डिसहोम मिडियाको आइपीओ प्रिमियम मूल्यमा निष्काशन हुन्छ- सुदीप आचार्य

  २०७५ साउन १३ गते १३:३८     विकासन्युज

डिसहोम मिडिया नेटवर्क लिमिटेडले सिम्पल टिभी नेटवर्क एक्वाएर गर्दैछ । डिसहोमले साउनदेखि नै सिम टिभी व्यवस्थापन लिईसकेको छ । प्राइभेट कम्पनीको रुपमा रहेको डिसहोम मिडिया नेटवर्क एक वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसै आर्थिक वर्षमा कम्पनीले सर्वसाधारणको लागि सेयर पनि बिक्री गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग गरिएको विकास वहस यस अंकमा ।

सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिसहोम मिडिया नेटवर्क लिमिटेड

डिसहोमले किन सिम टिभी लिदैछ ?

हाल हामीले सिम टिभीको व्यवस्थापन मात्र लिएका छौं । उक्त कम्पनी एक्वाएर गर्ने उदेश्यसहित हामीले व्यवस्थापन लिएका छौं । सिम टिभी अप्ठ्यारो अवस्थामा रहेको छ । यसमा विदेशी लगानी ८० प्रतिशत छ । स्वदेशी लगानी २० प्रतिशत मात्र हो । सिम टिभीको विदेशी लगानीकर्तासँग डिस होमको पनि ४७ प्रतिशत सेयर छ । नेपाली साझेदार पनि डिसहोमको प्रवद्र्धक भएकोले एक्वाएर गर्ने सोच आएको हो । यो प्रक्रिया पुरा हुन धेरै समय लाग्छ ।

सिम टिभीले दिने सेवा र डिस होमले दिने सेवामा के फरक छ ?

दिने सेवा र प्लेटफर्म एउटै हो । तर डिसहोमले आकाशबाट स्याटलाईट मार्फत सेवा दिन्छ । सिम टिभीको सेवा जमिनबाट केबुल मार्फत प्रवाह हुन्छ । त्यसैले डिस होम खोज्ने ग्राहक र सिम टिभी खोज्ने ग्राहक फरक हुन्छन् ।

सिम टिभी र डिसहोम मध्ये कुन राम्रो सेवा हो ?

कुन राम्रो, कुन नराम्रो भन्ने होइन । पहिलादेखि केबुलबाट टिभी हेर्दै आएका ग्राहकहरुको लागि सिम टिभी रोजाईमा पर्छ । बजारमा यस्तो ग्राहकको हिस्सा अहिले पनि ७० प्रतिशतभन्दा बढी छन् । नयाँ र स्मार्ट सेवाको खोजी गर्नेहरुको रोजाईमा डिसहोम पर्छ । अहिले पनि डिस होमको बजार २५ देखि ३० प्रतिशत मात्र छ । यो अवस्थामा केबुल टिभी प्रयोग गर्ने उपभोक्तालाई लक्षित गरी हामीले सिमटिभी अघि बढाउन खोजेका हौं । पहुँच र विश्वासले पनि बजारमा ठूलो प्रभाव परेको हुन्छ । केबुल टिभी पुरानो विधि हो । तर पनि यो सेवा विगत ३० वर्षदेखि प्रयोग हुँदै आएको छ । धेरै मानिसहरु यसैमा विश्वास राख्छन् । नेपालको भूगोललाई हेर्दा, खासगरी हिमाली र पहाडी क्षेत्रमा डिस होम नै उपयोगि र प्रभावकारी हुन्छ ।

सिम टिभीको नेटवर्क कस्तो छ ?

सिम टिभीले सेवा दिदै आएको तीन वर्ष भयो । यसको सेवा खासगरी दाङ, नेपालगञ्ज, चितवन, पोखरामा ग्राहक धेरै छन् । प्रडक्ट आफैमा राम्रो छ । यसको सेवास्तरमा सुधार जरुरी छ ।

सिम टिभीको व्यवस्थापन डिसहोमले लिएपछि सिम टिभीका ग्राहकले कस्तो सेवा पाउँछन् ? सेवा स्तरमा सुधार हुन्छ ?
केही नयाँ कन्टेन्ट हुनेछन् । त्यसले ग्राहकलाई सन्तुष्टि नै दिन्छ ।

टिभी नेटवर्क सेवा प्रदायकहरुमा लगानीकर्ता निकै अस्थीर देखिएका छन्, किन यस्तो हुन्छ ?

