उपचार गर्न विदेश जानु पर्दैन, नेपालमै सुविधा सम्पन्न अस्पताल छन : डा. राकेश वर्मा

  २०७५ भदौ ६ गते १०:४५     डोमी शेर्पा

पछिल्लो समयमा निजी लगानीमा अस्पताल खुल्ने क्रम बढेको छ । जनतालाई स्वास्थ्य सेवा दिन सञ्चालनमा ल्याइएका निजी अस्पतालले ठुलो भुमिका निर्वाह गरेका छन् । यस्तै निजी लगानीमा भक्तपुरमा स्थापना भएको नागरिक कम्युनिटी अस्पतालले पनि ८ वर्ष पुरा भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा स्वास्थ्य सेवा नागरिकले दिदै आएको छ । समाज प्रतिको आफ्नो दायित्व पुरा गर्न खोलिएको यस अस्पतालको मुख्य उदेश्य नाफा भन्दा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको निर्देशक  डा.राकेश वर्मा बताउँछन्। अस्पतालले दिइरहेको सेवा र भावि योजनाको विषयमा निर्देशक डा बर्मासंग विकास न्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी ।

डा. राकेश वर्मा, निर्देशक, नागरिक कम्युनिटी अस्पताल

कम्युनिटी अस्पताल भनेर कस्तो स्वास्थ्य संस्थालाई भनिन्छ ?

नागरिक कम्युनिटी अस्पताल भन्नाले एउटा क्षेत्रका बिभिन्न बर्गका ब्यक्तीहरुले थोरै थोरै लगानी गरेर खोलिएको संस्था हो। यसको मुख्य उदेश्य नाफा भन्दा एउटा गुणस्तरिय सेवा उपलब्ध गराउने र सकेसम्म नाफा न घाटाको हिसाबले समुदायलाई एउटा स्तरिय सेवा दिनु हो।

कुन उदेश्यको साथ यो अस्पतालको स्थापना गर्नुभएको हो ?

हाम्रो अस्पताल यस भेगमा एउटा उल्लेखनीय सेवा दिने स्वास्थ्य केन्द्र बन्नका लागि स्थापना भएको हो । किनभने सरकारले मात्र सबैलाई स्वास्थ्य सेवा उपलब्द गराउन सक्दैन। अहिले स्वास्थ्य क्षेत्रमा लगभग ५० प्रतिशत भागीदारी निजी अस्पतालको रहेको छ। सरकारले पनि ५० प्रतिशत जनतालाई स्वास्थ्य सेवा उपलब्द गराउँदै आईरहेको छ । त्यस्तै निजी क्षेत्रले पनि त्यतिकै योगदान दिईरहेको छ। एउटा सरल सस्तो र सुलभ हिसाबले एउटा स्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउ भन्ने मुख्य उदेश्यको साथ हाम्रो अस्पतालको स्थापना भएको हो।

कति चिकित्सक र कर्मचारीबाट यो अस्पताल सुरुवात गर्नुभएको थियो ?

कति डाक्टर र कर्मचारीसँग अस्पताल सुरु गरियो ठ्याक्कै यकिनको साथ भन्न सकिदैन। यो अस्पातल १०० बेडको अस्पताल हो। सरकारले  मापदण्ड राखेको अनुसार त्यही हिसाबले स्टाफ नर्सदेखी लिएर ४२ जना चिकित्सक कार्यरत हुनुहुन्छ । बिस्तारै हामीले विशेषज्ञहरुको संख्या पनि थप्दै गईरहेका छौ।। हामीसँग ९ जना मेडिकल अफिसर  हुनुहुन्छ ।  उहाँहरु पुरा समय अस्पतालमै कार्यरत हुनुहुन्छ। एउटा मेडिकल अफिसर इमर्जेन्सीको ब्लकलाई र अर्को आईसियुको ब्लकलाई दिईएको छ। । अरु विशेषज्ञहरु हाम्रो पार्ट टाईम कार्यरत हुनुहुन्छ।

हाल कति जना लगानीकर्ता हुनुहुन्छ ?
हाम्रो लगानीकर्ताहरु करिब करिब ६०० जना हुनुहुन्छ। कसैको बढी लगानी छ भने कसैको थोरै लगानी स्वामित्व छ । तर उदेश्य सबैको एउटै छ। आफ्नै छरछिमेकमा एउटा राम्रो स्तरिय सेवा दिने हाम्रो मुख्य उदेश्य हो। यसमा अब आउने दिनमा अझै लगानीकर्ताहरु आकर्षित हुने देखिन्छ।

अस्पतालले भक्तपुरबासिलाई विशेष छुट दिएको छ ?

