बीमा भनेको जोखिम हस्तान्तरणसँगै लगानी पनि हो-प्रविनरमण पराजुली

  २०७५ साउन ६ गते १३:३७     विकासन्युज

मर्चेन्ट बैकिङ क्षेत्रमा राम्रो छवि बनाएका प्रविण रमण पराजुली पछिल्लो ६ महिनादेखि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । मर्चेण्ट बैंकिङमा राम्रो दख्खल राख्ने पराजुलीले नयाँ जीवन बीमा कम्पनीको कमाण्ड गरेर आफूलाई प्रमाणित गर्ने प्रयास मात्रै गरिरहेका छैनन्, कम्पनीको उचाई बढाउने प्रतिवद्धता पनि गरिरहेका छन् । प्रस्तुत छ नयाँ कार्य क्षेत्र, नयाँ कम्पनी र पुराना कम्पनीसँगको प्रतिष्पर्धाका बारेमा विकासन्युजले पराजुलीसँग गरेको विकास बहस ।

प्रविनरमण पराजुली, प्रमुख कार्यकारी अधिकृत, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड

मर्चेन्ट बैंकरबाट लाइफ इन्स्योरेन्स कम्पनीको सिइओ बन्न आउनु भएको छ, कस्तो छ चुनौति ?

म सधैँ चुनौति लिने मान्छे हुँ । यो चुनौति र अवसर दुबै हो । फरक क्षेत्रको मान्छे मलाई यो क्षेत्रको नेतृत्व गर्ने अवसर दिनु भएको छ, त्यसले मलाई छुट्टै उत्प्रेरणा पनि दिएको छ । यो जोखिमलाई अवसरका रुपमा बदल्ने अघि बढ्ने हो ।

बीमा पोलिसी तयार गर्दा वा बीमाको प्राविधिक पक्षमा निर्णय लिनुपर्दा कतै कन्फ्युजनमा परेको जस्तो लाग्छ कि ?

अध्ययन भनेको सधै निरन्तर हुन्छ । सिक्ने कुरा कहिल्यै सकिँदैन् । एक्सपर्टहरुले पनि शंकाको सुबिधामै काम गर्ने हो । पोलिसीलाई अन्तिम चरणमा पुर्याउँदा मैले अलि मेहनत गर्नु पर्छ नै । काम गर्दै सिक्दै जाने हो । मुल कुरा भनेको सोँच नै हो । मैले सोचे जस्तै भएको छ ।

के सोच्नु भएको थियो, के के गर्नु भयो ?

मैले संस्थालाई एउटा उचाईमा पुर्याउछु भन्ने सोचेको थिए । त्यो करिब पुरा भएको छ । संस्थालाई जहाँ पुर्याउँछु भन्ने थियो त्यो पुरा भएको अनभूति गरेको छु । साढे ८ वर्ष नविल इन्भेष्टमेन्टमा काम गर्दा त्यो संस्थालाई सोचेकै ठाउँमा पुर्याएँ भन्ने लाग्छ । अब संस्था र क्षेत्र बदल्छु भन्ने सोचेको थिए, त्यति बेला नै यता आउने अवसर प्राप्त भयो । यहाँ आएर पनि सोचेकै अनुसार काम गरिरहेको छु ।

यो संस्थाले तपाईसँग गरेको अपेक्षा पुरा गरिरहनु भएको छ ?

अहिले नै त्यति अगाडि बढेर सोच्ने बेला भएको छैन । म ६ महिना अघि संस्थामा आएको थिएँ । शाखा विस्तार भएको थिएन । कर्पाेरेट अफिस पनि सेटअप भैसकेको थिएन । एकाध पोलिसी मात्रै तयार भएका थिए । आज हामी धेरै अघि बढिसकेको छ ।

के के काम भयो आजसम्म ?

आजका दिनमा हामी १६ वटा शाखाबाट सेवा दिईरहेका छौं । ३२ वटा शाखा तयारी अवस्थामा छन् । ६ वटा पोलिसी बेचिरहेका छौं । एजिएमको तयारी पुरा भयो । कर्मचारी व्यवस्थापन पनि निकै अघि बढिसकेको छ ।

हामीले यस अवधिमा गनुपर्ने कामको ९५ प्रतिशत काम गरेका छौं, सफलता प्राप्त गरेका छौं । यतिबेला काम गर्ने आधार तयार भएको छ । अर्काे आर्थिक वर्षमा बजारमा राम्रो उपस्थितिका लागि हामी तयारी अवस्थामा पुगेका छौं । यसपाली व्यापारै चाँही राम्रो छैन तर अर्काे वर्ष सोचे अनुसारकै बिजेनश हुनेछ ।

गत आर्थिक वर्षमा निर्धारण गरिएको लक्ष्य १०० प्रतिशत भएन भने त्यो सफल भएको मानिन्न । केहि प्रतिशत नपुग्नु भनेको लक्ष्य नभेटिनु नै हो । हामीले धेरै काम गर्नुपर्ने छ तर बजारमा एक स्तरको छवि भने निर्माण गरिसकेका छौं । बजारले रिलायन्स लाइफलाई चिन्न थालेको छ ।

आगामी वर्ष गर्नै पर्ने काम के के छन् ?

