मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ- राजु भट्टराई

  २०७५ जेठ २२ गते १७:१६     विकासन्युज

नेपाली विद्यार्थीलाई जापान गएर अध्ययन गर्ने कार्यमा परामर्श दिने र सहयोग गर्ने कन्सल्टेन्सी हो – इजारा जापनिज ल्याङ्ग्वेज स्कुल । जसलाई विगत केहि वर्ष जापानमै अध्ययन गरेर स्वदेश फर्किएका उत्साहि युवा राजु भट्टराईले सफल रुपमा सञ्चालन गरिरहेका छन् । प्रस्तुत छ इजाराका सञ्चालक तथा प्रिन्सिपल राजु भट्टराईसँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी ।

राजु भट्टराई, सञ्चालक/प्रिन्सिपल, इजारा जापनिज ल्याङ्ग्वेज स्कुल


सामान्य भन्दा अलि फरक किसिमको नाम कसरी जुराउनुभयो कन्सल्टेन्सीको ?

हाम्रो कन्सल्टेन्सीले जापानको मात्र काम गर्छ । हामीले नामाकरण गर्दा जापनिज नाम नै दिन खोजेका थियौं र त्यसै अनुरुप इजारा नाम राखेका हौँ ।

के कारणले नेपाली विद्यार्थी जापान जान रुचाउँछन् ?

जापान संसारकै विकसित राष्ट्रहरुमध्येको एक राष्ट्र हो । जापानको अध्ययन व्यवहारिक छ । पढाइमा मध्यमवर्गको विद्यार्थीहरुले पनि डकुमेन्टेशन राम्रोसँग गरेको खण्डमा जापानको भिषा प्राप्त गर्न सकिने भएकोले नेपाली विद्यार्थीहरुको जापानप्रति आकर्षण बढेको पाइन्छ ।

जापान अध्ययन गर्न गएका विद्यार्थीहरुले कस्ता अवसर पाउँछन् ?

नेपाली विद्यार्थीहरुका लागि चुनौती सँगसँगै अवसरहरु पनि प्रशस्त भएको देश हो जापान । विद्यार्थीहरुले जापान बसाइको क्रममा उच्च शिक्षा सँगसँगै त्यहाँका पुर्वाधार, नीतिनियम, संस्कार लगायत विभिन्न पक्षहरुको वारेमा देख्ने, भोग्ने र जान्ने अवसर प्राप्त गर्न सक्छन् । जापानमा विदेशी विद्यार्थीहरुले हप्तामा २८ घण्टा पार्टटाइम जब गर्दै अध्ययनलाई निरन्तरता दिन सक्छन् । युनिभर्सिटी लेभलसम्मको अध्ययन पूरा गरेपछि स्वदेश फर्केर पनि प्रशस्त अवसरहरु प्राप्त गर्न सक्छन् ।

नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीका लागि के चुनौती छ ?

सर्वप्रथम जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि भाषागत रुपमा दक्ष हुनसक्नु नै नेपाली विद्यार्थीहरुका लागि प्रमुख चुनौति रहँदै आएको छ । त्यसैगरी भिषा आवेदन दिने क्रममा विद्यार्थीहरुले पूरा गर्नुपर्ने कागजि प्रक्रियाहरु पनि अन्य देशको तुलनामा अलि कठिन साबित हुन सक्छ । जापानले त्यस्ता कागजातहरुको अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गर्ने हुनाले गलत किसिमले बनाइएका वा आवश्यक मापदण्ड नपुगेका डकुमेण्टहरुबाट आवेदन दिँदा भिषा रिजेक्ट भएका प्रशस्त उदाहरण हरु छन् । त्यसैगरी जापान पुगिसकेपछि पनि नेपाली विद्यार्थीहरुका लागि नितान्त फरक ठाउँ, भेषभुषा, भाषा, संस्कृति जस्ता कारणले सुरुका केहि दिनहरुमा ससाना चुनौतिहरु आइपर्न सक्दछन् ।

जापान अध्ययन गर्न जाँदा कति खर्च लाग्छ ?

