बोडेमा तन्नेरीहरुको देश चलाउने अभ्यास: समृद्धि र समानताको संकल्प

  २०७५ साउन ३ गते ९:४३     विकासन्युज

काठमाडौं । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा १६ देखि २४ बर्ष उमेरका तन्नेरीहरुले  देश चलाउने अभ्यास गरेका छन् । राष्ट्रिय युवा परिषदले आधा दर्जन गैर सरकारी संस्थाहरुसँग मिलेर तन्नेरीहरुलाई देश चलाउने अभ्यास गराएको हो । अभ्यासमा सात वटै प्रदेशका ६९ जना तन्नेरीहरुको सहभागीता रहेको थियो ।

समावेशी सहभागीता र समावेशी मन्त्रिपरिषद गठन गरेका तन्नेरीहरुले आफ्ना जल्दा बल्दा सवालहरुमा खुलेर बहस गरे । शिक्षालाई गुणस्तरिय र व्यवसायीक बनाउने बिधेयक तयार पारेका उनीहरुले सबै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरियोस भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पास गरे ।

काभ्रेका अशोक खनालको प्रधानमन्त्रीय भूमिका, सुर्खेतका समिर बिक्रम राणाको शिक्षा मन्त्रीको प्रस्तुती, धनकुटाका भविश श्रेष्ठको गृहमन्त्रीको भूमिका, मकवानपुरकी सुजिता थिङको सभामुखको भूमिका साह्रै लोभ लाग्दो थियो । अपाङगता भएकाहरुको प्रतिनिधीका रुपमा कानुन मन्त्रालय सम्हालेकी रोशनी अधिकारीको भूमिकाले सबैलाई चकित पारेको थियो ।

कास्कीकी रोजिना आचार्य क्षेत्री र लमजुङकी कुञ्जनी परियारको प्रस्तुति साच्चैका सांसदको भन्दा कमजोर थिएन् । लमजुङकै विकास गुरुङले युवाहरुले ब्रिटिस, सिंगापुर र भारतीय गोर्खा सैनिकमा भर्ती भएर पैसाकै लागि आफ्नो ज्यान फाल्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ भनेर प्रश्न गर्दा हल गुञ्जयमान भएको थियो ।

लैंगिक अल्पसंख्यकहरुका तर्फबाट रुक्सना कपालीले उठाएको सवालले सबैलाई सोच्न बाध्य तुल्यायो । युवा र युवतीका कुरा मात्रै गरिने समाजमा त्यो समुह भन्दा बाहिरका मानिसहरु पनि छन् है भन्ने सोच्न प्रेरित गरेको थियो ।

गुणस्तरिय तथा व्यवसायीक शिक्षा, रोजगारीको ग्यारेण्टी, वैदेशिक रोजगारीको पीँडा, छाउपडी, दाइजो, दलितमाथी भैरहेका थिचोमिचो, सिमा अतिक्रमण, भ्रष्टाचार न्युनिकरण, चुस्त/दुरुस्त कर्मचारी प्रशासन, कृषि क्रान्ति, सडक पुर्वाधार, रेल र पानी जहाज, हिमालयको संरक्षण, व्यापार घाटा न्युनीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका सवालमा तन्नेरीहरुले व्यापक छलफल गरेका थिए ।

तन्नेरीहरुलाई संसदिय प्रक्रिया मार्फत राजकीय सत्ता सञ्चालनको अभ्यास गराईएको सो कार्यक्रममा संबिधान सभाका पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङ, संसद सचिवालयका निर्वतमान सचिव बिरेन्द्र बहादुर कार्की, प्रशिक्षक रमेश पौडेल, अधिवक्ता हरि फुँयाल, केदार कोइराला लगायतले प्रशिक्षण दिएका थिए ।

युवा सरकारको बार्षिक नीति तथा कार्यक्रम समेत ल्याएर उनीहरुले देश सञ्चालनको पुर्वाभ्यास गरेका थिए । उनीहरुको युवा शक्तिको प्रत्यक्ष सहभागीताले समृद्धि र समानताको यात्रा सम्भव हुने बताउँदै नेतृत्व निर्माणका लागि संसदिय अभ्यासले ठूलो भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.