लगानीकर्तालाई साक्षी राखेर धितोपत्र बोर्ड र नेप्सेका हाकिम घोचपेचमा उत्रिए

  २०७५ साउन २५ गते १८:१५     विकासन्युज

काठमाडौं । शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम थियो । १ः ३० बजेट तोकिएको कार्यक्रम ढिलो गरि अर्थात २ बजेपछि मात्रै सुरु भयो । कार्यक्रम सुरु भएपछि मात्रै आईपुगे नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउँद ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, नेप्सेका महाप्रबन्धक साउँद, सिडिएसका कार्यकारी अधिकृत देवप्रकाश गुप्ता पहिलो लाइनमा आसन ग्रहण गरेका थिए । सँगै थिए ५० भन्दा बढि लगानीकर्ता । तीमध्ये बिभिन्न लगानीकर्ता संघका नेताहरु छोटेलाल रौनियार, उत्तम अर्याल, तारा प्रसाद फुल्लेल पनि सहभागी थिए ।

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले स्वागत गरेपछि बोल्ने पालो आयो नेप्सेका महाप्रबन्धक साउँदको । उनले सुरुमै बोर्डको तारिफ गरे । केहि समयभित्रै अनलाईन कारोबार सुरु हुने बताए । घर घरबाट सेयर खरिद बिक्रि गर्न सकिने दावी गरे ।

त्यसपछि उनले तालिमबाट सेयर बजारका लागि राम्रो प्रतिफल आओस भन्ने कामना पनि गरे । बजारमा ‘अप एण्ड डाउन’ हुन्छ भन्दै तालिमले सत्यतथ्य जानकारी दिनेछ भन्ने अपेक्षा पनि व्यक्त गरे । उनले तालिमबाट प्राप्त हुने ज्ञानले बजारमा सत्य तथ्य ज्ञान पाएर पुँजी बजारको दिगो विकासमा टेवा पुग्ने अपेक्षा राखे । उनले घुमाउरो शैलीमा बोर्डको प्रशिक्षणले लगानीकर्तामा झन त्रास आउने त होइन भन्ने संकेत गरेका थिए । बोर्डले आवश्यक समन्वय नगरेको गुनासो पनि साउँदको थियो ।

साउँदले बोलिसकेपछि कार्यक्रम सञ्चालक डा. नवराज अधिकारीले तुरुन्तै प्रति उत्तर दिएः ‘हामीले यो कार्यक्रम बजार सम्बद्ध सबै पक्षसँग समन्वय गरेर तय गरेका छौं, आज पनि नेप्सेको प्रस्तुति समेत रहने भनिएको थियो, पहिलो दिन भएकाले त्यो अलि सम्भव भएन्, बोर्डले नै पुँजी बजार सम्बन्धी विस्तृत कार्यपत्र पेश गरेको छ, आउँदो दिनमा साउँद सरले भने जस्तै पुँजी बजारका सम्वद्ध सबैलाई समेटेर प्रस्तुतिकरण गराउने छौं । साउँद सरले भने झै समन्वय हुनेछ, हामीले सहकार्य गर्ने उदेश्य नै राखेका छौं, यहाँले अहिले नै त्यसरी प्रस्तुत हुनुपर्ने आवश्यकता छैन, हामी सहकार्यमै छौं ।’

लगानीकर्ताका लागि तालिम दिन भनेर आयोजना गरिएको कार्यक्रममा बोर्ड र नेप्सेबिचको सम्बन्धको दरार अझै मेटिएको छैन भन्ने प्रष्ट सन्देश दिएको थियो । बोर्डका अध्यक्ष डा. कार्कीले सेयर सूचिकरणको समस्या केहि दिन भित्रै सम्बोधन हुने आश्वासन दिए । उनले बजारको आकार बढेकाले सूचिकरण शुल्क घटाउन लागेको तर नेप्सेले गुनासो गरे पनि पुनः मूल्यांकन गर्न लागिएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.