गाडी कर्जाको ब्याज ९ प्रतिशतमा झर्यो, कर्जा अवधि १० वर्ष हुँदा किस्ता रकम निकै सस्ताे

  २०७५ भदौ २२ गते १०:११     विकासन्युज

काठमाडौं । नयाँ गाडी किन्न चाहनेहरुको लागि खुशीको खबर छ । बैंकहरुले गाडी कर्जाको व्याज ९ प्रतिशतमा झारेका छन् । कर्जा अवधि ५ वर्षबाट वृद्धि गरी १० वर्ष बनाएका छन् ।

नाडा अटो शो २०१८ को अन्तिम तयारी हुँदै गर्दा बैंकहरुले सवारी कर्जामा आकर्षक व्याज दरमा कर्जा अफर ल्याउने भएका छन् । नाडा अटो शोका संयोजक निराकार श्रेष्ठका अनुसार धेरै बैंकहरुले १० प्रतिशतभन्दा कम व्याजमा अटो लोन प्रवाह गर्ने तयारी गरिरहेको आफूले जानकारी पाएको बताए ।

तीन महिना अघिसम्म सवारी कर्जाको व्याजदर १४ प्रतिशत भन्दा माथि थियो । एकाएक बैंकहरुले गाडी कर्जामा ५ प्रतिशत व्याजदर घटाएका छन् । तर उद्योग र व्यापार क्षेत्रको कर्जामा व्याजदर नघटेको भन्दै व्यवसायीहरुले बैंकर्सको आलोचना गर्दै आएका छन् ।

लगानी योग्य पुँजीको अभाव देखाउँदै बैंकहरुले कर्जा लगानी कम गरेपछि र कर्जाको व्याजदर उच्च बनाएपछि गत वर्ष अटोमोवाईल बजारमा मन्दी आएको थियो । ‘बैंकहरुले सिङ्गल डिजिट व्याजदरमा कर्जा लगानी गर्दैछन् । यस वर्ष अटोलोन वृद्धि हुने र सवारीको बिक्री पनि बढ्ने देखिएको छ’ हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक समेत रहेको श्रेष्ठले भने ।

बैंकर्सहरुका अनुसार असोज मसान्तसम्ममा धेरै बैंकहरुको वेसरेट १० प्रतिशत भन्दा कम हुने देखिएको छ । अहिले नै ९ प्रतिशतभन्दा कम वेसरेट भएका बैंकहरुले बेसरेट कै हाराहारीमा व्याजदर तोकेर गाडी कर्जा प्रवाह गर्न थालेका छन् ।

नाडा अटो शो शुरु हुनु एक साताअघि नै एभरेष्ट बैंकले ९.९९ प्रतिशतमा गाडी कर्जा प्रवाह गर्ने योजना प्रकाशित गरेको छ । एभरेष्ट बैंकको असार मसान्तमा बेसरेट ८.४५ प्रतिशत छ ।

बैंकहरुले व्याजदर मात्र घटाएका छैनन्, सवारी कर्जाको अवधि पनि दोब्बर बनाएका छन् । मेगा बैंक नेपाल लिमिटेडले डाट्सन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने घोषणा गरेको छ । बैंकले यी गाडीका आधिकारिक बिक्रेता पायोनियर मोटर्ससँग सम्झौता नै गरिसकेको छ ।

कर्जा अवधि १० वर्ष भएपछि मासिक १२ हजार ९९९ रुपैयाँ किस्ताबुझाउन सक्ने उपभोक्ताले उल्लेखित ब्राण्डका गाडीहरु किन्न सक्ने भएका छन् । एभेरष्ट बैंकले पनि कर्जा अवधि बढाएर ७ वर्ष बनाएको छ ।

यसअघि बैंकहरुले सवारी साधन खरिद गर्नको लागि ५ वर्ष अवधिका लागि कर्जा दिने गरेको थिए । त्यतिबेला बैंकहरुको सवारीे मूल्यको ९० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराएका थिए ।

राष्ट्र बैंकले गाडी मूल्यको बढीमा ६५ प्रतिशत मात्र कर्जा लगानी गर्न बैंकहरुलाई निर्देशन दिएपछि बैंकहरुले सवारी कर्जा अवधि ५ वर्षबाट बढार १० वर्ष बनाएका हुन् । बैंकहरुको यो नीतिले उपभोक्ता र सवारी साधान विक्रेतालाई राहत पुग्ने छ । तर बैदेशिक व्यापार घाटा कम गर्ने सरकारी प्राथमिकतामा असहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.