२ अर्ब लगानीमा धनगढीमा ३०० शैयाको अस्पताल निर्माण हुने, डेढ वर्षपछि सेवा

  २०७५ साउन २२ गते १५:०४     विकासन्युज

काठमाडौं । २ अर्ब रुपैयाँ निजी लगानीमा कैलालीको धनगढीमा ३०० वेडको एभरेष्ट कलेज अफ मेडिकल साइन्स अस्पताल खुल्ने भएको छ । एभरेष्ट कलेज अफ मेडिकल साइन्स प्राइभेट लिमिटेडले धनगढीको गेटामा नयाँ ठुलो अस्पताल खोल्न लागेको हो । निजी लगानीमा सुदुरपश्चिममा सञ्चालनमा आउन लागेको एभरेष्ट सबैभन्दा ठुलो अस्पताल हुनेछ । अस्पताल खोल्नका लागि हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम भइरहेको छ ।

साइन्टिफिक सेन्टर फर इन्भारोमेन्टल कन्सल्टिङ प्राइभेट लिमिटेडले ईआईएको काम गरिरहेको छ । अस्पतालमा नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजको संयुक्त लगानी रहेको छ ।

सरकारले स्वीकृत दिन साथ अस्पताल निर्माणको काम शुरु गरिने एभरेष्ट कलेज अफ मेडिकल साइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु वस्नेतले बताए । आगामी ३ महिनापछि अस्पतालको निर्माण शुरु गरी २०७७ वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । नाम मेडिकल कलेज भएपनि मेडिकल कलेज सञ्चालनका लागि सरकारबाट आशयपत्र (एलओआई) नपाएको उनले बताए ।

अस्पतालले उच्च, मध्य र विपन्न वर्गलाई लक्षित गर्ने भएको छ । पहिलो चरणमा न्युरो, मुटु, युरोलोजी सम्बन्धित र जनरल सेवा सुरु गरिने वस्नेतले बताए । त्यसपछि विस्तार अन्य रोगेको उपचार सुरु हुने छ । सञ्चालनमा आएको केही वर्षपछि अस्पताल विस्तार गरी ७५० शैयाको बनाउन तयारी भएको छ । अस्पताल सञ्चालन भएको ३ वर्षपछि मात्र मेडिकल कलेज सञ्चालन गर्न पाइने व्यवस्था हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.