१० वर्षपछि विदेशबाट विद्यार्थी नेपाल पढ्न आउने सम्भावना छ-विष्णु पोखरेल

  २०७५ जेठ २० गते १५:१४     विकासन्युज

बोस्टन एजुकेशनल सर्भिस प्रा.लिका प्रबन्ध निर्देशक विष्णु पोखरेल विगत १३ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय छन् । लामो शसस्त्र द्वन्द्व, राजनीतिक संक्रमण, अस्थायीत्वले भविष्यप्रति निरास भनेर नेपाली युवा विदेशीने दिन विस्तार परिवर्तन हुने उनको विश्लेषण छ । विगतमा विदेशमा अध्ययन गर्ने जाने विद्यार्थी मध्ये फाट्टफुट्ट मात्र नेपाल फर्कने गरेकोमा अब विदेशमा शिक्षा लिएपछि नेपाल फर्कने क्रम बढ्ने र अागामी १० वर्षपछि शैक्षिक परामर्शदाताहरु विदेशी विद्यार्थी नेपाल ल्याउने दिशामा जान सक्ने उनको विश्लेषण छ । प्रस्तुत छ विष्णु पोखरेलसँगको कुराकानी ।

विष्णु पोखरेल, प्रबन्ध निर्देशक-बोस्टन एजुकेशनल सर्भिस प्रा.लि.

शैक्षिक परामर्श सेवा सञ्चालन गर्नुभएको कति भयो ?

अफिसियली २००६ बाट शुरु गरेको हो । त्योभन्दा अघि डेनमार्कको एउटा कलेजसँग एशोसिएट थिएँ । एकजना डेनिस केयर नेपालको प्रतिनिधि हुनुहुन्थ्यो । उनी आफ्नो देशको एक स्कूलमा एशोसियट रहेछन् । उनले डेनिस ल्याङ्ग्वेज पढ्न नेपालदेखि विद्यार्थी जान चाहन्छ भने मेरो कलेज छ भनेर मलाई भने । त्यसपछि मैले २/४ जना विद्यार्थीहरु पठाए । ४ देखि ६ महिनाको ल्याङ्ग्वेज कोर्ष गरेर उनीहरु त्यहाँको युनिभर्सीटीमा अध्ययन गर्न सक्ने स्थिति हुन्थ्यो ।

डेनिस ल्याङ्ग्वेज फाउन्डेसनको रुपमा पढ्ने हो । त्यसपछि युनिभर्सीटी, कलेज पढे विद्यार्थीहरुलाई जागिर खान धेरै सजिलो हुन्थ्यो । स्थानीयहरुसँग भिज्नका लागि पनि धेरै सहज हुन्थ्यो । पछिल्लो समयमा त्यसरी ल्याङ्ग्वेजको लागि गएपछि युनिभर्सीटीहरुले १ वर्षको शुल्क शुरुमै लिने चलन आयो । रकम पनि उच्च भएकोले विद्यार्थीहरुलाई जानको लागि हामीले नै डिस्करेज गरेका छौं ।

डेनमार्कमा १/२ वटा कलेजले मात्रै सिधै विद्यार्थी लिन्छन् । उक्त देश विद्यार्थीको लागि सुरक्षित छ । डेनिसहरु धेरै फ्रेण्डली हुन्छन् । अपराध भन्ने हुँदैन । भष्टाचार जिरो, देश राम्रो छ ।

डेनमार्कमा कति छन् नेपालीहरु ?

पहिले करिब ३/४ हजार भएकोमा अहिले विद्यार्थीहरु गएर त्यहीँ सेटल भएका छन् । सन् २००७ देखि सेटल भएर पीआर लिएर बसेकाहरु गरी करिब १० हजार पुग्लान् । शुरुका दिनहरुमा त्यहाँ नेपालीहरुले धेरै संघर्ष गर्नु परेको थियो । अहिले उच्च ओहोदा बैंक, आईटी लगायतको छुट्टाछुट्टै कम्पनीमा नेपालीहरु कार्यरत छन् । त्यतिमात्रै होइन राजनीतिमा पनि नेपालीहरु स्थापित भएका छन् । त्यहाँको स्थानीय राजनीतिमा नेपालीहरु सहभागी भएको अवस्था छ ।

पढ्न जाने मध्ये कति नेपाल फर्कन्छन् ?

