अल्फाविटाको ४९ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दैछौं- द्विराज शर्मा

  २०७५ जेठ २२ गते ११:०४     विकासन्युज

अल्फाविटा नेपालको पुरानो र अग्रणी एजुकेशन कन्सल्टेन्सी हो । २७ वर्ष पुरानो यस कन्सल्टेन्सीबाट ४० देशका २५० भन्दा बढी कलेजमा हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थीहरुले शैक्षिक परामर्श सेवा लिइरहेका छन् । अल्फाविटालाई विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श सेवा दिने कम्पनी बनाउने र त्यसलाई पब्लिक लिमिटेड कम्पनी बनाउने सोचका साथ काम अगाडि बढिरहेको बताउने अल्फाविटा ग्रुपका कार्यकारी अध्यक्ष द्विराज शर्मासँग सीमापारीको शिक्षाको महत्वको साथै अल्फाविटाको भावी योजनाबारे गरिएको विकास वहस यस पटक ।

कार्यकारी अध्यक्ष, अल्फाविटा ग्रुप

२७ वर्षअघि अल्फाविटा एजुकेशन कन्सल्टेन्सीको स्थापनाको सोच कसरी आयो ?

यस संस्थाको स्थापनाको क्रममा जोडिएको एउटा ऐतिहासिक पक्ष म जोड्न चाहान्छु । मेरो बुबा शिवप्रसाद शिवाकोटी झापा विद्रोहमा क्रियाशिल हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनाली सबै राजनीतिमा सँगै हुनुथ्यो । २०२८ सालमा उहाँलाई राजद्रोह मुद्दा लाग्यो । २०२९ सालमा उहाँ भारत निर्वासित हुनुभयो । झापामा भएको हाम्रो सबै सम्पत्ति राष्ट्रिय करण भयो ।

२०४६ सालको आन्दोलनपछि हामी सहपरिवार नेपाल फर्कियौं । बुबाविरुद्ध लागेको राजद्रोहको मुद्दा फिर्ता भयो । सरकारले क्षतिपूर्ति स्वारुप ५ लाख रुपैयाँ हामीलाई दियो । साथै बुबाको काकाको छोरा गंगा उप्रेति (हाल प्रज्ञा प्रतिस्ठानको उपाध्यक्ष) ले केही रकम सापटी दिनुभयो । त्यहि पैसाले दाई युवराज शर्माको अगुवाईमा एल्फाविटा शुरु गरिएको हो । त्यतिबेला कन्सल्टेन्सी थिएन । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पनि अल्फाविटामा नै कम्प्यूटर सिक्नु भएको हो । कोचिङमा पनि साइन्सको कोचिङ बढी पढाउने उदेश्यले अल्फाविटा नाम राखिएको थियो । पुरुषोत्तम विष्टले नाम जुराउनु भएको । हामी त्यतिबेला पार्टरन थियौ । अहिले सबै पार्टनरहरुले छोड्नु भयो र म एक्लै छु ।

तपाई यस कन्सल्टेन्सीको व्यवसायमा केन्द्रीत हुनुको कारण ?

म सन् १९९६ मा भारतबाट नेपाल आएको थिएँ । ६ महिना दाईले शुरु गरेको व्यवसायमा सहयोग गरे । त्यसपछि पढ्न सिंगापुर गएँ । मार्केटिङ, पब्लिक सिलेशनमा पोष्ट ग्राजुएट गरेँ ।

मलाई सिंगापुर लैजान अञ्जना दिदी (सरदचन्द्र शाहको श्रीमती) ले सहयोग गर्नु भएको थियो । सिंगापुरमा मेरो एक जना साथी फुतुफुतु नेपाल आउने र सिंगापुर जाने गरेको देखेँ । मलाई एक पटक घर (नेपाल) आउन पनि धेरै गाह्रो हुने । पछि मैले थाहा पाएँ उनी नेपाली विद्यार्थीलाई सिंगापुरमा भिसा मिलाउने काम गर्दा रहेछन्, त्यसैबाट राम्रो पैसा आम्दानी हुँदो रहेछ ।

