चिनियाँ विकासको आधार- अनुशासन र निरन्तरता, यसरी भयो सम्भव

२०७५ साउन २० गते ११:२२ विकासन्युज

काठमाडौं। चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ ।  यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता सम्वृद्ध चीनको विकासको मार्गरेखा हो ।

चीनको विकास हेर्दा चीनबारे नेपालमा सुनिने चिनियाँ शासन प्रणाली प्रतिको बुझाइमा व्यापक भिन्नता पाउन सकिन्छ । अधिकांश नेपालीको चीनमा अझै पनि चरम गरिबी छ भन्ने बुझाई छ। चीनको गरीबी नेपालजस्तो अल्पविकशित मुलुकको समस्यासँग तुलना गर्नसकिने खालको गरीबी पक्कै पनि होईन। यो त केवल एक विकसित मुलुकमा रहेका छिटफुट गाउँ तथा समुदायको पछौटेपन मात्र हो ।

चीनका राष्ट्रपति सी जिनपिङले तीसवर्षे लामो कार्ययोजना प्रस्तुत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नयाँ विचार धारा समेत प्रवेश गराउनुुभएको छ । सी नेतृत्वमा आएपछि चीनमा आर्थिक र विदेश नीतिमा आमूल परिवर्तन भएको देख्न सकिन्छ ।

चीनको विकासमा योजनावद्ध कार्यक्रमको निरन्तरता प्रमुख आधार रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय विभागका उप–महानिर्देशक मा सुएसोङले भने,“देङ सियाओ पिङको रक्षात्मक विदेश नीतिलाई आक्रामक वा सक्रिय विदेश नीतिमा परिवर्तन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको भूमिका सशक्त भएको हो ।” राष्ट्रपति सीले ग्रेट पावरको परिभाषालाई बदल्दै र नयाँ अवधारणा अघि सार्दै आफ्ना सुधारवादी अग्रज जियाङ जमिन र हु जिन्ताओले अवलम्बन गरेको विदेश नीतिमा व्यापक फेरबदल ल्याएका छन्।

वर्तमान् राष्ट्रपतिको आगवनसम्ममा यूरोपेली मुलुक लगायतका पश्चिमा शक्तिशाली राष्ट्रहरु आर्थिक रूपमा पहिले भन्दा कमजोर बनेको कारण उनीहरूलाई सीले आफ्नो विदेशी नीतिको केन्द्रमा नराखेको देखिन्छ ।

माले भने, “सामान्यतया विश्वव्यापी प्रचलनमा रहेको परिभाषाले समाजवाद भनेको उत्पादनका साधनमा समाजको नियन्त्रण हुने राजनीतिक व्यवस्था बुझाउँछ । चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिले राज्य केन्द्रित अर्थतन्त्रलाई अँगालेका थिए ।”

विश्वव्यापी रूपमा समाजवादी आन्दोलन कमजोर भइरहेको अवस्थामा चीनले खुलाबजारलाई अवलम्वन गरेको छ । पूँजीवादका निजी स्वामित्वका कुराहरूलाई समावेश गरेर प्रतिस्पर्धी बजारलाई स्थान दिएका कारण चीनले अहिलेको अवस्थामा विश्व अर्थतन्त्रमा बलियो उपस्थिति देखाउन सफल भएको चिनियाँ अर्थविद्हरूको बुझाई छ।

अमेरिकासँग कुटनीतिक तहमा सम्बन्ध राख्दै आएको चीनले राष्ट्रपति सीको सत्तागमनसँगै दुई देशका नेतृत्व वीच प्रत्यक्ष सम्वादको पहल गरेको हो। चीनले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता मार्फत दुई देश बीचको दूरीलाई कम गर्दै आफ्नो विदेश नीतिलाई थप सन्तुलित पारेको पाइन्छ । सीको नेतृत्वमा भएको उन्नाइसौँ महाधिवेशनले चीनले शक्तिशाली राष्ट्रसँगको प्रतिस्पर्धामा सन्तुलित विदेश नीतिका साथ अघि बढ्ने नीतिको अवलम्वन गरेको हो।

सीले प्रतिपादन गरेको नयाँ ग्रेट पावर नीतिअन्तर्गत पारस्परिक विश्वास, शान्ति र सवैको जित भन्नेजस्ता अवधारणा पर्छन् । सीले परम्परावादी पश्चिमा शक्तिकेन्द्रको अवधारणा परिवर्तन गर्दै अब नयाँ उदीयमान शक्ति राष्ट्रको संगठन ब्रिक्स ९ब्राजिल, इन्डिया, रूस, दक्षिण अफ्रिका, चीन० लाई केन्द्रमा राख्ने प्रयास गरेको छ। विश्व बजारमा अमेरिकी डलरको एकाधिकारलाई तोड्न र एसियाकेन्द्रित अर्थतन्त्र विकासको बाटो सीले लिएको आर्थिक कुटनीतिको सबल पक्ष देखिन्छ।

