मन्त्रालय मातहतमा १० वटा विभाग गाभियो, अब ५४ वटा मात्र हुने

  २०७५ जेठ २३ गते १७:०१     विकासन्युज

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।

अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो । मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाँभिएको बताए। काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो ।

मन्त्रालयका उपसचिव सालिक दाहालका अनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू-सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने भएका छन् ।

यसैगरी प्रहरी किताबखाना र विद्यालय-शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो । यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुने मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.