चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना, गत वर्ष १९४ जनाको मृत्यु

  २०७५ भदौ १० गते १३:१६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । “बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,”–उनले भने ।

बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४/७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.