छोराले बाऊ जन्माएपछि धेरै वर्ष बोलचाल भएन, पशुपतिका कारण भवानीले गोल्डेन चान्स पाइन्: गणेशभक्त शाखः

  २०७५ जेठ १३ गते १२:३३     विकासन्युज

गणेशभक्त शाखः, अध्यक्ष–शाखः समूह

सोल्टी होटलमा आयोजित एक रात्रीभोजमा उद्यमी किरणकुमार शाखःले आफ्नो ८९ वर्षिय बुबाको सक्रियता, निर्णय क्षमता, स्मरणशक्तिको चर्चा गर्दै अझै बुबाको सहमति नलिई अफिसका कुनै पनि निर्णय नहुने कुरा सुनाउँदै थिए । त्यसपछि हामीले गणेशभक्त शाखसँग अन्तरवार्ता लिने सोच गर्यौं र समय लियौ ।

तिनकुने स्थित शाखः समूहको कार्यलय पुग्दा गणेशभक्त शाखः मिटिङमा थिए । केही बेर कुरापछि उनको कक्षमा छिर्यौं । हामी छिर्दा उनी दराजमा फाइल मिलाउँदै थिए । व्यवसायिक घरानाको अफिस, दिनभर घाम छिर्ने ठूलो कोठा, त्यसभित्र अनगिन्ती फाइलहरुले भरिएका दराजहरु ।

उनी यस्तो व्यवसायी कि आफूलाई चाहेको फाइल आफै दराजभित्रबाट झिक्ने, काम सकिएपछि आफै राख्ने । सहयोगी नचाहिने । विज्ञानले पुष्टि गरेको छ धेरै हात चलाउने, नाङगो खुट्टाले हिड्ने मानिसको स्मरण शक्ति तेजिलो हुन्छ । गणेशभक्त शाखःमा त्यो देखियो ।

हामीले कुराकानी शुरु गर्यौ उमेर र सक्रियताबाटै ।

कति वर्ष हुनुभयो ?

८९ वर्षको भएँ ।

८९ वर्षीय मान्छे, यति ठूलो उद्योगको मालिक, अब पनि आफै फाइल बोकेर हिड्नुहुन्छ ?

फाइल बोकेर कुदिरहने इच्छा छैन । तर एक दुईटा पुराना फाइल आफैले चलाईरहेको छु, त्यसको लागि आफै जानुपर्छ । आफै गयो, तपाई आफै किन आउनु पर्यो ? भन्छन् । आफू नगई काम हुँदैन । नगई उपाय पनि छैन ।

मैले अफिसको काम धेरै छोडिसेके । अफिसमा अचेल म ढिला आउँछु । नआउँ भने कहाँ जाने ? खान खाएपछि कहाँ जाने ? अफिस आयो । पत्रपत्रिका पढ्यो । भेट्न आउनेहरुसँग भेट्यो, कुरा गर्यो । एक/दुईवटा काम गर्यो ।

अब छोराहरुलाई जिम्मेवारी सुम्पने बेला भएन ?

उनीहरुले नै हेर्छन् अहिले ।

कसले के हेर्छन् ?

जेठा छोरा किरण, गार्मेन्टमा काम गर्यो । गार्मेन्ट उत्पादक संघ, उद्योग वाणिज्य महासंघका काम ग¥यौं । उसलाई धेरैले चिन्छन् । माइलो छोरा तेज, उसले सिमराको फ्याक्ट्री हेर्छ । साइला प्रभातले औषधि उद्योग हेथ्र्यो, ऊ बित्यो । चौथो छोरा विश्व, ऊ केमिकल इन्जिनियर हो । उसले भक्तपुरको पेन्ट, मेटल फ्याक्ट्री हेर्छ । कान्छो छोरा ज्योतिप्रकाशले सबै फ्याक्टीको नगद प्रवाह, फाइनान्स, बैकिङ हेर्छ ।

छोरीहरु नि ?

तीन छोरी छन् । एउटा छोरी पञ्चकन्याको प्रदीपकुमार श्रेष्ठलाई दिएँ । अर्की छोरी भक्तदाश श्रेष्ठलाई दिएँ । उनी गुञ्जमान सरदारको परिवार हुन् । कान्छी छोरी डेन्टिष्ट । उनको विवाह काठमाडौंको बज्राचार्य  परिवारमा  भयो  । तर उनीहरु अमेरिकामा बस्छन् ।

सबैको बस्दोबस्त राम्रो रहेछ, तैपनि तपाईँ अझै काममा भिडिरहनुहुन्छ ?

