एचआईडीसीएल ५ बर्षमा १५ प्रतिशत लाभांश दिने हैसियतमा पुग्नेछ- छविराज पोखरेल

  २०७५ भदौ ३ गते १३:५५     विकासन्युज

इन्जिनियर छविराज पोखरलले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को कमाण्ड सम्हालेको डेढ वर्ष पुरा भएको छ । उनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आएपछि कम्पनीको सुधारका लागि धेरै काम गरेका छन् । उनले ५ वर्षे व्यवसायिक योजनाका अतिरिक्त ३ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने र यसका लागि ७ खर्ब रुपैयाँ लगानी जुटाउने योजना बनाएका छन् । यस्तै ठुला जलविद्युत आयोजनामा लगानी जुटाउने अवसर एचआईडीसीएलले पाएको छ । हाल ५ प्रतिशत हाराहारीमा लगानीकर्तालाई लाभांश दिइरहेकोमा आगामी ५ वर्षमा ३ गुणा बढाएर १५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएका छन् । प्रस्तुत छ, एचआईडीसीएलको भावी योजनाका विषयमा केन्द्रीत रहेर पोखरेलसंग विकास न्युजले गरेको विकास वहस ।

छविराज पोखरल, प्रमुख कार्यकारी अधिकृत- एचआईडीसीएल

तपाई एआइडीसीएलको सीईओ हुनु भएको डेढ वर्ष पुरा भएको छ । यसबीचमा संस्थालाई नयाँ उचाइमा पुर्याउन यहाँले के नयाँ काम गर्नुभयो ?

जलविद्युत क्षेत्रमा डेढ वर्ष धेरै ठुलो समय हैन । म ३ वटा काममा केन्द्रीत भएको छु । कम्पनीको आगामी दिन कता जाने भन्ने मार्गचित्र तयार पारी ५ वर्षको व्यवसायीक योजना लागु गरेका छु । आउँदो ५ वर्षभित्र ३ हजार ५०० मेगावाट क्षमताका ३१ जलविद्युत आयोजनामा लगानी गर्ने छौं । दोस्रो योजना अन्तर्गत यसको चुक्तापुँजी १० अर्ब रुपैयाँ मात्र थियो । यसको ऋण लगानीको अवस्था निराशाजनक थियो । यसबीचमा साढे २ अर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी गरिसकेका छौं । कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण दिने की नदिने भन्ने कुरा लगानीलाई मापन गरिएको हुन्छ । २ करोड डलर अर्थात २ अर्ब रुपैयाँ ऋण लगानी नभएसम्म हामी विश्व बैंकबाट ऋण लिनका लागि योग्य अवस्थामा थिएनौ । अब ऋण लिन पाउने अवस्थामा पुगेका छौँ । अझ लगानी विस्तारलाई हामीले गति दिएका छौँ ।

र, तेस्रो उपलब्धी भनेको आउँदो ५ वर्षमा ७०० अर्ब रुपैयाँ जलविद्युतमा लगानी गर्ने योजना बनाएका छौं । यसमा सानो अंश स्वदेशी वित्तीय संस्था र ठुलो अंश विदेशी वित्तीय संस्थाबाट ऋण लिने योजना बनाएका छौं । सरकारको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्नेमा यो ठुलो कोशेढुङा भएको छ । यसमा हामी लागिरहेका छौं । थप ऋण ल्याउन कम्पनीले आफ्नो पुँजी पनि वृद्धि गर्नुपर्यो । त्यसका लागि १० अर्ब रुपैयाँबाट बढाएर पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । यी आवश्यक गर्नुपर्ने महत्वपुर्ण काम डेढ वर्षमै पुरा भएका छन् ।