मैले सोचेँ –म त झन् सिंगापुरमा नै बसेर पढेको । मेरो चिनजानको नेटवर्क झ्न ठूलो छ । अर्काको देशमा पीआर, सिटिजनसिपको लागि संघर्ष गर्नुभन्दा नेपालमा नै फर्कन्छु भनेर सोचे । मैले मेरो परिवार पनि मिस गरिरहेको थिए । दाजुभाई पनि सँगै बस्न नपाउने । मेरी श्रीमती, त्यतिवेलाकी गर्लफ्रेड पनि काठमाडौंमा नै बस्ने ।

सन् २००१ मा मैले काठमाडौं फर्कन निर्णय गरेँ । काठमाडौं फर्कदा मसँग ५०० डलर थियो । त्यतिबेला दाई युवराजले डनबस्को कलेजलाई बढी समय दिनुभएको थियो । अल्फाविटा बेच्यो भने पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो । मैले शुरुमा सिंगापुर विद्यार्थी पठाउन थाले । पछि चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया हुँदै अहिले करिव १५ देशका २५० वटा यूनिभर्सिटीमा विद्यार्थी पठाउँछौं । उनीहरुले हामीलाई विश्वास गरेका छन्, उनीहरुको एजेन्टको रुपमा हामीले काम गरिरहेका छौं ।

सिंगापुर पढ्दा काठमाडौंमा गल्फ्रेड कसरी बनाउनु भयो ?

मञ्जु ओली (हाल शर्मा)लाई मैले डनबस्कोमा भेटेको । उनीकी बहिनी त्यहाँ पढ्थिन, बहिनीसँगै आउँदा उनलाई चिनेको । पछि हाम्रो सम्बन्ध राम्रो भयो । पछि उनले डनबस्कोमा पढाइन पनि । विवाह भएपछि हामी काम पनि सँगै गर्न थाल्यौ । आँट थियो भएङ्कर । दुबै जना मिलेर काम गर्न थालेपछि संस्था पनि बलियो भयो । उनी हाल अल्फाविटामा प्रबन्ध निर्देशकको भूमिकामा छिन् ।

तपाईहरु दुई जनाको प्रेम र व्यापार सँगै मौलाएछ, होइन ?

हो । हामी सँगै अगाडि बढेका छौं । हाम्रो ग्रोथ अर्गानिक छ । हामी अहिले पनि विगतको समिक्षा गर्छौ । मञ्जुले ममा अलि परिवर्तन आएको बताउँछिन् । म एरोगेन्ट भए रे, अरुलाई नटेर्ने, अलि अप्ठ्यारो, अलि बढी रिसाउन थालेको छु रे म ।

रिसाउने घरमा कि अफिसमा ?

यस्तो भयो, जिम्मेवारी बढ्यो । प्रेसर हुन्छ । कम्पनीको ग्रोथसँगै हाम्रो सोच पनि परिवर्तन हुनुपर्यो । १५ वर्षअघिको सोचले त अफिस चल्दैन । संस्थागत किसिमले जानुपर्यो । हामी भन्दा धनीका छोराछोरी हाम्रो अफिसमा आएर काम गरेका हुन्छन् । उनीहरुको सोच अनुसार हामी परिवर्तन हुनुपर्यो । ५०० सय डलर (२५÷३० हजार रुपैयाँ) बाट शुरु भएको यो व्यवसाय अव त धेरै अगाडि बढिसक्यो ।

अल्फाविटाको अहिलेको भ्यालु कति हो ?

त्यो हिसाव नै गर्नुपर्छ । अल्फाविटाको ब्राण्ड भ्यालु पनि करोडौंको हुन्छ । जग्गा, भवन लगायत सम्पत्तिको मूल्य पनि धेरै हुन्छ । करिव १० अंकमा होला । त्यसमा बैंकको ऋण पनि हुन्छ ।

वार्षिक व्यापार कति हुन्छ ?

