नेकपाका वरिष्ठ नेता माधव नेपाललाई ‘शान्ति प्रक्रियाका नायक’ सम्मान

  २०७५ असार १२ गते १०:३२     विकासन्युज

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई गोपाल थपलिया प्रतिष्ठानले सम्मान गरेको छ ।

प्रतिष्ठानले चीतवनमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा हाम्रो भूमिका’ विषयक विचार गोष्ठी तथा प्रतिष्ठानका आजीवन सदस्य सम्मान कार्यक्रममा नेता नेपाललाइई शान्ति प्रक्रियाका नायक र कम्युनिष्ट एकताका हस्तीका रुपमा सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष वसन्तराज कार्की, कार्यक्रमका संयोजक बालकृष्ण शर्मा र प्रतिष्ठानका जिल्ला संयोजक कृष्ण भुर्तेलले दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेका थिए ।

सो अवसरमा नेता नेपालले मुलुकको विकासका बाधकलाई अन्त्य गरी जनताको चाहनाअनुसारको विकास गर्नु आजको आवश्यक रहेको धारणा राखेका थिए ।

अहिलेको सरकार विकास र समृद्धिका लागि कार्य गरिरहेको उल्लेख गर्दै उनले शुरुका वर्षमा विकासका विकारको खोजी गर्ने र अन्य चार वर्षमा विकासका लागि अठोट लिएर सरकार अघि बढ्ने बताए ।

नेता नेपालले भने, “कुराले चिउरा भिज्दैन दही, दूध वा पानी आवश्यक पर्छ, अब जनताले देशको प्रगति चाहेको छ, त्यसैले जनताको त्यो चाहना सरकारको इच्छा शक्ति र अठोटका कारण सम्भव छ ।”

यसका लागि नयाँ विधि र प्रक्रियाबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञावली र केशवलाल श्रेष्ठले देशमा देखिएका समस्यालाई समाधान गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका ५१ जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.