क्यान्सर रोगको उपचार गर्न बिदेश जानु पर्दैन : डा. प्रकाशराज न्यौपाने

  २०७५ साउन २२ गते ११:४५     डोमी शेर्पा

नेपालमा वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोग बढ्नुमा बदलिँदो जीवनशैली नै प्रमुख कारण भएको विशेषज्ञ बताउँछन् । क्यान्सरको उपचारमा केही प्रगति भएपनि निर्मूल पार्ने गरी औषधिको विकास भने हुन सकेको छैन् । विश्वमा नै क्यान्सरलाई जटिल प्रकृतिको रोग मानिन्छ । क्यान्सर रोग आफैमा जटिल हुनुका साथै बढी खर्चिलो पनि छ । लामो समयदेखि क्यान्सर रोगको उपचारमा संलग्न बरिष्ठ सर्जन डा. प्रकाशराज न्यौपानेले वीपी कोइराला मेमोरियल अस्पताल अध्यक्षको रुपमा र बीएनबी अस्पतालमा पनि कार्यरत छन्। डा. न्यौपाने यस्तै भक्तपुर क्यान्सर असपतालको निर्देशक समेत भइसकेका छन् । हाल उनी भक्तपुरमा कार्यरत छन् । नेपालमा क्यान्सर रोग बढ्नुको कारण र यसको उपचारका विषयम केन्द्रीत रहेर डा. न्यौपानेसंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी ।

क्यान्सर कस्तो रोग हो ?

क्यान्सर शरीरको कोष वा कोषिका समूहको अस्वाभाविक वृद्धिका कारण निम्तिने रोग हो । हाम्रो शरीरमा हुने बिभिन्न कोषिकाहरु नयाँ बन्ने र मर्ने प्रकृया हुन्छ । जब बिभिन्न कारणहरुले यस प्रकृयामा अवरोध आउँछ, नयाँ बन्ने कोशीकाहरुमा अनियमित वृद्धि हुन्छ। यसरी बृद्धि भएको कोषिका मासुको डल्लो बन्छ र यसले आफ्नो नजिकको रहेको अंगलाई काम गर्न अवरोध गर्छ । त्यतिमात्रै होईन त्यहाँबाट बढेर यो अरु ठाउँमा पनि सर्ने गर्दछ । पेटमा भएको क्यान्सर टाउको, फोक्सो, कालेजो जहाँ पनि जान सक्छ । यसरी कोषिका बृदि हुने र एक ठाउँबाट अर्को ठाउँ सर्ने टिउमरलाई क्यान्सर भनिन्छ । यदि यस्तो हानिकारक कोष या कोषिकालाई समयमै नहटाएमा पुरै शरीरमा क्यान्सरको कोष फैलन्छ र अन्ततः मानिसको ज्यान नै लिन्छ ।

बदलिदो जीवनशैलीले गर्दा नेपालमा पनि वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोगको उपचार अवस्था कस्तो छ ?

विश्वमा हेरेर नेपालमा हेर्ने हो भने क्यान्सरको बिरामीको संख्या नेपालमा कम छ । यो कम हुनुको कारण हामीहरुको केही राम्रो भएर भन्दा पनि हामीहरुको औसत आयु कम भएर हो । बिदेशीको औसत आयु ८० बर्ष छ भने हाम्रो भर्खर ७० बर्ष पुग्न आटेको छ। क्यान्सर प्राय उमेर बढी भएकोलाई हुने गर्छ । त्यसैले उमेर जति बढ्दै जान्छ, क्यान्सर पनि त्यती बढ्दै जाने गर्छ । अझै पनि ग्रामीण क्षेत्रमा २ तिहाइ क्यान्सरका बिरामीहरु अस्पताल आउन पाएका छैनन् ।त्यसमाथि पनि हामीहरुको डाटा कमजोर छ ।

हिजोआज बिरामीहरु क्यान्सर लाग्नु भन्दै पहिले नै परीक्षण गर्न आएको देखिन्छ । करिब ३० बर्ष अगाडिको अवस्था हेर्ने हो भने मानिसहरु अन्तिम समयमा मात्र अस्पतालमा आउने गर्थे । त्यस्तै करिब १० बर्ष अगाडि हेर्ने हो भने बिरामीहरु  दोस्रो, तेस्रो स्टेजमा रोग पुगेपछि आउने गरेका छन् । अहिले आएर मानिसहरु यसप्रति एकदमै सचेत भएको पाईएको छ ।

भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट मुख्य ७ वटा अस्पतालहरुमा क्यान्सरको निदान र उपचार सुविधा छ । जसअन्तर्गत काठमाडौंको वीर, शिक्षण, कान्ति वाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको वीपी कोईराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेज रहेका छन् । अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सर बढी देखिएको जिल्लामा काठमाडौ पहिलो स्थानमा र सुनसरी दोस्रो स्थानमा रहेको छ । फोक्सो, स्तन र पेटको क्यान्सर बढी देखिएको छ ।

क्यान्सर रोग लाग्नुको कारण के हुन ?

क्यान्सर रोग लाग्नुको ८० प्रतिशत मध्यपान, धूमपान र सुर्तीजन्य पदार्थको अधिक प्रयोग र अव्यवस्थित खानापान तथा जीवनशैली हो । अत्यधिक चिल्लो पदार्थ, नुन, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुरा, बासी खानेकुराको प्रयोग पनि क्यान्सरका कारक हुन् । १० प्रतिशतलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ । अत्यधिक घाम, परमाणुको प्रभाव, नियमित उपचारमा प्रयोग हुने रेडियो विकिरणले पनि क्यान्सर बनाउन सक्छ । त्यसैले एक्सरे, सिटी स्क्यान, रेडियोथेरापी, मोमोग्राम आदिको अत्यधिक प्रयोग गर्नुहुँदैन । वातावरण, औद्योगिक प्रदूषण, मिसावटयुक्त खानाको सेवन, विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले मानिसमा क्यान्सर देखिन सक्छ । बाँकी १० प्रतिशत कुनै कारण छैन । जस्तै भर्खर जन्मेको बच्चालाई क्यान्सर हुनुको कुनै कारणनै देखिदैन । किनभने न त उसले जाँड रक्सी खान्छ न त चुरोट नै ।

ग्रामिण र शहरी क्षेत्रमा लाग्ने क्यान्सर रोग लाग्नमा फरक के रहेको छ ?

शहर र गाउँमा हुने क्यान्सरमा केही समानता अनि असमानता पनि छन् । गाउँमा बातावरण सफा हुन्छ तर गाउँघरमा दाउरामा खान पकाउने हुनाले त्यसबाट आउने धुवाले स्वास्थ्यलाई शहरको बाटोको धुलोधुवाँले जत्तिकै असार गर्दछ । चुरोट खाने मानिसहरुको संख्या गाउँमा पनि उत्तिकै पाईन्छ । त्यसैले धुलोधुँवा र चुरोटको कारणले हुने गरेको क्यान्सर शहर र गाउँमा उस्तै उस्तै रहेको छ। गाउँमा सुर्ती खाने मानिसहरुको संख्या बढी हुने कारणले गाउँमा मुखको क्यान्सर हुनेको संख्या बढी देखिएको छ । शहरमा भने फोक्सोको क्यान्सरको संख्या बढी पाईन्छ ।

गाउँघरमा संक्रमणका कारण हुने क्यान्सरको पनि संख्या बढी छ । किनभने गाउँघरमा महिलाहरुले आफ्नो भित्री अंगलाई सफा राख्दैनन, धेरै बच्चा जन्माउँछन् त्यसैल पाठेघरको समस्या ग्रामिण क्षेत्रका महिलामा बढी पाईन्छ । शहरका महिलाहरु बढी मदिरा सेवन गर्ने, व्यायम नगर्ने र धेरै मोटो हुनाले शहरमा स्तन क्यान्सर, प्याँक्रियाज क्यान्सर बढी देखिएको छ ।

कुन बर्ग र उमेर समुहमा बढी क्यान्सर देखिएको छ ?

