दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

  २०७५ भदौ ३१ गते १८:०६     विकासन्युज

काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र सरकारबीच भएको छलफलमा ५ गतेदेखि बुकिङ खुल्ने सहमति भएको हो ।

यातायात व्यवसायीले अग्रिम बुकिङ खोल्न सहमति जनाएको विभागका निर्देशक गोकर्ण उपाध्यायले बताए । आफुहरु आफ्नो मागलाई थाती राखेरै जनताको सेवामा लागेको यातायात व्यवसायी महासंघका सचिव सरोज सिटौलाले बताए ।

यसअघि विभागले भदौ २४ बाट बुकिङ खुला गर्ने भनेपनि व्यवसायीहरुसँग सहमति नहुदा बकिङ खुला गर्न सकेको थिएन ।

ई टिकेटिङ लागू हुन सकेन

विभागले टिकट बुकिङलाई व्यवस्थित गर्न ई टिकेटिङको व्यवस्था गर्ने भने पनि आगामी दशैंमा लागू नहुने भएको छ । विभागका अनुसार राजधानीका बसपार्कमा रहेका काउन्टरबाट नै टिकट बुकिङ हुनेछ । राजधानीको विभिन्न १२ स्थानका टिकट काउन्टरबाट टिकट बुकिङ गर्न सकिनेछ । अनलाइन प्रणाली लागू नहुँदा यो वर्ष पनि टिकट लिन घण्टौँ लाइन बस्नु पर्ने अवस्था आउने देखिएको छ ।

प्रत्येक बसपार्कमा प्रहरीको यात्रु सहायता कक्ष

महानगरिय ट्राफिक महाशाखाले यात्रुहरुलाई सेवा दिने उदेश्यले प्रत्येक बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । यात्रुहरुले सहज रुपमा टिकट र यातायात सेवा पाउन् भन्ने उदेश्यका साथ सहायता कक्ष राख्न लागिएको महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए । चाडपर्वको समयमा ट्याक्सी लगायत भाडाका सवारी साधनले मनोमानी गर्ने भएकोले यसको न्युनिकरणको लागि कक्ष स्थापना गरिने लम्सालले बताए ।

लामो दुरी र छोटो दुरीमा चल्ने सवारीलाई दुर्घटना न्युनिकरणका लागि अग्रीम जनचेतना कार्यक्रम गर्ने महाशाखाको तयारी रहेको छ । लम्सालका अनुसार महाशाखाले थप तयारीको बारेमा सरकार विभाग र यातायात व्यवसायीसँग पनि छलफल गर्नेछ ।

विभागमा हालसम्म ३२ लाख २१ हजार ४३ वटा सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २५ लाख ३० हजार मोटरसाइकल, ४८ हजार ४५८ ठूलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेलर १ लाख ८५६ रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.