५० पैसाको बिजुलीले १ किलोमिटर गुड्ने स्कुटर

  २०७५ भदौ ६ गते १२:०२     राजाराम न्यौपाने

काठमाडाैं । ‘मेड इन चाईना आज छ भोली छैन’, भन्ने उखान नेपाली बजारमा चर्चित छ । तर पनि नेपालीको भान्छादेखि अफिसम्म चिनियाँ समानहरुकै बिगबिगी छ । त्यति मात्रै होइन पछिल्लो समय मोटर बजारमा पनि चिनियाँ उत्पादनहरुको प्रभव बढिरहेको छ । संसारभर चिनियाँ

प्रविधीले आफ्नो प्रभाव बढाउँदै लगिरहेका बेला नेपाली बजार पनि त्यसबाट टाढा रहने कुरै भएन् । चिनियाँ उत्पादन कमसल मात्रै छैनन्, न्युन लागतसँगै किफायती पनि छन भन्ने प्रमाण हो विद्युतिय स्कुटर । चीनको प्रसिद्ध मोटर कम्पनी एनआईयुले निर्माण गरेको विद्युतीय स्कुटरले प्रति किलोमिटर ५० पैसा मात्रै इन्धन खपत गर्छ । अर्थात ५० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

चिनीयाँ कम्पनी एनआईयुले उत्पादन गरेको विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटी प्राइभेट लिमिटेडले बजारीकरण गरिरहेको छ । यी स्कुटरमा २ वर्षसम्मको मर्मत खर्च नलाग्ने सुविधा पनि उपलब्ध छ । स्कुटरको महंगो मूल्य, आकाशिदो पेट्रोलको भाउ थेग्न नसक्ने, सर्भिस शुल्कले हैरान भएका स्कुटर चालकको लागि यो खुसीको खबर हुन सक्छ । यो स्कुटरको मोबाइल एप्स पनि छ । जसले बिग्रिएको बेला स्कुटर बनाउन जानकारी पनि दिने छ ।

पहिलो चरणमा २ वटा मोडलका मात्रै विद्युतीय स्कुटर भित्रीएका छन् । एन सिरिजको मूल्य २ लाख ४९ हजार रुपैंयाँ र एम सिरिजको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको इको इन्फिनिटीले जनाएको छ । ‘४० रुपैया बराबरको चार्ज गर्दा ८० किलोमिटर गुडछ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ४ घन्टासम्म लाग्छ ।’, इको इन्फिनीटीका सिनियर मार्केटिङ मेनेजर राकेश प्रधानले भने ।

२ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्रि गरिरहेको छ । पेट्रोलबाट सञ्चाल हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार शुल्क कम हुने भएकाले मूल्य अन्यको भन्दा सस्तो हुने प्रधान बताउँछन् । उनका अनुसार विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले भन्सार शुल्क उठाउने गरेको छ । १ वर्ष परिक्षण गरेर मात्रै ल्याएकाले समस्या नभएको उनले बताए ।

नेपालमा विद्युतीय सवारी

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । त्यसको एक वर्षपछि थप ८ वटा सफा टेम्पो ल्याइयो ।

अहिले उपत्यकामा ७०० विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ ।
भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको बिकल्पका रुपमा इलेक्टोनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.