साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

  २०७५ भदौ ३१ गते १८:५०     विकासन्युज

काठमाडौ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ ।छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो ।

पुनरवलोकन गरिएको पारिश्रमिकअनुसार साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम १ हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रुपमा वर्गीकरण गरेको छ ।

ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार करीब नेपाली ३० हजार रुपैयाँ पाउनेछन् । यसअघि साउदीमा काम गर्न जाने अदक्ष कामदारको परिश्रमिक साउदी रियाल ८०० नेपाली करीब २२ हजार निर्धारण गरिएको थियो । ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० नेपाली करीब ९ हजार प्राप्त गर्नेछन् । यसअघि खाना भत्ताबापत कामदारले साउदी रियाल २०० नेपाली करीब छ हजार पाउँदै आएका थिए ।

सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ । न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तिमा मासिक साउदी रियाल १ हजार ३०० नेपाली करीब ४० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

मेशन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रिकल हेल्पर, स्टिल पिक्स्चर, टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, एसी मेकानिक, लाउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्स, सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स म्यान र इलेक्ट्रिसियनलगायत अर्धदक्ष कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरिएको छ । उनीहरुले अनुभव र सीपका आधारमा साउदी रियाल १ हजार २०० देखि एक हजार ५०० सम्म पारिश्रमिक पाउनेछन् । यसअघि अर्ध–दक्ष कामदारले साउदी रियाल एक हजार पाउँदै आएका थिए ।

सामान्य तालीम प्राप्त अर्ध–दक्ष कामदारले साउदी रियाल १ हजार २००, दुई वर्षको कार्यानुभव भएको व्यक्तिले १ हजार ३००, चार वर्ष कार्यानुभव भएको व्यक्तिले १ हजार ४०० र पाँच वर्षको कार्यानुभव वा आधारभूत दक्ष तह व्यक्तिले साउदी रियाल १ हजार ५०० पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ ।

तालीमप्राप्त हलुका सवारी चालकको पारिश्रमिक साउदी रियाल १ हजार ३००, दुई वर्ष अनुभव भएको चालकको १ हजार ४००, चार वर्ष अनुभव भएको चालकको १ हजार ५०० र पाँच वर्ष अनुभव भएको हलुका सवारी चालकले साउदी रियाल १ हजार ६०० पारिश्रमिक पाउनेछन् । मालबाहक सवारी चालकले साउदी रियाल १ हजार ५००, दुई वर्ष अनुभव भएकाले १ हजार ८००, चार वर्षको अनुभव भएकाले १ हजार ९०० र पाँच वर्षको अनुभव भएकाले साउदी रियाल २ हजार २०० पाउनेछन् । मालबाहक सवारी चालकलाई प्रत्येक यात्राको यात्रा भत्ता अनिवार्य उपलब्ध गराउनुपर्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.