निजी क्षेत्र अर्थतन्त्रको ड्राइभर हो, हामी ट्राफिकले सिठ्ठी बजाउनु नपरोस्: अर्थमन्त्री खतिवडा

  २०७५ असार २४ गते १८:५२     युवराज खतिवडा

काठमाडाैं । नेपालको स्थीर सरकार नेपालको इतिहासमै सबैभन्दा बलियो सरकार तपाईहरुले भन्दै आइरहनु भएको छ । यस अर्थमा मैले पनि केहि बोल्नै पर्ने हुन्छ । अहिले प्राइभेट सेक्टर बढी जिम्मेवार, बढी दूरदर्शीतापूर्वक सरकारसँग सहकार्य गर्न आएको छ ।

तपार्इंहरुलाई बधाई छ, शुभकामना छ । किनभने निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड हो, हामी सहजकर्ता मात्र हौं । कुनै कुरामा तपार्इंहरु अघि बसेर काम गर्नुहुन्छ कुनै करामा हामी अगाडी बस्छौं । निजी क्षेत्र र सरकार एक अर्काको पुरक हुन् ।

निजी क्षेत्रको विकासको लागि कुनै नीति आवश्यक होला । कतिपय स्थानमा कानून बनाउने कुरा होला । हाम्रो मुलुकको आर्थिक ड्राइभर तपार्इंहरु हो । आर्थिक बहाव तपार्इंहरु हो । तपाईहरुले स्पीड बढी गर्नुहुन्छ कि दाँयाबाँया गर्नुहुन्छ कि भनेर हामीले हेर्ने मात्र हो । तर तपाईहरु विद्धान हुनुहुन्छ । हामीले सिठ्ठी बजाइरहनु पर्दैन ।

म केहि कुरामा तपाईहरुको ध्यान आकर्षण गर्न चाहान्छु । लगानीको वातावरणको कुरा गर्नुपर्दा ३ वटा राजनैतिक प्रणाली फेरिए पनि नीतिगत कुराहरु फेरिएका छैनन् । यी नीतिहरु सुधार हुने प्रक्रियामा छन् । हामी पछाडि फर्किदैनौं, यो सरकार सुधारमा पछि पर्दैन । हामी अगाडि नै बढ्छौं । नेपालमा उद्योग धन्दाहरु आफैं फस्टाउन् भनेर सरकारले संरक्षणको नीति लिनु आवश्यक रहेको छ । यसमा अघिल्लो सरकार भन्दा यो सरकार निकै सकारात्मक गतिमा अघि बढेको छ ।

उद्योगलाई मात्र केन्द्रमा राखेर गरिने व्यापारले देशलाई हित गर्दैन यो कुरा सरकारले बुझेको छ । उत्पादनमा केन्द्रित उद्योग विकास गर्नुपर्छ । भएका राम्रा नीतिगत कुरालाई निरन्तरता दिने र नराम्रा कुरालाई हटाए सरकार अघि बढ्छ । यसको लागि आवश्यक सुशासन मैले पढेको छु र आत्मासाथ गरेको छु ।

हामीले उद्योगलाई संरक्षण गर्ने कानून बनाउनु जरुरी रहेको छ । २०१३ सालमा निर्माण भएको आयात निर्यात ऐन अहिलेसम्म चलिरहेको छ । यसलाई सुधार गर्न हामी तयार रहेका छौं । यसको लागि सबैतिरको सल्लाह सुझाव हामी लिनेछौं ।

दोस्रो कुरा, हाम्रो नीति र कार्यक्रमको विषयमा देशलाई अत्यावश्यक पर्ने कुराहरु प्रमुख रुपमा रहेका छन् । अहिले हेर्ने हो भने सरकार र ठेकेदारबीच निकै सम्बन्ध चिसिएको छ । सरकार भन्छ पैसा दिएको छ, समय दिएको छ, समयमा काम नगर्ने ? ठेकेदार भन्छ, समयमै रकम निकासी पाइएन । निर्माण समाग्रीहरु समयमै पाइएन । स्थानीयको अवरोधलाई झेल्न सकिएन । ठेक्काका कागजात समयमा पाउन सकिएन । कतै ठेकेदारलाई बोलाएर हप्काइयो । कतै मजदुरले विरोध गरे । हामी अहिले पनि यो दोहोरी खेलिरहेका छौं । यस्तो हुनु देशको लागि राम्रो विषय होइन । देश बनाउने जिम्मा ठेकेदारको हो । यसका लागि सरकार र ठेकेदार सगँसगै बस्नुपर्छ ।