नेपाली विद्यार्थीहरु सामान्यतया जापान जाँदा १ वर्षको फि तिरेर जाने गर्दछन् जुन करिव ७ लाख रुपैयाँको हाराहारीमा हुने गर्दछ । त्यस्तै स्कुलको आ–आफ्नो नियमअनुसार होस्टेल फि तिरेर जानुपर्ने हुन्छ । होस्टेल फि १ वर्षको लगभग ३ लाख रुपैयाँको हाराहारीमा लाग्न सक्छ ।

तपाईंको जानकारीमा जापानबाट कति प्रतिशत विद्यार्थी नेपाल फर्किएका छन् र फर्किएर आएकाले के गरिरहेका छन् ?

नेपालबाट जापान अध्ययन गर्न गएका विद्यार्थीहरु यतिनै प्रतिशत नेपाल फर्किएका छन् भन्ने जानकारी चाहिँ मलाई छैन तर पनि जापानमा सिकेको शिप र मेहनत गर्न सक्ने बानीको सदुपयोग गर्दै स्वदेशमा विभिन्न पेशा तथा व्यावसाय गरेर सफल भइरहेको उदाहरण प्रशस्त रुपमा पाउन सकिन्छ ।

नेपालका विद्यार्थी विदेश अध्ययन गर्न जाँदा नेपालले चाहिँ के प्रतिफल पाउँछ ?

अहिले तत्कालिन रुपमा भन्ने हो भने विद्यार्थी भिषामा जापान मात्र नभई कुनैपनि देश अध्ययन गर्न जानु भनेको आर्थिक रुपमा नेपाललाई घाटा नै हो । किनकी विदेशमा उच्चशिक्षा हासिल गर्न जाने क्रममा धेरै ठूलो धनराशी नेपालबाट बाहिरिने गर्दछ । तर पनि केहि वर्षपछि नेपालका विद्यार्थीहरुले विदेश गएर सिकेका सिप र ज्ञानलाई नेपाल भित्र्याउनेछन् भन्ने दृष्टिकोणबाट हेर्दा भने चिन्ता लिनुपर्ने खासै केहि देखिँदैन ।

विद्यार्थीहरुले इजाराबाट नै किन जापान पढ्न जाने ?

हामीले धेरै विद्यार्थीहरु पठाइसकेका छौँ । म आफै पनि जापान बसेर आएको हुँ । त्यहाँको वातावरण, कानुन अनि स्कुलको अवस्था एकदमै राम्रोसँग बुझेको छु । हामिले अहिलेसम्म जति विद्यार्थी पठायौं उनिहरुबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ । यता उनीहरुका अभिभावकहरु पनि ढुक्क हुनुहुन्छ । हाम्रोमा पढेका विद्यार्थीहरु भाषागत रुपमा पनि अत्यन्तै सवल छन् ।

तपाईंहरुले कस्तो कोर्ष वा पुस्तक पढाएर जापान पठाउने गर्नुभएको छ ?

हामीले मिन्ना नो निहेन्गो पुस्तकको १ देखी २५ लेसनसम्म पढाएर पठाउने गरेका छौँ । त्यसमा बेसिक लेबलका कुराहरु पढाइ हुन्छ । यसले विद्यार्थीलाई सामान्य कुराहरुमा समस्या पर्न दिँदैन । विद्यार्थीले जापान गएर फेरी माथिल्लो लेभलको भाषाको अध्ययन गर्नुपर्ने हुन्छ ।

जापान अध्ययन गर्न जाने सोच बनाएका विद्यार्थीहरुका लागि के सुझाव दिनुहुन्छ ?

यदि कोही विद्यार्थी जापान अध्ययन गर्न चाहिरहेको छ भने उसले पहिला सहि परामर्श दिन सक्ने कन्सल्टेन्सीको छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि राम्रोसँग भाषा अध्ययन गर्न जरुरी छ । यति गर्न सकेको खण्डमा मात्र उसले जापानमा गएर अध्ययन गर्ने आफ्नो सपना लाई विना कुनै झन्झट नै साकार पार्न सक्छ । वास्तवमा मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.