एनआईसी एशिया बैंककाे निक्षेप १५० अर्ब नाघ्यो, तरलता संकटको वर्ष निक्षेप वृद्धि ७४ प्रतिशत

  २०७५ असार ३० गते १६:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको निक्षेप रु १५० अर्ब भन्दा बढी भएको छ । एक वर्षमा बैंकले करिब ६४ अर्ब निक्षेप वृद्धि गरेको छ । बैंकले २०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्तमा करिव ७४ प्रतिशत निक्षेप वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ बैंकिङ क्षेत्रको लागि तरलता संकटको वर्ष नै रह्यो । यस वर्षमा पनि बैंकले गरेको उच्च दरको निक्षेप तथा कर्जा लगानी विस्तार अरु बैंकका लागि गम्भीर चुनौतिको विषय बनेको बैंकर्सहरु बताउँछन् । अाक्रामक रूपमा बजार  विस्तारकाे क्रममा  निक्षेपकर्तालार्इ उच्च व्याजदर प्रस्ताव गरेकाे विषयलार्इ लिएर यस बैंकले बैंकर्स संघबाट घेराबन्दीकाे सामना गर्नु परेकाे थियाे ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेका अनुसार बैंकको कुल कर्जा करिब रु. १२० अर्ब पुगिसकेको छ । बैंकको वासलात आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ । ‘वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा पुगेका छौं’ उनले भने–‘संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।’

मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको बैंकले जनाएको छ ।

बैंकले शुक्रबार मात्र पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा शाखारहित बैंकिङ्ग सेवा आषाढ २९ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरे । बंैकको उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले कविता कुँवरलाई नियुक्त गरेको छ ।

यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको र उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्री धनसिंह सुनारलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.