२०७५ साउन १४ गते १८:१६ विकासन्युज
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल) ले हकप्रद सेयर निष्कासन प्रस्तावको सूचना ढिलो प्रकाशित गरी बजारमा चलखेल गरेको भन्दै नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले सोमबार स्पष्टिकरण सोधेको छ ।
नेप्सेले गत शुक्रबार सञ्चालक समितिले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेर सोमबारमात्र सूचना पठाएर बजारमा चलखेल गरेको आशंकामा एचआईडीसीएलसंग स्पष्टिकरण सोधेको हो । हकप्रदको निर्णय गर्नु अगावै सूचना बाहिरिदा दोस्रो बजारमा भित्री कारोबार (इन्साईडर ट्रेडिङ्ग) गर्न मद्धत पुर्याएको आरोप नेप्सेको छ ।
सुचिकरण शाखाले यस विषयमा अध्ययन गरिरहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । अध्ययनपछि मात्र भित्री कारोबार भए वा नभएको थाहा पाइने उनको भनाई छ । “स्पष्टिकरण सोध्ने कुरा भएको थियो । पठाएकी पठाएन बुझन बाँकी छ”उनले भने ।
साउन ७ गतेदेखि नै कम्पनीको कारोबार र सेयर मूल्य दुबै निरन्तर बढ्दै आएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४ रुपैयाँबाट बढेर १७६ रुपैयाँसम्म पुगेको छ । चित्तबुझदो जवाफ नआए नेप्सेले कम्पनीको कारोबार रोक्का समेत गर्न सक्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.