प्रज्ञा प्रतिष्ठानहरु नगाभ्न महासंघको माग, हस्तकला क्षेत्रको विकासमा अवरोध पुग्ने दावी

  २०७५ जेठ २३ गते १७:४९     विकासन्युज

काठमाडौं । विभिन्न प्रज्ञा प्रतिष्ठानहरु नगाभ्न एकआपसमा नेपाल हस्तकला महासंघले माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तब्यमा नेपालको कला, साहित्य र संगितसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र अन्य साँस्कृतिक प्रतिष्ठानहरुलाई एक आपसमा गाभि एउटै प्रतिष्ठान बनाउने घोषणा गरिएकोमा महासंघले असन्तिुष्टि जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानहरु एकआपसमा गाभिदा हस्तकला क्षेत्रको विकासमा अवरोध पुग्ने महासंघले बताएकाे छ । यी प्रज्ञा प्रतिष्ठाहरुलाई आपसमा नगाभी विषयगत रुपमा हालकै संगठनात्मक स्वरुपमा साधन र श्रोतले सम्पन्न तुल्याई सवल संस्थाको रुपमा विकास गर्न महासंघको जोडदार माग गरेकाे छ।

झट्ट सुन्दा एउटै कार्य प्रकृतिका प्रतिष्ठानहरु आपसमा गाभि एउटा सशक्त प्रज्ञा प्रतिष्ठान गठन गर्नु राम्रो कदम जस्तो देखिन्छ । तर विगतमा एउटै प्रज्ञा प्रतिष्ठानले मुलुकको साहित्य, कला, संगित र नाट्य क्षेत्रको समुचित विकास, विस्तार र प्रवद्र्धन गर्न नसकेको यथार्थ बुझि भिन्ना भिन्नै विधा हेर्ने छुट्टाछुट्टै प्रतिष्ठानहरु गठन भएका हुन् ।

विधागत रुपमा प्रज्ञा प्रतिष्ठानहरु गठन भई उक्त क्षेत्रको विकास, विस्तार, संरक्षण र सम्वद्र्धनको कार्यमा संलग्न हुँदै आएको अवस्थामा नेपाल सरकारबाट चालिएको यो कदमले यस क्षेत्रको विकासमा सकारात्मक भूमिका नहुने महासंघको ठम्याई रहेको छ । सबै विधागत प्रतिष्ठान एकै ठाउँमा गाभ्दा कुनै पनि विधाप्रति समुचित रुपमा ध्यान केन्द्रित नभई त्यो विधाको वान्छित विकास हुन सक्दैन । नेपाल सरकारले केही वर्ष अघि मात्र ललितकला प्रज्ञा प्रतिष्ठानको गठन गर्दा हस्तकला क्षेत्रका कलाकार उद्यमीहरु निकै उत्साही भएका थिए ।

सो प्रतिष्ठान परम्परागत तथा आधुनिक कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको क्षेत्रमा विस्तारै कृयाशील हुँदै थियो । परम्परागत कलाको क्षेत्रमा भने उक्त प्रतिष्ठानले पनि खासै यस क्षेत्रका समस्याहरु सम्बोधन गर्न सकि रहेको थिएन । यस परिस्थितिमा झनै सबै प्रकारका प्रतिष्ठानहरुलाई गाभि एउटै बनाउँदा कला र संस्कृति क्षेत्रको प्रवद्र्धन तथा सम्बद्रधनमा झन् ठूलो क्षति हुने सम्भावना देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.