अब घरबाटै वायुसेवा निगमको टिकट किन्न सकिने

  २०७५ साउन १४ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सिइअाे रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो ।

नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने ‘अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्ससँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।’

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्सको टिकट खरिद गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.