प्रदेश विनियोजन विधेयक बहुमतले पारित

  २०७५ असार ७ गते १७:३३     विकासन्युज

पोखरा । प्रदेश नं ४ प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेका प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैं प्रदेशसभा सदस्यहरूले विनियोजित रकम पारदर्शी हुनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बजेट आत्मनिर्भरतातर्फ उन्मुख बन्नुपर्नेमा जोड दिएका छन् ।

अर्का सदस्य कुमार खड्काले बजेटको विनियोजन शीर्षकगत रुपमा हुनुपर्ने भए पनि त्यो हुन नसकेकोमा गुणासो व्यक्त गरेका छन् । सदस्य हरिशरण आचार्यले शीर्षकगत रुपमा नभई मन्त्रालयको बजेट पोको पारिएको बताउँदै बजेट समान रुपमा वितरण हुनुपर्ने माग गरे ।

यसैगरी सदस्यहरु मणिभद्र शर्मा, पियारी थापा, चन्द्रबहादुर बुढा, कृष्ण थापा, रोशनबहादुर गाहा थापा, मधुमाया अधिकारी, धनमाया लामा पोखरेल, लक्ष्मी सुनार, सरिता गुरुङ, राजिव पहारी, चन्द्रमोहन गौचन र मनकुमारी गुरुङले बजेटलाई पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

छलफलमा उठेका विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बजेटको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्ने विश्वास व्यक्त गरे ।

अर्को बैठक असार १० गते अपरान्ह १ः०० बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.