मुलतः शाखा विस्तारमा विशेष ध्यान जान्छ । प्रडक्टको विकास गर्नुपर्नेछ । अलि नयाँ खाले पोलिसी ल्याउनु पर्नेछ । त्यसका लागि केहि रिसर्च पनि गर्नुपर्नेछ । बजारमा नभएका केहि नयाँ पोलिसी ल्याउने प्रयास गर्नेछौं ।

धातक रोगहरुको पोलिसीमा नेपालमा ७, ११ र १८ वटा रोग समेटेका छौं । १८ वटासम्म रोग समेट्ने नेपालमा रिलायन्स इन्स्योरेन्स मात्रै हो ।
अहिले पोलिसी खरिद गर्दा अतिरिक्त करार गर्न पाइन्छ । १० लाखको पोलिसी लिँदा घातक रोगको पोलिसी अतिरिक्त लिन सकिन्छ जसमा न्युनतम शुल्क मात्रै तिर्दा हुन्छ । नेपालका सन्दर्भमा १८ वटा रोग समेट्ने योजना हाम्रो मात्रै हो ।

चाईल्ड प्लानमा पनि हामी नयाँ गरिरहेका छौं । डबल प्रोटेक्सन दिईरहेका छौं ।

नयाँ कम्पनीका बीचमा पनि प्रतिष्पर्धा छ, कस्तो महशुस भैरहेको छ ?

प्रतिष्पर्धा भनेको नयाँ र नयाँका बीचमा मात्रै होइन । पुरानाहरुसँग पनि प्रतिष्पर्धा छ । प्रतिष्पर्धा भनेको बजारमा नयाँ हुने कुरा हो । म बाहिरबाट आएको मान्छे हुँ । त्यसकारण यहाँको भिन्नता के हो ? कहाँ बजारमा जान सकेको छैन् ? कुन क्षेत्रमा अवसर छ भन्ने कुरा बाहिरबाट राम्रोसँग हेर्न सकिने रहेछ ।

कुन क्षेत्रमा बढि सम्भावना रहेछ ?

मुल कुरा भनेको अरु भन्दा फरक हुनु नै हो । नयाँ पोलिसी, गुणस्तरीय एजेण्टको निर्माण, बजारको अवस्थाको अध्ययन लगायतका कुरामा ध्यान दिनुपर्नेछ ।

तपाईहरुका पोलिसीमध्ये बजारमा साह्रै रुचाईएको कुन चाँही हो ?

हामीले चाईल्ड प्रडक्ट ल्याएका छौं जुन अरु भन्दा फरक छ । त्यसमा चाईल्ड प्लान लिँदा अविभावकका लागि पनि सुरक्षा दिएका छौं । रिटर्न भन्दा पनि सुरक्षाका लागि भनेर यो पोलिसी ल्याएका हौं । बोनसलाई भन्दा सुरक्षालाई ध्यान दिनुपर्छ । यो प्रडक्टमा त्यहि गरेका छौं ।
नागरिकले कुन प्रडक्ट खरिद गर्ने भन्ने छनौट गर्न पाउनु पर्छ । एजेण्टले त प्रडक्टको बारेमा बताउने मात्रै हो, नागरिकले आफैं फलानो पोलिसी लिनुपर्छ भनेर सोच्न सक्ने वातावरण बनाउनु पर्छ ।

विकाशोन्मुख मुलुकहरुमा इन्स्योरेन्सलाई प्राथमिकतामा ल्याउन नसकिएको हो ?

हामीले वित्तीय योजना बनाउँदा इन्स्योरेन्सलाई कहिल्यै समावेश गरेको हुन्नौ । खाली बैंकमा डिपोजिट गर्ने वा अन्य विकल्पबारेमा मात्रै सोच्छौं । पाँच लाख रुपैंयाँ हुनेले बैंकमा राख्न वा अरु काम गर्न चाहान्छ । तर उसको जीवन तलमाथी भयो भने जम्मा आउने पाँच लाख मात्रै हो । तर इन्स्योरेन्स गर्ने हो भने जोखिम हस्तान्तरण हुने थियो । तर हामीले त्यतातिर सोचिरहेका छैनौं । यो प्रक्रियालाई वित्तीय योजना बनाउँदा खासै सोच्ने गरिएकै छैन ।

बैंकहरुले ऋण दिने बेलामा ऋणीको जीवन बीमा गराउने बारे केहि योजना बनेको छ ?

