नेपालीकाे क्रय क्षमता बढ्याे, ६ दिनमा १०० कराेड मूल्यकाे गाडी खरिद

  २०७५ भदौ ३१ गते २०:१६     विकासन्युज

नाडा अटाे शाे २०१८ मा प्रदर्शनीमा राखिएकाे विद्युतीय कार हुण्डाई इयोनिक

काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।

६  दिनमा १०० कराेड रूपैयाँ मूल्यका सवारी एकै स्थानबाट खरिद हुनुले नेपालीहरूकाे क्रय क्षमता उच्च रहेकाे संकेत गरेकाे छ । तर यस्ताे क्रय क्षमता थाेरै नेपालीमा भएकाे अर्थविद् डा शंकर शर्मा बताउँछन् । नयाँ सवारी किन्ने भन्दा परिवार सदस्यका लागि अतिरिक्त सवारी किन्ने नेपालीकाे जमात बढेकाे उनले बताए ।

करिब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुर्याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए ।

चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो ।

व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.