भक्तपुरबासिलाई भनेर छुट्टै बिशेष छुट हामीले दिएका छैनौ । तर प्राय जसो असाहय तथा आर्थिक स्थिती कमजोर भएको व्यक्तिहरुलाई हामीले १५ देखि २० प्रतिशतसम्म बिभिन्न सेवामा छुट दिने गरेका छौ । जस्तै, ल्याबको सेवामा, अप्रेसन, बेड चार्ज र कुनै सुबिधामा पुरै शुल्कमा छुट पनि दिने गरेका छौ। यहाँ भक्तपुरको मात्रै नभई बिभिन्न जिल्लाको मानिसहरु पनि उपचारको लागि आउँछन्। उदारणका लागि करिब एक बर्ष पहिला पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अप्रेसन मैले यहाँ गरे । त्यसको भोली पल्टै दाङबाट उहाँको नाम सुनेर अर्को मान्छे त्यही अप्रेसनको लागि यहाँ आउनुभएको थियो।

बाहिरबाट आउने बिरामीहरुले खासखास केही सेवाको लागि यो ठाउँलाई विश्वास गर्नुभएको छ । र, आईरहनु भएको छ। त्यसबाहेक हाम्रो अरु सेवा पनि विश्वाससिलो र स्तरिय छ । हामीले नियमित रुपमा यि सेवाहरु उपलब्ध गराउदै आएका छौँ।

यहाँहरुले के कस्तो सेवा दिदै आईरहनु भएको छ ?

सेवाको बारेमा कुरा गर्नुपर्दा मेडिसिन,सर्जरी, गाईनो, बालरोग, स्किन, डेन्टल, युरोलोजी सेवा दिदै आईरहेका छौ । नयाँ सेवाहरु थप्ने प्रकृयामा पनि छौ। हाम्रो मुख्य आकर्षण अहिले आईसीयुको सेटअप रहेको छ। हाम्रो अपरेसन सेवा २४ सै घण्टा उपल्ब्ध छ। युरोलोजिस्ट सेवामा बिशेष मान्छेले यसलाई पहिचान गरिसकेको छ । विश्वास छ, २४ सै घण्टा एम्बुलेन्स सेवा, फार्मेसी र चमेना गृह पनि रहेको छ। सरकारको मापदण्ड अनुसार १०० वटा बेडको अस्पतालले पुराउनुपर्ने सेवा सबै हाम्रो अस्पतालमा उपलब्ध छ।

यहाँले दिने सेवामा बिरामीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामीलाई बिरामीहरुको प्रतिक्रिया राम्रो छ । यसबाट हामी एकदमै उत्साहित पनि छौ किनभने हाम्रो राम्रोपन र कमी कमजोरीहरुमा बिरामीले नै प्रतिक्रिया दिने हो। हामीले आफुले आफुलाई मुल्याङ्कन गर्ने भन्दा बिरामीले नै मुल्याङ्कन गरेर उहाँहरुको आगन्तुकहरुले हाम्रो बारेमा बुझेर जानुहुन्छ त्यो नै हाम्रो अगाडीको मार्गदर्शन पनि हो। त्यसैबाट हामी प्रभाबित भएर केही कमी कमजोरी छ भने त्यसलाई हामी सुधारदै जाने गर्छौ।

तपाईहरुको सबैभन्दा बढी मन पराईएको सेवामा के पर्छ ?

हाम्रो प्राय सबै सेवा मानिसहरुले मनपराईएको छ । तर बढी मनपराईएको सेवामा हाम्रो युरोलोजी पर्दछ किनभने एउटा भीआईपीको सेवापछि मानिसहरुको यसप्रति विश्वास बढी पाईएको छ। अहिले धेरै बिरामीहरु मेडिसिनमा, अर्थोपेडिकमा र गाईनोअप्सट्रिजमा धेरै छन। सबै विशेषज्ञहरु आ(आफ्नो क्षेत्रमा सक्षम भएकोले उहाँहरुको सेवामा कुनै कमी छैन। हामी नयाँ सेवा नेफ्रोलोजी  थप्ने प्रकृयामा छौ।

युरोलोजी सेवा भनेको के हो ?