यस्तै साइडमा गर्नुपर्ने अन्य काम पनि भएका छन् । पहिला लगानी गर्दा प्रवद्र्धकको अनुहार हेरेर मात्र निर्णय गर्ने वाध्यकारी अवस्थामा कम्पनी थियो । तर म आएपछि प्रवद्र्धकको अनुहार हैन आयोजनाको अवस्था र वित्तीय स्वास्थ्य कस्तो छ भनेर हेर्न गरिएको छ । लगानीको अवस्था के छ ? विकासको प्यारामिटर के छ ? प्रतिफल कस्तो आउने छ र लगानीकर्ता कस्ता छन् भन्ने सबैकुरा अहिले हेरिने गरिएको छ । यसैका आधारमा लगानी गर्ने इन्भेष्टमेन्ट एप्राइजल टेम्पलेट प्रणाली बनाएर लागु गरिसकेका छौं । जसले आयोजनाको लगानीकर्ता को हो हेर्दैन । आयोजनाको वित्तीय र प्राविधिक संभाव्यता हेरेर मात्र लगानी गर्छौ । रिकभरी, कर्पोेरेट गभर्नेन्स, फाइनान्सियल लिभरेज पोलिसी, लोन डिस्ट्रियवेसन नीति थिएन । यी पनि तयार भएका छन् ।

कम्पनीको पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । सरकारले आफ्नो तर्फबाट ५ अर्ब रुपैयाँ दिइसकेको छ । अन्य संस्थाबाट कहिले प्राप्त हुनेछ ?

पुँजी वृद्धिको प्रक्रियामा गइसकेको छ । सरकारले ५ अर्ब रुपैयाँ थप लगानी गरिसकेको छ । कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट ३ अर्ब रुपैयाँ आउन बाँकी छ । यस्तै बाँकी २ अर्ब रुपैयाँ बराबरको १०० प्रतिशत सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्ने छौँ। वार्षिक साधारणसभाबाट हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेपछि संचय कोष, लगानी कोष र बीमा संस्थानबाट पुँजी थप लगानी हुने छ । त्यसपछि सर्वसाधारणलाई हकप्रद सेयर निष्कासनको बाटो पनि खुल्ने छ ।

हकप्रद सेयर कहिले निष्कासन गर्नुहुन्छ ?

चालु आर्थिक वर्षभित्र सर्वसाधारणलाई २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गरेर पुँजी २० अर्ब रुपैयाँ पुर्याउने छौं ।

कम्पनीको बैंकको ब्याजबाट मात्र नाफा गर्ने दिन कहिले अन्त्य हुन्छ ?

म पेशाले इन्जिनियर हो । पत्रकार साथिहरुलाई मेरो सकरात्मक गुनासो छ । सार्वजनिक खरिद विनियमावलीमा कुनै पनि आयोजना लगानीको सुनिश्चितता गरेर मात्र अघि बढाउनुपर्छ भन्ने उल्लेख छ । जस्तै पुँजीको सुनिश्चितता गरेर मात्र लगानी गर्नेछौं । सम्झौता भएको ऋण एकैपटक आयोजनामा जादैन । भौतिक प्रगति र आवश्यकताका आधारमा मात्र लगानी गर्दै जाने हो ।

यदी प्रवद्र्धकले पैसा माग्दा नदिएर बैंकमा राखेको हो भने तपाईहरुले आरोप लगाउन सक्नु हुन्छ । यसमा हाम्रो दोष हुन्छ । प्रवद्र्धकले कार्यतालिका भेट्टाउन नसकेको अवस्था छ । हामीले छिटो गर भनेर दवाव दिँदै आएका छौं । बेलाबेलामा फिल्डभिजिट गरेर, प्राविधिक टिम गठन गरेर हुन्छ छिटोभन्दा छिटो कर्जा निकासी गर्ने अवस्थामा पुर्याउने तयारीमा छौं । तालिकाअनुसार विकासकर्तालाई भुक्तानी गर्छौ । बाँकी रहेको पैसा बैंकमा राख्ने गरेका छौं । यो सार्वजनिक संस्था हो । निजी कम्पनी भए मैले सबै पैसा लैजाँदा हुन्थ्यो । बैंकमा राखेर ब्याज आम्दानी गरेको पैसा ३ करोड नेपाली कै हो ।