यो मैले निर्माण व्यावसायीको उदाहरण दिए । उद्योग व्यवसायमा पनि उस्तै हो । उद्योगको लाइसेन्स नविकरण गर्ने मिति सक्किसकेकाे पनि थाहा नपाई बस्ने म्याद गुज्रीएपछि अनि प्रमाणपत्रमा धुलो टक्टकाउँदै नविकरणका लागि आउनुहुन्छ । हाम्रो नीतिले यसलाई मान्दैन । अहिलेको समस्या यहि हो । लगानीको लागि वातावरण छ । लगानी गर्ने आर्थिक हैसियत छ । नीतिगत रुपमा उद्योगको दर्ता गर्न सकिदैंन ।

हामीलाई लगानीको लागि पुँजीको समस्या रहेको त्यसको लागि विदेशी पुँजीको आवश्यक पर्ने गर्छ । यसका लागि केहि बैंकहरुलाई स्वीकृति दिइसकेको छ । केहि संस्थाहरुलाई विदेशबाट लगानी ल्याउने बाटो खुल्ला गरिएको छ । यसो भनिरहँदा राष्ट्रियाताको कुरा पनि उठ्ला । विदेशी ऋणलाई नेपालमा ल्याउँदा केहि जोखिम रहेको छ । यस जोखिमको जिम्मा बैंकले मात्र होइन निजी क्षेत्रले पनि लिनुपर्दछ । यसमा दुबै क्षेत्र निजी रहेको हुन्छ बैंक पनि निजी क्षेत्र उद्योग पनि ।

हामीले यसमा मध्यस्तता गर्दिन्छौं । हामीले गर्ने भनेको विदेशी रकम आउनमा ढिला गर्दैनौं । रकम आएपछि बैंकमा थुप्रिन दिदैनौँ तर ब्याजमा हामी हात हाल्दैनौं । तपाईहरुले उत्पादन गर्ने मूल्य हामी तोक्दैनौं । हामीले आपूर्तिलाई सहज गर्दिने हो । ब्याजदर तोक्ने काम चाँहि म आफैं राष्ट्र बैंकको गर्भनर हुदाँ पनि गरिन ।

श्रम ऐनमा केही सुधार गर्नुपर्छ, यसमा सरकार सकारात्मक रहेको छ । उद्योग व्यवसाय सञ्चालन ऐन कार्यान्वयनमा जाने तयारीमा छौं । केहि दिनमै छलफल गर्ने छौं । त्यसमा तपाईंहरुलाई पनि सहभागी गराउनेछौं कुन कुरा आवश्यक छ, कुन कुरा अनावश्यक रहेको छ । त्यसको सुझाव दिनुहोस् त्यसपछि हामी अघि बढ्छौं ।

लगानी गर्नेहरुले यति धेरै द्धारबाट जानुपर्छ कि जादाँ जादाँ ८४ घुमेझै घुम्नु पर्ने अवस्था रहेको छ जुन तपाईहरुले भन्दै पनि आउनुभएको छ । यसलाई हामी सूचना प्रविधिमा लैजान खोजिरहेका छौं । यो समस्याको छिट्टै हल हुनेछ । प्रदेशीय ढाँचामा उद्योगलाई केही कानूनी अल्झन आउन सक्छन् । यसका लागि सरकार गम्भीर रहेको छ । लगानी बढाउनका लागि हामीले बजारको माग र प्रविधिको विकास गर्नु जरुरी रहेको छ ।

ऋण दिनको लागि सरकार तयार रहेको छ । तर सरकारले लिएको ऋण भोलि तपाई हाम्रो छोरा नातिले तिर्नुपर्ने हुन्छ । सरकारले लिने ऋण र व्यवसायीले लिने ऋणमा फरक रहेको छ । यसैले सबै पक्ष सचेत हुनु पर्नेछ । अत्यन्तै सृजनात्मकता ढंगले निजी क्षेत्र अघि बढेको छ । यो सकारात्मक कुरा हो । उद्योगले लिने जिम्मेवारी पनि राम्ररी लिनु पर्नेछ । उद्योगले श्रमिकको शोषण गर्नु हुदैंन । वातावरणलाई प्रदुषित बनाउनु हुदैंन । मलाई विस्वास छ यो सबै कुराहरु तपाईहरुले बुझ्नु भएको छ ।

अन्तिममा हामीले संविधानका कार्यान्वयन गर्नु र देशलाई विकासको गतिमा अघि बढाउनु पर्नेछ । हामीले अब स्वदेश मात्र होइन अन्तराष्ट्रिय बजारलाई समेत लक्षित गरी उत्पादन गर्नु पर्छ । दोहोरो करलाई हटाउने हाम्रो तयारी रहेको छ । सम्वभवतः यो छिट्टै कार्यन्वयनमा आउनेछ । विदेशी लगानी हाम्रो देशमा मात्र होइन हाम्रो निजी क्षेत्रले विदेशमा लगानी गर्ने वातावरण पनि हामीले निर्माण गर्छौ ।
(नेपाल उद्योग परिसंघको साधारणसभामा खतिवडाले गरेको भाषणको सम्पादित अंश )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.