ऋण दिने बेलामा त्यसबारेमा केहि न केहि भन्ने गरेका छौं । कुन दिन कसलाई के हुन्छ, थाहा हुन्न । मुल ऋणीको जीवन तलमाथी भयो भने पनि लगानी नडुबाउनका लागि र परिवारको समेत जोखिम बहनका लागि ऋणीको बीमा गराउनुपर्छ । जोखिम हस्तान्तरण अनिवार्य भैसकेको छ ।

हामीले संस्थालाई कसरी बलियो बनाउने भन्नेबारे काम गरिरहेका छौं । संस्था बलियो भएपछि बीमा शुल्क आफैं बढ्नेछ । हामी स्वतन्त्र क्षेत्रबाट आएका मान्छेहरुले मार्केटको ग्याप देख्छौं । त्यसलाई समातेर बजारमा नयाँपन दिने काम पक्कै पनि हुनेछ । हामीले ल्याएका पोलिसीहरु अन्य कम्पनीले पनि गरौं न त भन्दा हामी धेरै अघि बढिसकेको हुनेछौं ।

टार्गेट समूह पनि बनाउनुभएको छ ?

हामी जस्तो नयाँ कम्पनीले टार्गेट समूह बनाउनु उपयुक्त हुन्न । हामीले साना देखि ठूला सबैलाई समेट्ने प्रयास गरेका छौं । मुल कुरा भनेको नयाँपन दिने भन्ने नै हो । बजारमा भएका अन्य पोलिसी भन्दा फरक ल्याउनु पर्छ । बजारको अवस्था हेरेर सबैलाई मिल्ने खालका योजना ल्याउनु पर्छ । हामीले साना देखि ठूला सबै उपभोक्तालाई समेट्नु हाम्रो प्रयास हो ।

नागरिकले सेयरमा लगानी गर्न भन्दा वा बैंकमा निक्षेप राख्न भन्दा पहिला बीमा पोलिसी खरिदलाई प्राथमिकता दिने दिन कहिले आउला ?

त्यस्तो दिन पक्कै पनि आउँछ । तर त्यसका लागि फाइनान्सियल प्लान बनाउँदा इन्स्योरेन्सलाई पनि समेट्ने अवस्था निर्माण गरिनुपर्छ । त्यस्तो वातावरण बनाउन चेतना बढाउनु आवश्यक हुन्छ । मानिसले आफूसँग भएको पैसालाई फरक फरक ढंगले लगानी गर्नु पर्छ । जोखिम हस्तान्तरण गराउनुपर्छ ।

नयाँ इन्स्योरेन्स कम्पनीको आइपीओमा सर्वसाधारण लगानीकर्ताको चासो छ, कहिले ल्याउन सकिने अवस्था हो ?

नयाँ बीमा कम्पनीको आईपीओका बारेमा केहि कन्फ्युजन छन् । उदेश्य अनुसार एक आर्थिक वर्षको कारोबार गरेको हुनुपर्ने भनिएको छ । त्यसलाई बीमा समितिले पूरा आर्थिक वर्ष भन्न सक्छ, धितोपत्र बोर्डले पनि त्यस्तै भन्न सक्छ । मेरो साधारण बुझाई भनेको चाँही पुरा आर्थिक वर्ष होइन । उदेश्य अनुसार एक वर्ष कारोबार गरेपछि आइपीओ निष्काशन गर्न दिनुपर्ने हो ।

इन्स्योरेन्स कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ ल्याउने अवस्था रहन्छ ?

हामीलाई चाँडै पुँजी पुर्याउनु पर्ने बाध्यता छ । ३ बर्ष नाफामा गएपछि मात्रै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न पाइन्छ । हामीले आगामी आर्थिक वर्षभित्रै पुँजी पुर्याउनुपर्ने अवस्था छ । प्रिमियम मूल्यमा आइपीओ निकाल्न चार पाँच वर्ष कुर्नुपर्ने हुन्छ । त्यसकारण अहिलेकै अवस्थामा प्रिमियम मूल्यमा आईपीओ निकाल्ने सम्भावना देखिन्न । त्यसमा धेरै प्राविधिक कठिनाई छन् ।

सेयर बजार घटिरहेको छ, प्रिमियम मूल्यका आइपीओ बिक्री भैरहेका छैनन्, आइपीओ नबिक्ने जोखिम देख्नुहुन्छ ?

नियामकले पनि एक आर्थिक वर्षको वित्तीय विवरण लिएर मात्रै आइपीओमा जान पाइन्छ भन्नुको कारण पनि विश्वास बनोस् भन्न कै लागि हो । हामी विश्वस्त छौं कि हाम्रो आईपीओ पक्का बिक्छ । यस कम्पनीको संस्थापक लगानीकर्ताहरुको आधारले पनि आइपीओमा कुनै समस्या हुन्न । ३ बर्षको प्रोजेक्सन गर्नुपर्ने व्यवस्था पनि छ । सबै संस्थालाई केहि न केहि जोखिम चाँही छ तर हामीलाई कुनै समस्या हुन्न । एक सय रुपैंयाँको सेयर खरिद गराउन कुनै ठूलो कसरत गर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.