निम्ति संबैधानिक अंगहरू सुतेका जस्ता छन्, सायद ती राजनीतिकै छाया हुन्, । त्यहॉ सुधार गर्न सरकारको अधिकार क्षेत्रमैं पर्दैन ।

पुलिस प्रशासन निरीहहरूलाई समातेरै आफ्ना उपलव्धि देखाउनमै रमेका देखिन्छन्, ती त सोसल मिडियामा लेखेको, शेयर गरेको, पार्कमा युगल जोडी प्रेमालाप गर्दा, होटलहोटेल क्लबमा नाच्नेहरूलाई समातेरै ब्लेकमेल गर्दैमा फुर्सत पाएका हुन्नन । समबेदना र मानवता कुन चराको नाम हो, पुलिस र प्रशासनलाई मतलब छैन । कार्य र क्रियाको सुस्पष्ट सम्बन्धको नमुना हाम्रो मुलुक नै हुनसक्छ । कुन चोरले कुन चोरलाई समाउदै सुशासन देला भनेरै जनता दिउसो तारा गनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.