मेरो विचारमा लगानीकर्ताले गहिरो अध्ययन नगरी नै यस क्षेत्रमा लगानी गरे र लगानी गरिसकेपछि जोखिम देखे । तत्काल नाफा देखेनन् । त्यसैले लगानीकर्ताहरु सेयर बेचेर छोड्न तयार भएको देखिन्छ । यदि हामीले पनि पहिला सबै कुरा बुझेका थियौँ भने यस क्षेत्रमा लगानी गर्दैन थियौं होला । हामीले पनि नबुझिकन लगानी गरेकैले ६/७ वर्षसम्म लाभांश लिन सकेका छैनौ ।

यो क्षेत्रमा अरु केबुल टिभीहरुमा पनि यस्तो समस्या छ । डिस नेपाल र होम टिभीमा शुरुका सबै लगानीकर्ता अहिले डिसहोममा देखिदैनन् । दुबै कम्पनीका लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र सेवाको स्तरमा सुधारको लागि मर्जको बाटो रोजे । अहिले डिसहोम निकै बलियो कम्पनी भएर आएको छ । त्यस्तै सिम टिभीमा पनि अहिले तेस्रो पटक लगानीको स्वामित्व परिवर्तनको प्रक्रियामा गएको छ ।

यस क्षेत्रमा ठूलो लगानी आवश्यक रहेछ । यो विजनेशको नेचर नै पहिला पैसा खन्याउने र पछि कमाउने हो । यस्तो क्षेत्रमा लगानीको स्रोत जुटाउन पनि कठिन छ । डिसहोममा १४ वटा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणबाट ६७ करोड रुपैयाँ कर्जा लिन परेको थियो । त्यसले पनि पैसा पुगेन । प्रवद्र्धकले पैसा थप्दै जानु पर्यो । हाम्रा बैंकहरुले गुडविलको भ्यालुएशन, ग्राहकको भ्यालुएशनलाई मान्दैनन् । उनीहरुले आम्दानी र सम्पत्ति मात्र हेर्छन् । सरकारको नीतिमा आएको परिवर्तनले पनि हामीले नोक्सानी बेहोर्नु परेको छ ।

सरकारी नीतिमा आएको परिवर्तनका कारण डिसहोमले कहाँ कहाँ नोक्सानी बेहोर्नुपर्यो ?

सरकारले दिएको लाइसेन्स, त्यसको सर्त, सरकारको नीतिभित्र रहेर हामीले व्यवसाय गर्छौ । रोजगारी सिर्जना गर्छौ, सरकारलाई राजश्व पनि दिन्छौं, नागरिकलाई सेवा दिन्छौ । फेरि सरकारी नीति परिवर्तन हुँदा हुने नोक्सानी हामीले मात्र बेहोर्नुपर्छ, सरकारले जिम्मेवारी लिँदैन । हाम्रो लगानीको कसरी सुरक्षा गर्ने भनेर सरकारले कहिल्यै सोच्दैन ।
सरकारले अचानक क्लिनफिड नीति ल्यायो । कसैले लविङ गरेका आधारमा सरकारले यो नीति ल्यायो । एक वर्षअघि हामी सरकारलाई साँचो बुझाउने अवस्थामा पुगेका थियौं ।

क्लिनफिड भन्ने शब्द नै गलत छ । विश्वभर क्लिनफिड छ भनेर हावादारी कुरा गरे । विश्वमा विज्ञापन नराखी चलेको टेलिभिजनहरु पनि छन्, जसले टेलिभिजन नेटवर्क सर्भिस प्रोभाईडरबाट उच्च शुल्क लिएर चलाएका हुन्छन् । विदेशी च्यानलमा विज्ञापन नै बज्नुहुन्न भनियो । मेरो विचारमा विदेशी च्यानलमा नेपाली विज्ञापन बज्नुपर्छ भनिएको भए सहि हुने थियो ।

मेरो विचारमा काठमाडौंमा ८/९ हजारमा घरमा विदेशी डीटीएच जोडिएको छ । तराईको सीमा क्षेत्रमा ५ लाख भन्दा बढी घरमा विदेशी डीटीएच छन् । जसलाई नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान गएको छैन ।

विदेशी डीटीएचलाई तपाईहरुले किन विस्थापित गर्न सक्नुभएन ? डिसहोमको सेवा विदेशी डीटीएचसँग प्रतिस्पर्धी छैन ?

