सरकारलाई माधव नेपालको सुझावः राष्ट्र हित विपरिद कुनै निर्णय नगरोस्

  २०७५ भदौ २४ गते १६:४७     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले सुरक्षा र कूटनीतिजस्ता विषयमा निर्णय लिनुअघि सदन र सरकारका विभिन्न तहमा पर्याप्त छलफल आवश्यक रहेको बताएका छन् । जेष्ठ सदस्यका रुपमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अध्यक्षता गर्दै नेता नेपालले भने, “नेपाल राष्ट्रको सार्वभौमसत्ता र नेपाली जनताको बृहत्तर हितलाई केन्द्रित गरेर निर्णय हुनुपर्छ, नेपाली जनताले आशङ्का गर्ने र राष्ट्रहित विपरीत हुन जाने काम कसैबाट हुनुहुन्न, हामी असंलग्न परराष्ट्र नीतिबाट टाढा जान सक्दैनौं, सार्कलाई समाप्त पार्नेतर्फ जाँदैनौं ।”

नेपालले बिम्स्टेक आवद्ध मुलुकका सेनाबीच हुने भनिएको सैन्य अभ्यास, सार्कको भविष्य, असंलग्न परराष्ट्र नीतिका बारेमा गम्भिर छलफलपछि मात्रै निर्णयमा पुग्न सरकारलाई सुझाव दिएका हुन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताए ।

उनले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित रहँदै आएको उल्लेख गरे । स्वतन्त्र, असंलग्न र शान्तिपूर्ण नीतिका आधारमा नेपाल बिम्स्टेकलगायत सङ्गठनमा सहभागी हुँदैआएको बताउँदै परराष्ट्रमन्त्री ज्ञावलीले सरकारले आफ्नो मुलुकको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्ने स्पष्ट पारे ।

बिम्स्टेक मुलुकको शिखरसम्मेलनका सन्दर्भमा कुनै पनि तहमा संयुक्त सैनिक अभ्याससम्बन्धी विषयमा छलफल र निर्णय नभएको बताउँदै उनले सुरक्षाको विषय उठाउँदा परम्परागत ढङ्गबाट मात्र होइन, विपद् व्यवस्थापन, जलवायु परिवर्तनजस्ता विषयलाई पनि जोडेर हेर्न आवश्यक रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.