युरोलोजी भन्नाले म्रिगौला देखी पिसाबको थैला र मुत्रनली सम्मको जुन सर्जिकल रोगहरु हुन्छन त्यसको उपचार सम्बन्धी विधालाई भनिन्छ। जस्तो किड्नीको नलिको पथरी सम्बन्धी उपचार, किड्नीमा कुनै टिउमर छ, पिसाबको थैलामा टिउमर छ, प्रोस्ट्रेटको ग्ल्यान्डको उपचार, सर्जरीबाट हुने जती म्रिगौलदेखी मुत्रनलि सम्मको कुनै पनि रोग जसको उपचार हामी अपरेसनबाट गर्छौ।

खर्चको आधारमा नागरिक अस्पताल कस्तो रहेक छ ?

हाम्रो अस्पताल खर्चको आधारमा एउटा समाजमा मानिसको जुन न्युन सोचाइ हुन्छ त्यस्तो पनि छैन । यसमा केही पैसा हामी चार्ज गर्छौ। अरुभन्दा हामीहरुको सेवा शुल्क सस्तो होला तर सरकारी अस्पतालको जस्तो शुल्क हाम्रोमा छैन। यसमा सकेसम्म न फाईदा न घाटा जस्तो रहेको छ। किनभने कुनै पनि मेडिकल सेवा र उपकरणहरु उपलब्ध गराउनका लागि धेरै प्रशिक्षण र  उपकरणहरु चाहिन्छ। नेपालमा हाम्रो उपकरणहरु बन्दैनन् र त्यो सबै बाहिरबाट आउँछन्। यही उपकरणहरुलाई हामीले बिचार गरेर मुल्यदर निर्धारण गर्छौ।

डाक्टरी फिल्डमा लाग्नु भएको कती बर्ष भयो ? चिकित्सक बन्ने सपना कसरी आयो ?

म यस क्षेत्रमा लागेको ३८ बर्ष भयो। डाक्टर बन्ने सपना मेरो सानैबाट सुरु भएको हो। म जब ४ कक्षामा पढ्थे त्यो समयमा डाक्टरहरु थिएनन् । त्यो समयमा डाक्टर जस्तो उपचार गर्ने मानिसलाई कम्पाउन्डर भन्थियो। हाम्रो गाउँमा एकदमै चर्चित कम्पाउन्डर थिए। उहाँ जो बिरामी भए पनि आफ्नो झोला लिएर त्यहाँ पुगिहाल्नु हुन्थियो। एकपटक मलाई ज्वोरो आएको थियो। त्यस समयमा ज्वरोको उपचार भनेको धेरै लुगा ओडाई दिन्थिए। पसिना धेरै आएर ज्वरो जान्छ भन्ने मानिसहरुमा भ्रम थियो। तर मलाई २÷४ दिनसम्म रोग निको भएन त्यसैले कम्पाउन्डरलाई बोलाईयो।

मेरो बुवाले उहाँलाई लिन जानुभयो र उहाँको ब्याग बोकेर आदरपुर्वक घरमा ल्याउनुभयो। मलाई अझै पनि याद छ उहाँले स्प्रिटले हात धोएर, सरसफाइ गरेर मलाई सुइ लगाइदिनु भयो र बिस्तारै मलाई सन्चो पनि भयो। त्यसपछी मलाई डाक्टर भएपछी धेरै मान, सम्मान पाईन्छ र म अब सबैलाई चाहिने कुरा पनि हो भन्ने अनुभूति भयो । त्यसपछी मलाई पनि भबिष्यमा पनि डाक्टर हुन पाए रमाइलो हुन्थियो जस्तो लाग्यो र सफल पनि भइयो । मेरो स्कुलदेखी कलेजसम्म अब्बल दर्जाको पढाई रह्यो। त्यसपछि मैले डाक्टरी क्षेत्र नै रोजेर पढें ।

डाक्टर भएर बिरामीको सेवामा लाग्दा कस्तो महसुस हुन्छ तपाईंलाई ?

बिरामीको सेवा गर्न पाउँदा एकदम खुशी लाग्छ तर कहिलेकाँही धेरै बिरामी हेर्दा पनि पिर हुन्छ किनभने बिरामी हुनु राम्रो कुरा होईन। उनीहरुलाई उपचार गरेर पठाउँदा भने मन एकदमै खुशी हुन्छ।

नेपालीहरु अझै पनि स्वास्थ्य सेवाको लागि बाहिर जान्छन, यस बिषयमा तपाई के भन्न चाहानुहुन्छ ?

