सिन्डिकेटधारी ५० यातायात व्यावसायी निजी कम्पनीको रुपमा दर्ता

  २०७५ भदौ ७ गते १७:०३     विकासन्युज

काठमाडौं । यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् ।

सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना सवारी शाखामा निजी बस तथा मिनीबस पञ्जीकरण र दर्ता हुनसँगै मार्ग माग्न आएको कार्यालयले जनाएको छ ।

अहिलेसम्म झण्डै ५० सार्वजनिक सवारी पञ्जीकरण भएर मार्ग अनुमति लिइसकेको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए । उनले भने, “अरु धेरै वटा दर्ता प्रक्रियामा नै छन् ।”

पहिले यातायात व्यवसायी सङ्घ वा महासङ्घअन्तर्गत सञ्चालित सार्वजनिक सवारीसाधनलाई यातायात कार्यालयमा दर्ता हुन सरकारले आगामी मङ्सिरसम्मको म्याद तोकेको छ । उनले भने, “ठूला यातायात सेवा प्रदायक पनि धमाधम आइरहेका छन् ।” यहाँ दर्ता भएका सबै सवारीसाधनलाई कार्यालयले मार्ग दिइरहेको छ ।

कतिपय सेवा प्रदायक घरेलु तथा साना उद्योग कार्यालय र कति सहकारीमार्फत दर्ता भइरहेको प्रमुख पन्थीले बताए । थोरै मात्रै गाडी भएका घरेलु तथा साना उद्योग कार्यालय र धेरै सवारीसाधन हुने सहकारीका रुपमा दर्ता भएका छन् । साझा जसरी नै सहकारीका रुपमा दर्ता हुने र यात्रुलाई सुविधा दिने यातायात प्रदायक बढ्दै छ ।

अघिल्लो वर्षसम्म अधिकांश सडकका मार्ग व्यवसायी सङ्घको नियन्त्रणमा थियो । आफूले चाहेको मार्गमा गाडी चलाउनु नयाँ यातायात व्यवसायीलाई सम्भव थिएन । व्यवसायी सङ्घले मोटो रकम लिएर मात्रै मार्ग दिने गरेको धेरैको गुनासो थियो । प्रमुख पन्थीले भने, “अहिले व्यवसायीले सरकारलाई तोकिएको राजश्व बुझाएरै रुट पाएका छन् ।”

अहिलेसम्म मार्ग व्यवस्थापनभन्दा पनि सवारीसाधनलाई दर्ता प्रक्रियामा ल्याउने काम भइरहेको प्रमुख पन्थीले बताए ।

अहिलेसम्म व्यवसायीले छानेको मार्ग दिइँदा धेरै जनघनत्व बढी भएका ठाउँका रुट मात्रै छान्ने गरेको पाइएको छ । जनघनत्व कम भएका ठाउँलाई यसले असर गर्ने भन्दै सरकारले कुन मार्गमा कति सवारीसाधन चलाउने भन्ने तय गर्नेछ ।

“केही महिनामा नै कुन रुटमा कति वटासम्म गाडी आवश्यक छ भन्ने टुङ्गाइनेछ ।” व्यवसायीले स्वेच्छाले मार्ग छान्दा धेरैले चक्रपथ नै छान्ने गरेका छन् । चक्रपथ बाहिरका स्थानबाट आउने सवारीसाधनले चक्रपथ पनि घुम्न चाहेको उहाँले बताउनुभयो । धेरै सवारीसाधन एउटै मार्गमा चल्दा एकातिर कुनै रुटमा जाने सवारीसाधन हुँदैन भने कुनै मार्ग धेरै सवारीसाधनका कारण जाम हुन सक्छ ।

पहिले कुन गाडीलाई कुन मार्गमा चल्न दिने वा नदिने व्यवसायी सङ्घले नै तय गर्दै आएका थिए । सङ्घले कुन मार्गमा कति र कुन–कुन सवारीसाधन चल्न दिने निर्णय गर्ने अधिकार सङ्घमा थियो । सङ्घले सबै अधिकार पाउँदा एकातिर सवारीसाधन यात्रुप्रति नभई व्यवसायीप्रति जिम्मेवार थिए । नयाँ व्यवसायीले कुनै रुटमा गाडी चलाउन नपाउने र चलाउनका लागि पनि सङ्घलाई मोटो रकम दिनुपर्ने अवस्था थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.