विदेशी डीटीएच गैर कानुनी छ । यसबाट सरकारले कुनै कर पाएको छैन । गैरकानुनी र करको दायरामा नआएको सेवासँग कानुनी र करको दायरामा रहेको कम्पनीले प्रतिस्पर्धा गर्न कठिन छ । यसमा सरकार नै चनाखो हुनुपर्छ । अर्को विदेशी सेवा प्रदायकसँग नेपाली सेवा प्रदायकले प्रतिस्पर्धा गर्न केही समस्या छन् । ठूलो स्केलको इकोनोमी भएको देशका कम्पनीको भन्दा सानो स्केलको इकोनोमी भएको देशको सेवा प्रदायकको सेवाको लागत बढी हुन्छ ।

महत्वपूर्ण कुरा के हो भने विदेशी डीटीएच हेर्ने नेपालीहरुमा नेपालीपन, नेपाली कला र संस्कृति हुँदैन । उनीहरु प्रधानमन्त्री भन्ने वित्तीकै नरेन्द्र मोदि सम्झन्छन्, केपी शर्मा ओली होइन । उनीहरुले हेर्ने समाचार, उनीहरुले हेर्ने, फिल्म, टेलिसिरिएल, म्यूचिक भिडियो, टक शो सबै विदेशी हुन्छन्, नेपाली हुँदैनन । उनीहरुमा नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार सबै मरेको हुन्छ । उनीहरुमा राष्ट्रियता नै हुँदैन । देशको लागि यो ठूलो समस्या हो । यसतर्फ सरकारले गम्भिरता पूर्वक ध्यान दिनु जरुरी छ ।

 

डिसहोममा अहिलेसम्म लगानी कति भयो ?
२०१ करोड रुपैयाँ सेयर पुँजी छ । २०० करोड रुपैयाँभन्दा बढी बैंक कर्जा छ । त्यसबाहेक अरु दायित्व पनि छन् ।

कम्पनीको नाफा कति हुन्छ ? 
अघिल्लो वर्ष हामीले खुद नाफा ४५ करोड गरेका थियौ । गत आर्थिक वर्ष ४५ करोडभन्दा बढी नै नाफा हुने देखिएको छ ।

यस कम्पनीको मुख्य लगानीकर्ता को को हुन् ?

यस कम्पनीमा ४७ प्रतिशत विदेशी लगानी छ । नेपाली लगानीकर्तामा आईएमई ग्रुप, प्रभु ग्रुप, आरएम ग्रुप यस कम्पनीका मुख्य लगानीकर्ता हुन् ।

डिसहोममा सिम टिभी एक्वाएरपछि अवस्था के हुन्छ ?

मर्ज होइन, एक्वाएर गर्न लागिएको हो । एक्वाएर गर्दा सेयर संरचनामा केही पनि परिवर्तन हुन्न । अहिले हामीले व्यवस्थापन मात्र लिएका छौं । पछि मदर कम्पनी डिसहोम मिडिया नेटवर्क लिमिटेड हुन्छ । सिम्पल टिभी नेटकर्व सिस्टर कम्पनीको रुपमा रहन्छ ।

सर्वसाधारणमा सेयर निष्काशन गर्दा कुन कम्पनीको सेयर निष्काशन हुन्छ ?

डिस होमको सेयर निष्काशन हुन्छ । वासलातमा हाम्रो सिस्टर कम्पनी सिम्पल टिभी नेटवर्क हो र त्यसमा यति लगानी भएको भनेर खुलस्त पारिन्छ ।

डिसहोमले सेयर कहिले निष्काशन हुन्छ ?