यो पैसामा सबैको बराबर हक लाग्छ । सेयर लगानी गर्नेले अलिकति बढी लाभांश पाउछन् त्यति हो । यो राज्यको कम्पनी भएपछि सबैको हक अधिकार लाग्छ । भएको स्रोतको सदुपयोग गरेर बढीभन्दा बढी प्रतिफल दिने काममा हामी लागेका छौं । यो कम्पनीले नाफा त गर्नुपर्छ, यद्यपी ब्याजबाट नाफा गरेकोमा हामीमा गर्व छैन ।

जलविद्युत आयोजनाका प्रवद्र्धकहरु कम्पनीबाट स्वीकृत भएको कर्जा लिन आलटाल गरिरहेका छन् ?

प्रक्रियाको आधार कर्जा निकासा हुन्छ । आज एउटा आयोजनामा ४ अर्ब रुपैयाँ कर्जा स्वीकृति गर्दा त्यो सबै रकम एकैपटक चाहिदैन । ४ अर्ब खर्च गर्न ५ वर्ष लाग्छ । आयोजना सुरु भएको पहिलो र दोस्रो वर्षमा ऋण निकासा अत्यन्त कम हुन्छ । किनभने लगानीकर्ताले आफनो स्वपुँजी (इक्विटी) लगानी गरिरहेको हुन्छ । त्यसपछि मात्र कर्जा माग हुन्छ । लगानी गरेको क्रसबोर्डर ट्रान्समिसन कम्पनी लिमिटेडबाट हामीले प्रतिफल पाउन थालिसकेका छौं । २ वटा जलविद्युत आयोजना यो आर्थिक वर्षमा सम्पन्न हुदैछन् ।

२१ मेगावाटको हेवाखोला र ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट पनि आम्दानी हुन थाल्नेछ । यस्तै आँखु र कावेली ए बाट पनि अर्को वर्षदेखि आम्दानी हुने संभावना छ । अब हामी बैंकको ब्याजबाट हैन वास्तविक व्यसायबाट आम्दानी गर्न सक्ने अवस्थामा पुग्दै छौ । क्रसब्रोडरमा २५ करोड रुपैयाँ इक्विटी लगानी गरेका थियौं । हालसम्म सो भन्दा बढी रकम फिर्ता भइसकेको छ ।

यो वर्ष लगानीकर्तालाई कति प्रतिफल दिन सक्ने अवस्थामा पुग्नु भएको छ ?

गत वर्ष हामीले ८० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य राखेकोमा त्यो पुरा गरेका छौं । गत आर्थिक वर्षमा ८३ करोड रुपैयाँ खुदनाफा गरेका छौ । नेपाली सेयर बजारमा जनताले बुझेर लगानी गरेको हुदैनन् । राम्रो जानकारी नपाएर लगानी गर्दा सेयर बजार पनि यस्तो अवस्था आएको हो । एचआईडीसीएल लगानीकर्ताले आज सेयर किनेर भोली बेचर नाफा कमाउन स्थापना गरिएको हैन। सयौं वर्षसम्म सञ्चालन हुने भएकाले भविष्यका लागि यो सुनौलो कम्पनी हो ।

जसले आज सेयर किनेर भोली बेच्छ, उसका लागि जलविद्युत लगानी कम्पनीबाट निराश हुनसक्छ । हामीले झुटो बोलेका छैनौ । २०७५ सम्म ४.८ प्रतिशत लगानीकर्तालाई प्रतिफल दिने योजना सार्वजनिक गरिसकेका छौं । निष्कासन गर्दा आब्हनपत्रमा स्पष्ट उल्लेख गरेका थियौँ। लगानीकर्ताले सो डकुमेन्ट हेरेर लगानी गर्नुभयो होला भन्ने हाम्रो बुझाइ रहेको छ । म आउनुभन्दा अघि ४ थियो । अघिल्लो वर्ष ५ प्रतिशत लाभांश दिएका थियौं । यो वर्ष ५ प्रतिशत भन्दा बढी नै लाभांश दिने छौं ।

कम्पनीले अहिलेसम्म कतिवटा आयोजनामा लगानी गरेको छ ?