हामी मान्छौ कि सुरुमा हामीसँग दक्ष जनशक्ति थिएनन् । मानिसहरु उपचारको लागि बाहिर जानु स्वभाविक पनि थियो। छिमेकी मुलुक भारतमा खुला सिमानाले पनि थप समस्या निम्ताएको हो। नेपालको उपचार पद्ती भारतबाट आएको डाक्टरहरुले वीर अस्पातलदेखी लिएर अन्य ठाउँमा सुरु गरेका हुन्।तर अहिलेको अवस्थामा नेपालमा आधुनिक उपचार पद्ती उपलब्ध छन्। जस्तो म मानव अङप्रत्यापरोण अस्पतालमा पनि कार्यरत छु। हाम्रो देशमा प्रत्येक बर्ष ३००० म्रिगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ ।

मानव अङप्रत्यारोपण केन्द्र, टिचिङ अस्पताल र वीर मिलाएर जम्मा ३०० प्रत्यापरोपण मात्र गर्छौ। हामीले गरिरहेको प्रत्यापरोण संसारको कुनै पनि राम्रो केन्द्र दाँज्दा केही फरक पर्दैन तर मानिसहरु सुरुबाटै छिमेकी मुलुक जाने,बाहिर जाने त्यो एउटा प्रवृत्ति जस्तै भईसक्यो। बिस्तारै बिस्तारै मानिसहरु नेपालको स्वास्थ्य सेवाको स्तर अरु भन्दा कम छैन। केवल हामीले रोबट चलाऊन पाएको छैन । उक्त रोबट किन्ने पैसाले हामी त यहाँ गाउँमा सानो तिनो अस्पताल बनाउन सक्छौ र रोजगार को अवसरको साथसाथै स्वास्थ्य सेवा नुपुगेको ठाउँलाई अस्पताल बनाईदिन सके त्यो भन्दा राम्रो केही पनि हुँदैन ।

नेपालमा उपचारको विश्वास दिलाउन के गर्नु पर्ला ?

नेपाली जनतालाई विश्वाश दिलाउन संचारमाध्यमको पनि ठुलो हात रहेको छ । किनभने संचारमाध्यमबाट गएको समाचार धेरै मानिसहरुले थाहा पाउँछन्। पत्रपत्रीका र अन्य सञ्चार क्षेत्रको यसमा ठुलो भूमिका हुन्छ। बाँकी समाजमा बस्ने बिभिन्न बर्गका व्यक्तिले एकअर्कालाई यो ठाउँमा यो सेवा उपलब्द छ भनेर जानकारी गराए मानिसहरुको नेपाली स्वास्थ्य क्षेत्र प्रति विश्वाश बढ्ने थियो। बाहिर र छिमेकी मुलुकमा जाने प्रवृति पहिले भन्दा कम भएको देखिएको छ।

नागरिक अस्पतालको भावी योजना के छन ?

हामीसँग जमिन छ र त्यो जमिनको व्यवस्थापन गरेर सकेसम्म एक दुई बर्ष भित्रै आफ्नै भवनबाट अस्पताल संचालन गर्ने हाम्रो लक्ष्य छ ।

सरकारबाट यहाँले कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?

सरकारको सहयोगको हामीलाई एकदम आवश्यक छ । किनभने सरकारको एउटा अभिभारामा सहभागी भएर काम गर्दैछौ। शिक्षा र स्वास्थ्य सरकारको जिम्मेवारी भनिन्छ । तर जहाँ ५० प्रतिशत स्वास्थ्य सेवा निजी अस्पतालहरुले दिदै आईरहेका छन् । सरकारले उपकरण ल्याउने समयमा लगाउन कर छुट दिनपर्छ। सरकारले कडा नियम बनाएको छ । २०७६ सम्म आफ्नो भवनमा अस्पताल जानै पर्छ नत्र अस्पताल खारेज हुन्छ। काठमाडौं जस्तो शहरमा जग्गा पाउन गाह्रो हुन्छ। सरकारले जमिनहरु लिजमा दिए धेरै राम्रो हुन्थियो। सरकारले सहयोग गरे हामीलाई पनि सेवाको लागि हौसला प्राप्त हुन्थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.