सेयर निष्काशन गर्नुपूर्व धेरै तयारी हुनुपर्छ । लगातार तीन वर्ष नाफामा गएको हुनुपर्छ । लिमिटेड कम्पनी भएको १ वर्ष पुरा हुनुपर्छ । तीन वर्षसम्म नाफा भएको र लिमिटेड कम्पनी भएको एक वर्ष हुनुपर्ने मुल सर्त पुरा भएका छन् । अब क्रेडिट रेटिङ गर्नुछ । बिक्री प्रबन्धक नियुक्ती गर्नुछ । सेयर निष्काशन गर्नुुु पूर्व गर्नु पर्ने प्रक्रियागत काम गर्नुछ । चालु आर्थिक वर्षभित्र नै सेयर निष्काशन हुन्छ ।

साधारण सेयर निष्काशन गर्नु पर्ने आवश्यकता हो कि वाध्यता हो डिस होमका लागि ?

बाध्यता भन्दा पनि विजनेश गर्ने मोडलको कुरा हो । डिस होम नेपालको एउटा ठूलो कम्पनी भईसक्यो । यसको ग्राहक पनि देशभर छन् । ग्राहकलाई पनि सेयर होल्डर बनाएर जाँदा कम्पनी बढी बलियो हुन्छ । कम्पनी डे वान देखि घाटामा थियो तर पनि हामीले हाम्रो वित्तीय विवरण पूरा पारदर्शी रुपमा राखेका छौं । पब्लिक कम्पनी भएपछि ब्राण्ड भ्यालु अझै बढ्छ । अहिले त सरकारले १०० करोडभन्दा बढी पुँजी हुने सबै कम्पनी सेयर बजारमा जानै पर्छ भनेको छ ।

कतिको सेयर निष्काशन गर्ने हो ?
१० प्रतिशत । त्यसबाट कर्मचारीलाई पनि दिन्छौं ।

प्रिमियम मूल्यमा आउने हो कि १०० रुपैयाँमा ?

प्रिमियम मूल्यमा नै आउँछ । किनकी कम्पनीका पुराना प्रवद्र्धकहरुले अहिलेसम्म लाभांश लिएका छैनन् । ७ वर्षसम्मको संघर्षपछि कम्पनी बलियो भएको छ । नयाँ नाफा पनि राम्रो छ । २०० करोडको कम्पनीले वार्षिक ४५ करोड भन्दा बढी नाफा गर्नु राम्रो हो । कम्पनीले देशभर सेवा फैलाएको छ । देशभर ग्राहक बनाएको छ । सशक्त ब्राण्ड भएको छ । त्यसैले हामी प्रिमियम मूल्यमा जाने मानसिकता बनाएका छौं । तर प्रिमियम मूल्य कति भन्ने अहिले भन्न सकिदैन ।

कम्पनीको संचित नाफा कति हो ?
असार मसान्तअघि संचित कोष ऋणात्मक नै थियो । गत वर्षको नाफाले संचित कोष धनात्मक हुन्छ ।

डिसहोमको स्याटलाईट कहाँ छ ? यसको प्राविधिक साझेदार को हुन् ?

डिसहोमको स्याटलाईट पृथ्वीबाट ३७ हजार किलोमिटर टाडा छ । यसको प्राविधिक साझेदारमा मुख्य कम्पनी इजराइली कम्पनी छ । हामीले लिने सेवा र यस कम्पनीलाई आवश्यक पर्ने प्राविधिक सामानहरुको खरिद विश्वका धेरै कम्पनीहरुसँग लिनु पर्ने हुन्छ । कतिपय समान स्वीस कम्पनीको उत्पादन हुन्छ । सफ्टवयर नर्वे, अष्ट्रेलिया लगायत देशबाट लिएका हुन्छौं । सेटअप बक्स टाइवानबाट आएको हुन्छ । छाता इण्डियाबाट आउँछ । कनेक्टर युरोप लगायत विभिन्न देशबाट आएको हुन्छ । कन्टेन्टहरु इण्डिया, सिंगापुर, यूरोपबाट आईरहेको हुन्छ । यो विजनेश ग्लोवल टाइमको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.