दश महिनामा पाैने १० खर्बकाे अायात हुँदा साढे ६६ अर्बकाे निर्यात, ब्यापार घाटा ९ खर्ब नाघ्याे

  २०७५ जेठ २१ गते १४:१६     विकासन्युज

काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्दै आयात घटाउने भनिरहदा गएको दश महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालय, भन्सार विभागको अनुसार साउनदेखि यता वैशाखसम्ममा विभिन्न मुलुकबाट नेपालमा ९ खर्ब ८२ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएको छ भने निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको छ । आयात र निर्यातलाई तुलना गर्दा व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

गएको आर्थिक वर्षको सोही अबधिमा उक्त व्यापार घाटा ७ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो । गएको आर्थिक वर्ष २०७३/७४ को दश महिनाको अबधिमा मुलुकबाहिरबाट आयात ८ खर्ब हुदा निर्यात ६० अर्ब रुपैयाँको मात्रै भएको थियो । त्यासको तुलनामा यो आर्थिक वर्ष व्यापार घाटा गएको वर्षभन्दा २२.७२ प्रतिशत बढेको छ ।

सबैभन्दा बढी भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा ६ खर्ब ४९ अर्ब रुपैयाँको आयत हुदा निर्यात ३८ अर्ब रुपैयाँको मात्रै भएको छ । दोस्रोमा चीनसँग १ खर्ब २४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गएको दश महिनामा नेपालबाट चीनमा १ खर्ब २७ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएकोमा निर्यात २ अर्ब ६६ करोड रुपैयाँको मात्र गर्न सकिएको विभागको भनाइ छ ।

विभागको तथ्याङकअनुसार गएको दश महिनामा सबैभन्दा बढी आयात भारतबाट भएको छ । कुल आयातको ६६.१ प्रतिशत वस्तु भारतबाट मात्रै आयात गरिएको देखिन्छ । सबैभन्दा बढी निर्यात पनि सोही देशसँग ५७.२ प्रतिशत भएको छ ।

त्यस्तै सो अबधिमा दोस्रो बढी आयात गरिएको मुलुक चीन हो भने निर्यात यूएसएमा भएको छ । कुल आयातको १३ प्रतिशत चीनबाट आयात भएको छ भने कुल निर्यातको ११ प्रतिशत यूएसएमा निर्यात नेपालबाट विभिन्न वस्तुहरुको निर्यात गरिएको छ ।

विभागको अनुसार गएको दश महिनामा मुलुकमा कुल १० खर्ब ४९ अर्ब रुपैयाँको व्यापार भएको छ । त्यसमा आयतको हिस्सा ९४ प्रतिशत छ भने निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ । आयात र निर्यातको अनुपात १४ गुणा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.