अल्फाविटा कन्सल्टेन्सी मात्र होइन, बैंङकेट छ, यससँग सम्बन्धित अरु विजनेश पनि छन् । राम्रो छ, ग्रोथ छ । पहिला हामी पाँच दाजुभाईको सँगै लगानी थियो । ठूलोदाई भीष्मले म्यानपावर कम्पनी चलाउनुहुन्छ । माइलोदाई र यूवराज दाईले ह्वाइटहाउस कलेज, स्कूल चलाउनु हुन्छ । कान्छो भाईले अष्ट्रेलियमा कलेज चलाउँछ । अहिले अल्फाविटा मैले मात्र हेर्छु । कामको प्रेसर मलाई बढी छ ।

४ अंकको व्यापारलाई १० अंकमा पुर्याईसक्नु भयो । अब किन प्रेसर लिने ? धनी भएपछि, ठूलो व्यवसाय गरेपछि आनन्द हुनुपर्ने होइन र ?

बजारमा प्रतिस्पर्धा छ । निश्चित टार्गेट लिएर काम गर्नुपर्छ । टार्गेट पूरा गर्ने प्रेसर हुन्छ । प्रविधिमा ठूलो परिवर्तन आएको छ । अष्ट्रेलियाको कलेजले काठमाडौंबाट अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई सोझै तान्न सक्छ । एकसे एक स्र्माट केटाहरु बजारमा आएका छन् ।

सिगापुरबाट म नेपाल फर्कदा विदेशबाट नेपाल फर्कने म मात्र हुँ कि जस्तो लाग्थो । अहिले धेरै नेपाली विदेशमा टन्नै पैसा कमाएर नेपाल आएका छन्, उनीहरुले लगानी गरिरहेका छन् । धेरै पैसा कमाउनेहरु आक्रामक रुपमा लगानी गर्छन् । पैसा धेरै कमाएपछि हौसिएर लगानी गर्न आउनेहरु अन्तिममा डुब्ने नै हुन् । तर उनीहरुले बजार विगार्छन् । त्यसको नकारात्मक असर हामीले पनि बेहोर्नुपर्छ । यी चुनौतिहरु मैले देखेको छु । साथै मैले अरु धेरै काम गर्नुछ ।

तपाईको कर्पोरेट ड्रिम के हो ?

अल्फाविटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहान्छु । यो कम्पनीमा शुरुमा बुबाको लगानी रह्यो । दाईले काम शुरु गर्नुभयो । अहिले मैले यो कम्पनी समालेको छु र कम्पनी राम्रो भईरहेको छ । यो कम्पनी अझै बलियो र राम्रो होस् भन्ने सोचसहित यस कम्पनीलाई पब्लिक कम्पनी बनाउने योजना बनाएको छु । वार्षिक ५० करोडभन्दा बढीको कारोबार हुन थालेपछि ५१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सोच छ । ४/५ वर्षभित्र तपाई पनि यो कम्पनीको सेयरधनी बन्न सक्नुहुन्छ । पब्लिक कम्पनी बनाउने उदेश्यले यस कम्पनीको संस्थागत विकास गर्न, कम्पनीलाई पारदर्शि र विश्वसनिय बनाउन गर्नुपर्ने कामहरु थालिसकेको छु । करमा क्लियर हुने, डकुमन्टेहरु सहि तरिकाले बनाउने, राख्ने काम थालिसकेको छु । त्यसबाट आएको पैसाले होटल वा सिमेन्ट उद्योगमा लगानी गर्ने सोच बनाईरहेको छु ।

तपाई शिक्षा क्षेत्रमा भिजेको मान्छे, देश विदेशको शिक्षा बुझेको मान्छे । तर अल्फाविटाको सेयर बेचेपछि त्यो पैसा किन होटलमा वा सिमेन्टमा लगानी गर्ने ? किन नेपालमा अन्तराष्ट्रिय स्तरको स्कूल वा कलेज खोल्न लगानी नगर्ने ? किन विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण नबनाउने ?

