कर घटाउने गृहकार्यमा भरतपुर महानगर, जन्म दर्ता र मृत्यु दर्ता निःशुल्क

  २०७५ भदौ ११ गते १०:२३     विकासन्युज

चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ ।

कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने कतिपय समायोजनको तयारीमा छ । महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने कार्य अघि बढाएको हो । पूँजी, लगानी, कारोवार, स्थानको आधारमा पहिलो पटकका लागि स्वघोषणा गर्न भनिएको हो । आउँदो आर्थिक वर्षबाट कारोबारको आधारमा कर तय हुनेछ । स्वघोषणा गर्दा कम गरेमा भने अर्को वर्ष थप कर तिर्नुपर्ने हुन्छ ।

श्रेणी विभाजन गरेर नगरवासीलाई मर्का नपर्ने गरी कर निर्धारण गरिएको महानगरपालिकाका प्रमुख रेणु दाहालले बताइन। एउटै क्षेत्रमा छ वटासम्म श्रेणी विभाजन गरेर कर निर्धारण गरिएको उनले बताइन । जसका कारण ठूलो कारोवार गर्ने धेरै र थोरै कारोवार गर्नेले कम कर तिरे पुग्नेछ ।

कर निर्धारण वैज्ञानिक र व्यावहारिक भएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनले स्वागत गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले व्यवसायको वर्गीकरण गरेर कर निर्धारण गरेका कारण व्यवसायीले स्वागत गरेको बताए । एउटै प्रकृतिको व्यवसायमा वर्ग निर्धारण गरेर कर निर्धारण गरेकाले आफ्नो कारोवारअनुसारको कर तिर्न व्यवसायी राजी भएका छन् । जसका कारण करको दायरामा नआएका ३५ प्रतिशत हाराहारी व्यवसायी दायरामा आउने अवस्थामा रहेको प्रधानको भनाइ छ ।

कारोवारको आधारमा तिर्ने करमात्रै पूर्ण वैज्ञानिक भए पनि महानगरले व्यवसायीको राय सुझाव ग्रहण गरेका कारण व्यवसाय कर निर्धारण व्यावहारिक बनेको व्यवसायीको भनाइ छ । महानगरले गत आर्थिक वर्षमा ४९ करोड ११ लाख राजश्व सङ्कलन गरेको थियो । चालू आवमा ५६ करोड पु¥याउने लक्ष्य लिएको छ ।

कार्यालयले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्ध बिच्छेदजस्ता व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ । कृषि प्रयोजनमा घर बहाल करमा एक प्रतिशत, आवासमा दुई प्रतिशत र व्यावसायिकमा १० प्रतिशत कर निर्धारण गरिएको छ ।
१५ वडाबाट कर सङ्कलन गर्दै आएकोमा सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्नका लागि एक महिनाभित्रमा महानगरका २९ वडाबाट सङ्कलन गर्ने तयारी गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.