होङसी शिवमको क्षमता विस्तारमा ५ नेपाली बैंकको १६ अर्ब लगानी, उद्योगले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने

  २०७५ भदौ १८ गते १९:०३     विकासन्युज

काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

अगुवा बैंकको तर्फबाट एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सोमबार ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगमा एनएमबीको ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ ।

उद्योगले नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति पाएको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङले दिएका छन् ।

बैंकले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो । काम शुरु गरेको १६ महिनामा उद्योग सञ्चालनमा आएको छ ।

 गत वर्षको भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । उद्योग सञ्चालनका लागि आवश्यक ५० मेगावाट मध्ये १२ मेगावाट आफैले उत्पादन गर्ने छ ।

चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ ।

१३ करोड टन उच्च गुणस्तरको आफ्नो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरेको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.