त्यो पनि गर्ने मेरो मन छ । तर मलाई के पनि लाग्छ भने शिक्षामा भन्दा होटलमा वा उत्पादन मुलक क्षेत्रमा लगानी गर्यो भने त्यसमा बढी राम्रो गर्न सक्छु । फेरि मलाई के थाहा छ भने शिक्षा क्षेत्रमा पैसा कमाउन सकिदैन । नयाँ नयाँ लगानी गर्दै जानुपर्छ । उद्योगबाट पैसा कमाइन्छ । बरु उद्योगबाट राम्रो पैसा कमाईयो भने त्यसपछि शिक्षा क्षेत्रमा लगानीगर्दा राम्रो हुन्छ । त्यसले इज्जत पनि दिन्छ ।

हो, शिक्षा क्षेत्रमा गरिएको लगानीलाई इज्जतसँग जोडेर हेरिन्छ । तर नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले धनीका छोराछोरी र अलि बढी क्षमता भएका युवालाई एजुकेशन भिषाको नाममा विकशित देश पठाउने तर वास्तविक अर्थमा म्यानपावरको भूमिका खेल्छन् भन्ने आरोप पनि लागेको छ नि ?

नबुझेका मान्छेहरु त्यस्तो भन्छन् । बरु समस्या कहाँ छ भने ९० प्रतिशत एजुकेशन कन्सल्टेन्सीहरु विद्यार्थीको करिअर काउन्सिलिङ गर्दैनन्, कलेज काउन्सिलिङ गर्छन् । अधिकांश एजुकेशन कन्सल्टेन्सी सञ्चालकको छ भने उनीहरु विदेशमा पढ्न जान प्रयास गरे, तर भिषा पाएनन् । अलिअलि मेसो बुझे, अनि आफै एजुकेशन कन्सल्टेन्सी खोले । त्यहाँभित्र समस्या छ । तर मलाई कसैले तपाईले भनेजस्तो आरोप लगाउँछ भने म उसलाई मुखभरी जवाफ दिन्छु । अल्फाविटाको कुरा गर्नुहुन्छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत देशमा पढेर नेपाल फर्केकाहरु छन् । म आफै विदेशमा पढेर आएको हुँ । हामीले विदेश पठाएका विद्यार्थीहरुको करिअर विग्रेको हामीले देखेका छैनौ । त्यही भएर हामीकोमा विद्यार्थीहरुको भीड लाग्छ ।

पढ्नका लागि विदेश नै किन जानु पर्ने ?

विदेशका विश्वविद्यालयहरुको क्रेडिविलिटी बढी हुन्छ । विदेशमा पढ्दा धेरै देशको साथीहरु हुन्छन् । त्यो नेपालको क्लासमा पाइदैन । म पनि सिंगापुरमा बसेर नपढेको भए लाटो नै हुन्थे होला । त्यहाँ मैले धेरै देशका साथीहरुसँग संगत गरे । उनीहरुबाट मैले धेरै कुरा सिकेँ ।

नेपालीहरु विदेशमा पढ्न जानुलाई ब्रेन ड्रेन भनेर आलोचना गरिन्छ । त्यो मूर्खहरुले गर्ने आलोचना हो । विदेश जानु भनेको ब्रेन गेइन गर्नु हो, ब्रोन ड्रेन होइन । नेपाललाई माया गर्नको लागि नेपाल नै बस्नुपर्छ भन्ने छैन । अमेरिका वा युरोप जहाँ बसेर पनि नेपालको हितमा काम गर्न सकिन्छ । नेपालमा बसेर अमेरिकाको कम्पनीको काम गर्न सकिन्छ ।

आफ्नो छोराछोरीको भविष्यबारे के सोच्नु भएको छ ?

दुई छोरी र एक छोरा छन् । उनीहरु नेपालमा नै पढिरहेका छन् । तर उनीहरुलाई मैले विदेश देखाएको छु, घुमाएको छु । उनीहरुले विदेशको सुखदुःख सबै देखेका छन् । उनीहरु पढ्न विदेश गए पनि काम नेपालमा नै गर्छन । मैले छोराछोरीलाई भनेको छु कि देशलाई आवश्यक पर्यो भने एक जना राजनीतिमा पनि जानुपर्छ । विदेश बसेर अंग्रेजीमा नेताहरुलाई गाली गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.