राष्ट्रपति सीले ‘वन रोड वन वेल्ट’ नीतिअन्तर्गत चीनले एसिया, युरोप र अफ्रिकालाई जल र जमिनको बाटो विश्वमा आफ्नो प्रभाव जोड्ने योजना ल्याएको छ।

मध्य एसिया, युरोप र अफ्रिकालाई जोड्न सडकको पूर्वाधार र जलमार्ग निर्माण गर्ने हेतुले चीनले वन बेल्ट वन रोडको काम सुरु गरिसकेको छ । यसले चीनको सम्वृद्धिको सुनिश्चितता गर्ने विश्वास उप महानिर्देशक माको रहेको छ ।

यसबाट विश्वको आर्थिक, राजनीतिक र सामरिक शक्तिको केन्द्रलाई यूरोप र अमेरिकाको एकाधिकारलाई एसिया र मुख्यत चीनमा स्थापित हुने देखिन्छ। वन रोड वन वेल्टको सफलताले चीनलाई विश्व बजारमा सडक सञ्जालमार्फत जोड्नुको साथै त्यसैले अबको विश्वको आर्थिक केन्द्र चीन बन्ने सम्भावनालाई कसैले नकार्न नसक्ने देखिन्छ ।

जियाङसी प्रान्तका चिनिया कम्युनिष्ठ पार्टी स्थायी समिति सदस्य शी सिआओलिनको विचारमा चीन सरकारले चिनियाँ जनतालाई गरिबीबाट माथि उठाउन गठन गरेका सहकारी समूह, पर्यटन विकास, कृषि उत्पादन, आधुनिक प्रविधिको विकासजस्ता कुराहरू आर्थिक सम्वृद्धिका लागि महत्वपूर्ण बिषय हुन् ।

कुइचो प्रान्तका स्थानीय चौचाचय गाउ कमिटिका सचिव छन्सिईले भने , “चिनियाँ नेता माओत्सेतुङको सास्कृतिक क्रान्तिपूर्वको चीन र देन सिआओ पिङ हुँदै वर्तमान् राष्ट्रपति सी चिन फिङको नेतृत्वमा चीनमा निकै विकास भइसकेको छ । चिनियाँ नागरिकले विकासका लागि सरकारले कोरेका योजनाका खाकालाई व्यवहारिकतामा ल्याउन चिनियाँ नमूनाको समाजवादी प्रणालीको सहायता लिएका छन् ।”

छिन्सिइको अनुसार, सन् २०१७ को अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कांग्रेसको बेइजिङमा सम्पन्न सम्मेलन अनुसार चीन नयाँ युगमा प्रवेश गरेको र सन् २०२१ सम्ममा चिनियाँ भूमिबाट पूर्णरूपमा गरिबी निवारण गर्ने निर्णय उक्त सम्मेलनले लिएको हो। सम्मेलनले सन् २०४९ सम्ममा चीनले आफ्नो संस्कृति र सभ्यताको पुनर्जागरण गर्दै आर्थिक, सामाजिक र सामरिक क्षेत्रमा आफ्नो पूर्ण वर्चश्व राख्ने संकल्पसमेत गरेको थियो ।

चीनको राजनीतिमा कुनै अनपेक्षित परिवर्तन नभएमा चीनको यो महत्वाकाँक्षी योजनाले विश्वको नेतृत्वलाई क्रमशः यूरोप तथा अमेरिकाबाट चीनतर्फ फर्काउने सम्भावना वढ्दो छ । यसका लागि चीनले आफ्ना गतिविधिलाई आर्थिक तथा सामाजिक परिवर्तन बाहेक आधुनिक प्रविधिको विकाशमा गरेका नयाँ नयाँ आविष्कारले पनि चीनको सम्वृद्धिको बाटोमा विशेष योगदान गरिरहेको छ ।

चिनियाँ कम्यूनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङले अघि सारेको राज्य केन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा बनाएको र यसलाई समय सान्दर्भिक बनाउन देङ सिआओ पिङ, जियाङ जमिन, हु जिन्ताओ हुँदै राष्ट्रपति सीले योगदान गरेको , छिन्सिईले बताए । उनको अनुभवमा चिनियाँ कम्यूनिष्ट पार्टीको नेता बन्नु सानो योगदानले सम्भव छैन । आफूले परिषद् सदस्यका लागि आधा दर्जनभन्दा धेरै पटकको मेहनतपछि सम्भव भएको उनको भनाई छ ।