तथ्याँक अनुसार नेपालको सन्दर्भमा भने क्यान्सर पुरुषलाई भन्दा महिलालाई बढी छ । जबकी विश्वमा हेर्दा पुरुषलाई बढी क्यान्सर लागेको पाईन्छ । १०० जना मानिसमा ५५ जना महिला र ४५ प्रतिशत पुरुषलाई क्यान्सर भएको पाईएको छ। नेपालमा महिलामा बढी क्यान्सर देखिनुको कारण महिलाहरुले धेरै बच्चा पाउने र पाठेघरको सरसफामा कमजोरी देखिएको छ ।
अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार पुरुषमा ५५ देखि ६५ बर्षमा क्यान्सर बढी पाईएको छ । महिलामा ४५ देखि ५५ बर्षमा क्यान्सर बढी पाईएको छ । क्यान्सर बच्चादेखी बुढो सबै उमेर समुहलाई हुने गर्दछ ।

नेपालमा क्यान्सरको उपचार पद्दती कस्तो छ ?

क्यान्सरको उपचार पद्दती अरु पद्दती भन्दा धेरै फरक छ । किनभने यो टाउकोदेखी खुट्टा सबै अंगमा लाग्छ । त्यसैले सबै अस्पतालमा सबै कुराहरु नहुन सक्छ तर मोटामोटी रुपमा बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि सबैकुरा छ । नेपालमा सबै उपचारहरु हुन थालेको छ तर अझै पनि अनुभबको कमी रहेको छ । तर यदी क्यान्सर भईहाल्यो भने त्यसका लागि बिदेश जानुपर्ने स्थिती भने छैन ।

क्यान्सरलाई बेलैमा पत्ता लगाएर उपचार गरे १ तिहाई क्यान्सर निको पार्न सकिन्छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर जस्ता क्यान्सरको उपचार पछि निको हुने ठुलो सम्भावना हुन्छ । बाँकी एक तिहाइ क्यान्सर भने राम्रो ठाउँमा उपचार गरे निको हुन सक्छ । उपचार संम्भब नभएको खण्डमा बिरामीको आयु लम्ब्याउने, दुख नदिन  प्यालिटिभ केयरहरु गर्न सकिन्छ ।

क्यान्सर रोगलाई न्युनिकरण कसरी गर्ने ?

क्यान्सरलाई न्युनिकरण गर्न सबैभन्दा पहिले क्यान्सर लाग्न सक्ने कारक तत्वहरुलाई हटाउन जरुरी छ । यसको लागि जनचेतनाको सबैभन्दा बढी आवश्यक छ । रक्सी, चुरोट खानुहुँदैन, व्ययाम गर्नुपर्छ, भित्री अंगहरुलाई सफाइ राख्नुपर्छ , सागसब्जी खानुपर्छ , रातो मासु कम खानुपर्छ, घाममा कम निस्कने, हरेक बर्ष एकपटक आफ्नो शरीरको पुरा परिक्षण गराउने, ५० बर्ष पुगेका हरेक पुरुषले  क्यान्सरको परिक्षण गर्ने, २०  बर्ष पुगेपछि हरेक महिलाले स्तन क्यान्सर,पाठेघरको क्यान्सरको परिक्षण गर्नुपर्छ भनेर सबैले सचेत हुन जरुरी छ । यसो गर्दा सबैभन्दा पहिला क्यान्सर हुनबाट बच्न सकिन्छ वा क्यान्सरलाई लाग्नु भन्दा अगाडी नै पत्ता लगाउन सकिन्छ ।

यो रोग न्युनीकरण र सस्तो र सहज रुपमा उपचार दिन सरकारले के गर्न जरुरी छ ?

क्यान्सर अस्पताललाई सातै प्रदेशमा खोल्न जरुरी छ । यसको लागि हाम्रो पहल जारी छ । यस बिषयमा हामीले सरकारलाई पनि जानकारी पनि गराईसकेका छौ । यसलाई चाहिने मेसिनहरु र केमोथेरापीमा प्रयोग हुने महंगो औषधीहरु पनि सरकारले सस्तोमा दिनुपर्छ । सरकारले अहिले १ लाख रुपैयाँ बराबरको औषधी दिएको छ । यो एकदमै राम्रो कुरा हो । सकिन्छ भने यसलाई अझै बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.