हालसम्म १ हजार १४२ मेगावाट क्षमताका १९ आयोजनामा लगानी गरेका छौं । हामी एक्लैले लगानी गरेको हैन । बैंकसंगको सहवित्तीयकरणमा लगानी गरेका छौं । एचआईडीसीएलले निजी क्षेत्रसंगको सहकार्यमा राम्रो काम गरिरहेको छ ।

आउँदो ५ वर्षमा ३ हजार ५०० मेगावाट बनाउन ७ खर्ब रुपैयाँ लगानी गर्ने योजना ल्याउनु भएको छ । यहाँले वित्तीय स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

यसमा दुइटा लक्ष्य छन् । पहिलो नेपाली बैंक तथा वित्तीय संस्थासंग सहकार्य गर्नेछौं । १० देखि १५ प्रतिशत हिस्सा स्वदेशी बैंक तथा वित्तीय संस्थाको हुनेछ । बाँकी विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याउने सोच बनाएका छौं । अहिले एसियाली विकास बैंक (एडीबी) संग ५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएका छौं । संभवत यो आर्थिक वर्षमा आउँछ होला । विश्व बैंकसंग पनि छलफलमा छौं । विश्व बैंकले एउटा आयोजनामा ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।

थप सहयोग माग्ने छौं । चिनियाँ, भारत र युरोपियन बैंक तथा वित्तीय संस्थासंग छलफल अघि बढाउने भएका छौं । यो एकैपटक हुने कुरा हैन । जलविद्युत आयोजना बनाएका बहुराष्ट्रिय कम्पनीहरुसंग सहकार्य गर्न खोजेका छौं । समझदारीपत्रमा हस्ताक्षर गर्ने काम सुरु गर्ने छौं । सरकारका ठुला आयोजनामा संयुक्त रुपमा लगानी गर्ने तयारीमा छौं । यो आर्थिक वर्षदेखि सुन्दर परिणाम देख्न सक्नेछौं ।
हालसालै ७६२ मेगावाटको तल्लो अरुण आयोजनाका लागि लगानी जुटाउने जिम्मा एचआईडीसीएलले पाएको छ ।

यो आयोजना बनाउनका लागि लगानी जुटाउन तयारी थालिसकेका छौं । यस्तै सरकारबाट अध्ययन सम्पन्न भएका आयोजना बनाउनका लागि लगानी जुटाउन अनुमति पाएका छौं । राष्ट्रिय विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट अघि बढेका सबै ठुला आयोजनामा लगानी जुटाउने जिम्मा एचआइडीसीएलले पाएको छ । यस्तै राष्ट्रिय प्रसारण कम्पनीमार्फत बन्ने प्रसारणलाइनका लागि लगानी जुटाउने जिम्मा एचआईडीसीएलले पाएको छ । जलविद्युत आयोजना र प्रसारणलाइन बनाउने काम उहाँहरुले गर्नुहुने छ भने वित्तीय व्यवस्थापनको काम हामीले गर्नेछौं । यस विषयमा ३ कम्पनीबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ ।

तल्लो अरुणको क्षमता बढाउने काम भइरहेको छ । सुरुमा ४०० मेगावाट थियो । अहिले क्षमता बढाएर ७६५ मेगावाट भन्ने कुरा आएको छ । यसलाई अन्तिम रुप दिइएको छैन । ६ महिनाभित्र प्रतिवेदन अन्तिम प्रतिवेदन आउने छ । आयोजना बनाउन २ खर्ब २८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ६८ अर्ब रुपैयाँ इक्विटी लगानी हुनेछ । ऊर्जा मन्त्रालयले सहयोग गरेको छ । ऊर्जाले अर्थमा शिफारिश पठाएको छ र अर्थले पनि वित्तीय स्रोत खोजीका लागि पहल सुरु गरेको छ ।

आउँदो ५ वर्षपछि कम्पनी कुन अवस्थामा पुग्ने छ ?