मैले २००५ मा पठाएको विद्यार्थीहरुमध्ये मलाई थाहा भएसम्म २/४ जना मात्रै फर्केका छन् । किनभने कोही त्यहाँबाट पढ्न नसक्ने विद्यार्थीहरु पोर्चुगल स्पेनतिर गएका देखिन्छन् । कति फ्रान्सतिर गएर त्यहाँका आर्मी भएको देखिन्छ । पढ्ने विद्यार्थीहरु राम्रो अध्ययन गरेर ग्रीनकार्ड लिएर डेनमार्कमै बसेका छन् । जो पढ्न नसक्ने विद्यार्थीहरु अन्य देशतिर डाइभर्ट भएको अवस्था हो ।

पढन् विदेश जाने नेपालीहरु पछि नेपाल नफर्कनुको कारण राजनैतिक अवस्था पनि हो । विगतमा १० वर्ष सशस्त्र द्वन्द्वमा देश रोमलियो । सो समय नेपालमा शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी नभएको कारणले गएको नेपालीहरु फर्कन चाहेनन्, त्यतै बसे ।

पछिल्लो समय राजनीतिक अवस्था सुध्रिदै गएको छ , शान्ति छाएको छ, अध्यारोदेखि उज्यालोतिर देश अघि बढेको छ । विगतमा भविश्य नदेखेर विदेश गएकाहरु अब नेपाल फर्कने कुरा गर्दैनन् ?

म बीच–बीचमा विदेशमा यात्रा गरिरहन्छु । दुई महिनाअघि मात्रै यूएसबाट आएको हुँ । यूरोप गइरहन्छु । विदेशमा बस्ने नेपालीहरु वामगठवन्दनदेखि आशावादी छन् । नेपालमा केही राम्रो भयो भने कति आउलान् । सबै होइन, ५/१० प्रतिशत नेपाली फर्कन राजी छन् ।

त्यहाँ स्थापित भइसकेकाहरु कि एनआरएनएको रुपमा व्यापार गर्न आउन तत्पर छन् अथवा राजनैतिक पहुँच देखाउन आउन तत्पर छन् । सर्वसाधारण जो स्थापित नभएका आउछन् । सबै फर्कदैनन् । नेपालीहरु धेरै जसो विदेशमा आफ्नै विजनेश गरेर स्टाब्लिस्ट भएका छन् ।

२०४६ पछि नेपालबाट सर्वसाधारणहरु विदेश जान थालेका हुन् । विगतमा राणाहरु जान्थे । सर्वसाधारणहरु पछि मात्र जान थालेका हुन् । सर्वसाधारणहरु गएका देशमा शुरुमा उनीहरुको अवस्था दयनिय थियो । अहिले आएर नेपालीहरु उच्च पहुँचमा पुगेका छन् । अाफूले काम गर्ने, सिक्ने अनि विजनेश स्टाब्लिस्ट गर्ने गरेका छन् । त्यहाँ विजनेशको सिस्टम छ । उनीहरु एउटा सिस्टममा बसिसकेकोले नेपाल आएपछि घुलमिल हुन समय लाग्छ । हाम्रोमा सिस्टमको विकास हुनु पर्यो ।

अहिले काठमाडौं उपत्यकामा धुलोले हिड्न नसक्ने अवस्था छ । धुलाम्य हुन्छ । नेपालमा सिस्टम बसेको छैन । सिस्टममा देश आयो, वातावरण राम्रो भयो भने उनीहरु फर्कन चाहन्छन् । विकसित देशको जस्तो सुविधा नेपालमा पनि हुनुपर्यो ताकि नेपालीहरु विदेश नजाउन् ।

डेनमार्कमा सहजै सिस्टमको माध्यमले ट्याक्स उठ्छ । नेपालमा त्यस्तो छैन । यहाँ विभिन्न ढनाढ्य, विजनेशम्यानहरुले कर छलेको कुरा बाहिर आएको छ । पटक पटक करफछ्र्याैट आयोग बन्छ । मलाई लाग्छ, दुनियाँमा कँही पनि यस्तो आयोग हुँदैन ।

सरकारले यी सबै पाटोहरु सुधार गरेर विदेशमा बसेका नेपालीहरुलाई लगानी गर्न आग्रह गर्दै, सुरक्षाको पनि ग्यारेन्टी दियो भने आउन सक्छन् । सबैले पहिले आफुलाई हेर्ने हो, अनि परिवार । त्यसपछि देशलाई । देशले त्यो वातावरण तयार गरिदिनु पर्छ ।

आफूले विदेशमा पठाएको विद्यार्थीको प्रगतिबाट लोभिएर तपाईलाई पनि विदेश जान मन लाग्दैन ?

