नेपाल बैंकको एफपीओमा १४ प्रतिशत मात्र आवेदन, आज अन्तिम दिन

  २०७५ साउन १३ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) बिक्री अवस्था लजास्पद भएको छ । बिक्री बन्द हुन एक दिन बाँकी हुँदासम्म १३.९९ प्रतिशत सेयरको लागि मात्र आवेदन परेको छ । शुक्रबारसम्म ६९ करोड २८ लाख ९ हजार ६०० रुपैयाँ बराबरको २४ लाख ७४ हजार ३२० कित्ता एफपपीओ मात्र बिक्री भएकाले पुरै आवेदन नपर्ने संभावना बढेको हो ।

हालसम्म एफपीओ खरिदका लागि १७ हजार ६७४ ले मात्र आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आईतबार बैंकिङ समयपछि एफपीओ बिक्री बन्द हुने सिद्धार्थका मर्चेन्ट बैंक विभाग प्रमुख सुजन अधिकारीले बताए । आइतबारसम्म मात्र एफपीओ बिक्री खुला हुने उनले स्पष्टपारे । असार १५ गते निष्कासन भएको एफपीओ ४ दिनमा बिक्री नभएपछि साउन १३ गतेसम्मलाई समय थप गरिएको थियो ।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।
बिक्री नभएको एफपीओ ८ वटा मर्चेन्टले बैंकले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् ।

सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् ।

बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.