५ वर्षपछि याे कम्पनीले कमसेकम साना आयोजनामा लगानी गर्दैन । ठुला परियोजना जस्तै बहुउद्धेशीय आयोजनामा आफनो लगानी केन्द्रीत गर्नेछ ।

लगानीकर्ताले ५ वर्षमा कति प्रतिफल पाउने छन् ?

लगानीकर्ताले १२ देखि १५ प्रतिशतसम्म प्रतिफल दिन सक्ने अवस्थामा पुग्ने प्रक्षेपण गरेका छौं । हामीले लगानी गरेका आयोजनाले प्रतिवद्धता गरेअनुसार काम गरे भने यो प्रतिफल लक्ष्य प्राप्त हुने छ ।

एचआईडीसीएलले रेमिट्यान्स रकमलाई जलविद्युत विकासमा लगाउन वेग्लै कम्पनी स्थापना गरेको छ । रेमिट हाइड्रोले अहिले के गरिरहेको छ ?

३ वर्ष पहिला लाइसेन्स पाएको आयोजनाको पंहुचमार्ग नै २४ किलोमिटर तल थियो । त्यो आयोजना लिनु उपयुत्त हो की हैन । सरकारले  त्यस्तो आयोजना किन दिएको हो ? ५० किलोमिटर लामो सडक बनाउनु पर्ने छ । पहिला आकर्षक थिएन । अहिले आकर्षक भयो । आयोजनाको विषयमा अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालसंग राम्रो छलफल भयो । सचिव धनबहादुर तामाङ र शान्तराज सुवेदीलाई धन्यवाद दिन चाहान्छु । उहाँहरु सकरात्मक भएर सडक बन्ने भएको छ ।

सो करिडोरमा ७०० मेगावाट बिजुली उत्पादन हुन्छ । यति धेरै आयोजना भएकाले सडक बनाउनु पर्यो भन्दा उहाँहरुले बहुवर्षिय ठेक्का प्रणालीअनुसार बजेट विनियोजन गरिदिनु भएको छ । अर्थले ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो सडक घुन्सा र सिम्बुवालाई मात्र हैन अन्य आयोजनालाई पनि हो । यो वर्ष २ वटा आयोजनाको अध्ययन सम्पन्न गरेर अर्को वर्षदेखि निर्माण सुरु गर्ने तयारीमा छौं । एउटा घुन्सा ७१.५ र सिम्बुवा ८० मेगावाट गरी दुई आयोजनाको जडित क्षमता १५० मेगावाट छ ।

दुई आयोजनालाई लगानी कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

लगानीको व्यवस्था गरेका छौं । ४९ प्रतिशत विदेशमा बस्ने नेपाली दाजुभाई र दिदबैनीको लगानी हुनेछ । बाँकी ५१ प्रतिशत हाम्रो लगानी हुनेछ । एक जापनिज कम्पनी टेप्को इनर्जी लगानी गर्न चासो देखाएको छ । उसले बिजुली खरिदबिक्री नेपाली रुपैयाँमा भए हुन्छ भनेको छ । २६ प्रतिशत स्वामित्व दिएर २५ प्रतिशत आफुले राखे पनि राम्रो हुन्छ । दुबै आयोजना ३ वर्षभित्रमा सक्छौं । प्रतिमेगाावट १६ करोड रुपैयाँ देखिएको छ । लागत घटाउने प्रयास गरिरहेका छौं । परामर्शदाताले काम गरिरहेका छन् ।

रेमिट्यान्सको रकम कसरी ल्याउने तयारी भएको छ ?

सबै पैसा एकैपटक आउदैन । महिना, ३ महिना र वर्षमा दिने योजना हुनेछ । उनीहरुको घर पनि चल्नु पर्यो । सफटवेयर सिस्टम बनाएर जहाँबाट पनि पैसा हाल्न सक्ने व्यवस्था गरिदिने छौं । सेयरमा लगानी नहुन्जेल पार्किङ लटमा सो रकम बस्ने छ । सेयरमा परिणत नहुन्जेल उहाँहरुले ब्याज पाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.