आफ्नो भविष्यलाई लिएर चीनले पञ्चशीलमा आधारित सहअस्तित्व, पारस्परिक सहयोग र अहस्तक्षेपकारी नीति अवलम्बन गरेर सतर्कतापूर्व अगाडि बढेको छ र चीन कसैसँग भिडन्तको पक्षमा पनि देखिएको छैन।

सामूहिक हितको पक्षमा रहेको चिनियाँ ड्रिमका कारण चीन विश्वको आकर्षण बनेको छ । वातावरण संरक्षणमार्फत ग्रिनहाउस ग्यासको प्रभावलाई कम पार्ने चीनको प्रयास प्रशंसनीय छ । वातावरणसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयन गर्दै चीनले हाल उत्सर्जन गर्दै आएको कार्बनको मात्रालाई सन् २०२० सम्ममा ४० देखि ४५ प्रतिशत कटौति गर्ने प्रतिवद्धताले विश्वको चीनलाई हेर्ने धारणामा परिवर्तन आएको पाइन्छ । प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई राष्ट्रपति सी ले महत्वका साथ उठाएको हामी देख्न सक्छौँ ।

अहिलेको चीनको गुरुमन्त्र भनेको सबैसँग सन्तुलित सम्बन्ध कायम गरेर आर्थिक विकासमा अग्रसर बन्ने रहेको पाइन्छ । चीनको यो सोचलाई व्यवहारमा उतार्न अझैपनि कतिपय जटिलता भने रहेको छ।

सर्वप्रथम त चीनको खुलाबजार नीतिका कारण यहाँका धनी र गरिब नागरिक बीचको दूरी बढेको पाउन सकिन्छ । जसले समाजवादी नीतिलाई चुनौति दिनसक्छ । अर्को शहर र गाउँबीचको जीवनलाई समान बनाउन चिनियाँ भूगोलका कारण पक्कै पनि सहजता हुने छैन ।

अर्को पक्ष भनेको चीनको सम्वृद्धि यहाँको राजनीतिक तथा सामाजिक अनुशासनका कारण सम्भव भएको छ । यसमा चिनियाँ कम्यूनिष्ट पार्टी र सरकारको भूमिका महत्वपूर्ण रहेको छ । यद्यपि कडा अनुशासनका कारण दविएर रहेका भावनाहरू एकिकृत भएर विद्रोहमा परिणत हुने खतरा पनि चीनका लागि खतरनाक चुनौति हुनसक्छ । यसप्रति चीन सचेत भने रहेको देख्न सकिन्छ ।

चीनलाई कमजोर पार्न विश्वका अन्य मुलुकबाट खेलिने भूमिका पनि राष्ट्रपति सी र चीनको सपना पूरा गर्ने क्रममा महङ्गो सावित हुनसक्छन् । तर चीन सम्वृद्धितर्फको अगाडिको यात्रामा आइपर्ने समस्यालाई सावधानीपूर्वक पार लगाउन सधैँ उद्दत रहेको छ ।

चीनको वातावरण संरक्षण, पर्यटन विकास, गरीबी निवारण, एकिकृत वस्ती निर्माण, सडक तथा हवाई रुटको विकास, आधुनिक कृषि प्रणाली नेपाल र नेपालीले पनि अनुकरण गर्न लायक कुरा हुन् । यसका लागि नेपालमा राजनीतिक दलको विकासका काममा रहने इच्छा शक्तिले महत्वपूर्ण भूमिका खेल्छ।

चीनको अनुशासन, कामप्रतिको लगनशीलता र कार्यक्रमको निरन्तरताबाट नेपालले आफ्नो आर्थिक विकासका लागि पाठ सिक्न सक्छ । यसका लागि निजी क्षेत्र, सहकारी, तथा सरकारी निकायबीच समन्वय हुनु आवश्यक छ। सरकारले कार्यक्रम बनाउने मात्र नभै कार्यन्वयन गराउन आफू अन्तर्गतका निकायलाई निर्देशन दिनुको साथै कार्यक्रम समयमा सम्पन्न भए नभएको अनुगमनलाई प्रभावकारी बनाउनुसमेत पर्दछ । सम्वृद्ध समाजको सपना बोकेर लाग्ने कुनै पनि नेतृत्वलाई नागरिकहरूले विना आग्र्ह प्रोत्साहन गर्नेछन् र देशमा राजनीतिक स्थायित्वको प्रत्याभूत हुनेछ । रासस