यसरी मनाइयो टुडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)

  २०७५ जेठ १५ गते १२:०६     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक÷एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए।

समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए ।

कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.