त्यस्तो सोच नआउने होइन तथापी विभिन्न जिम्मेवारी छन् । मैले देशमा बस्नु पर्छ । जानेको कुरा बताउनुपर्छ भनेर म यही बसेको हुँ । म राजनैतिक पार्टीसँग पनि जोडिएको छु । मेरो पनि बाध्यताहरु छन् ।

त्यसको सट्टा विदेशमा देखेको, सुनेको कुरा ल्याएर नेपालमै सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । शुरुका दिनहरुमा म कन्सल्टेन्सी व्यवसाय गर्छु भनेर सोचेको थिइन । मैले विदेश जानकै लागि गरे । मेन्टालिटी त्यतै गएकोले सिकेँ । त्यसै सन्दर्भमा २००६ मा म यूरोप घुमे । यूरोप घुम्ने मौका पाएँ । त्यहाँ मैले विभिन्न अध्ययन गरे ।

समग्र अध्ययन गर्दा म मेरै देशमा बसेर केही गर्छु भनेर नेपालमा बस्ने निर्णय गरेको हुँ । मलाई घुम्न जान मन लाग्छ । तर उही नै बस्नुपर्छ भन्ने सोच अहिलेसम्म पलाएको छैन । अहिले ४० वर्षको भए । अब यो उमेरमा त्यहाँ विदेश गएर सेटल हुन्छु जस्तो पनि लाग्दैन ।

म समृद्धिमा जोडिन चाहे । व्यवसाय छ । वेस्टेन एजुकेशन सर्भिसेस चलाउछु । राजनीतिलाई सेवाको रुपमा हेरेको छु । मलाई पद लोलुप्ता छैन । विगतको स्थानीय निकायमा म मेरो स्थानीय ठाँउमा अहिले नेतृत्वमा पुगकाे दलको पक्षबाट मेयरमा पनि मोरङको रतुवामाई नगरपालिकामा सिफारिस आएको हो । तर मैले लिदिन भने । जहाँ आफू बसिन्छ त्यहाँ राम्रो गरौं । बसिदैन राम्रो नराम्रो नगरौं भन्ने मेरो सोच हो ।

राजनैतिक कार्यकताहरु आर्थिक समृद्धिमा जोडिनुपर्छ, पार्टीले त्यहि नीति लिएको छ । मन्त्रालय फाइल बोकेर कुद्नुभन्दा, कुनै ठाँउ चन्दा उठाएर समय वर्वाद गर्नुभन्दा केही न केही व्यवसाय गरेर रहेको समय राजनीतिमा लगाउनु पर्छ भन्ने मेरो सोच हो । त्यसबाट सेवा मिल्छ ।

सरकारले नेपालमै रोजगार दिन्छु, विदेश गएकालाई फर्काउछु भन्छ । विदेशमा पढ्न गएका नेपालीहरु अब नेपाल फर्कन्छन् होला ?

अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले जुन रुपमा आफूलाई अगाडी बढाइरहेका छन् । निश्चित रुपमा मुलुकमै राम्रो भयो भने कोही पनि विदेश जादैनन् । अबको १० वर्षमा यो इण्डस्ट्रिज अहिलेको जस्तो हुदैन । विगत १० वर्षमा भएको द्वन्द्वको कारणले अहिले यस्तो भएको हो । धरैले विदेशको बाटो रोजे ।

२०४६ सालपछि बहुदल आयो । देश गिरिजाप्रसाद कोइरालाको हातमा पुग्यो । त्यसपछि सशस्त्र द्वन्द्व शुरु भयो । कोइरालाले जुन ट्रयाकमा देशलाई अगाडी बढाउन पथ्र्यो त्यसो गर्न सकेनन् पछि प्रचण्डको उदय भएपछि पनि देश ट्रयाकमा आएन, उनले पनि ल्याउन सकेनन् ।

अहिले केपी ओली र प्रचण्डले नै महशुस गरेर वामगठवन्दनको सरकार बनाएका छन् । अहिले उनीहरुले भने जसरी नै देश अघि बढ्ने हो भने अबको १० वर्षसम्म कन्सल्टेन्सी त रहला तर अहिले जस्तो काम नगर्ला । त्यसको ठिक उल्टो नेपालबाट विदेश जानेभन्दा पनि विदेशबाट नेपाल आउनेहरुकोे लागि कन्सल्टेन्सीको जिम्मेवार समाल्लान् ।

हाम्रो देश सुन्दर छ । यहाँ शिक्षाको हब बनाउन सक्छौं । त्यसरी अघि बढाए भारतको बिहार, युपी, दिल्ली बंलादेशको ढाका मात्रै नभएर यूरोपीयन मुलुकहरुबाट पनि नेपालमा विद्यार्थीहरु पढ्न आउन सक्छन् । विदेश जाने संख्या घट्ला आउने बढ्न सक्छ ।

हाम्रो देशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्कुल, कलेज युनिभर्सीटीको विकास गर्ने हो भने विश्वका विद्यार्थीहरुलाई आकर्षण गर्न सकिन्छ । तर अहिलेकै करिकुलम, इन्फास्ट्रक्चरले हामी केही गर्न सक्दैनौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.