परिवारमा सबै राम्रो छ । सबै छोराहरुको विवाह पनि क्वालिफाइड बुहारीसँग भएको छ । पाँच भाइ छोरालाई पाँच घर बनाइदिएको छु । व्यापारसँगै भएपनि घर, बस्ने, खाने अलग अलग छ । सबैसँग गाडी छ । छोरासँगको २/२ वटा छन् । बुहारीहरुसँग पनि १/१ वटा गाडी छन् । नाती प्रवल झनै गाडीकाे साैखिन छ । सबै आरामसँग जीवन चलाएका छन् । उनीहरुको भविष्यको चिन्ता छैन ।

परम्परागत चाडवाड पालैपाले एउटै घरमा मनाउने चलन छ । वर्थडे, म्यारिज एनिभर्सरी भईराख्छ । परिवारमा सधै भोज हुन्छ, कहिले कसकोमा, कहिले कसको घरमा ।

तपाई पनि जम्मदिन मनाउनुहुन्छ ?

मनाउँछु । एमोरि पूर्णिमा पछिको द्वादशीको दिन मेरो जन्मदिन । जन्मदिनको दिन रुद्री लगाउँछु, राती भोज हुन्छ । परिवारका सबैलाई बोलाउँछु । छोराछोरी, बुहारीहरु, ज्वाईहरु, नातिनातिना । सबै जम्मा हुँदा बथान नै जम्मा हुन्छ, ४०/५० जना ।

तपाई रिटायर्ड कहिले हुने ?

अब रिजायर्ड जस्तै हो । काम धेरै गर्दिन । घरमा बस्न मन लाग्दै । कहिले फ्याक्टीमा जान्छु । दुई दिनअघि मात्र सिराहको फ्याक्ट्रीमा गएको थिए । उद्योगमा बत्ति विग्रियो भने । के भएछ हेर्न गएको । म गएपछि बन्यो । सरकारले ८२ फिटको बाटो बनायो । हाम्रो जग्गा धेरै पर्यो ।

शाखः समूहमा कुन कुन उद्योगहरु छन् ?

सबैभन्दा ठूलो उद्योग त शाखः स्टील नै भयो । अर्को रोलिङ मिल छ । नेपाल पेन्ट उद्योग छ । औषधि उद्योग छ । केमिकल्स उद्योग छ । सनमाइका फ्याक्टी छ तर यो उद्योग चलाउन गाह्रो भईरहेको छ । बुबाको पालादेखिको कपडा व्यापार अझै पनि गर्छौ ।

वार्षिक कति कारोबार हुन्छ ?

सबै उद्योगको थाहा छैन । स्टील उद्योगको कारोबार वर्षिक ३०० करोड हुन्छ । सिमरामा ३०० वर्कर छन् ।
शाखः स्टीलको अवस्था कस्तो छ ?

उत्पादन भए बिक्रीमा समस्या छैन । स्टीलको माग बढी छ । प्रयाप्त उत्पादन गर्न सकिएको छैन । हामीले बैंकबाट कर्जा लिन सक्दैनौ । कार किन्न प¥यो भने १० प्रतिशतमा कर्जा पाउँछ, उद्योग खोल्नुप¥यो भने १३ प्रतिशत व्याज भन्छन् । एक किलो फलामको माल तयार गर्दा कुल लागतको २८ प्रतिशत सरकारले पाउँछ, हामीले प्रतिकिलो १÷२ रुपैयाँ पाउने हो । तर सरकारले हामीलाई विजुली पनि प्रयाप्त दिँदैन । राजश्व जति सरकारमा मन्त्री, सांसदहरुको तलव सुविधा, सेक्युरिटी, सचिवालय खर्चमा गएको छ । उद्योगलाई सरकारले मद्दत नै गर्दैन ।

कति पुस्ता भयो व्यवसायमा आएको ?

मैले आफ्नो पुस्ताको बारेमा धेरै अध्ययन गरे । पाँच पुस्तासम्मको जानकारी पाएँ । पाँच पुस्तासम्मको इतिहास भक्तपुरमा छ । त्यसअघिको भेटिएन ।

मेरो बाजेले पनि व्यापार नै गर्नुभएको हो । मेरो बुबाले जापान, सिंगापुर, भारतबाट कपडा, धागो, तेल, कपास झिकाएर उद्योग, व्यापार गर्नु भएको थियो । त्यतिबेला कर कम थियो । वर्षमा एक पटक कर तिर पुग्थ्यो । अहिले कर धेरै भयो । महिनैपिच्छे कर दिर्नु पर्ने । सालभरको १०/१२ हजार कर तिर्दा पुग्थो । अहिले एक कन्साईनमेन्ट स्टील तिर्दा ४÷५ करोड भन्सार तिर्नुपर्छ । कहाँबाट कहाँ पुग्यो ।

तपाईले उद्योगमा हात हाल्नु भएको कति भयो ?

४५ वर्ष भयो । २०३१ सालमा पहिलो उद्योग खोलेको ।

४५ वर्ष उद्योगमा काम गर्नुभयो, थकाई महसुश हुँदैन ?

थकाई महसुश हुँदैन । जे गरे पनि इष्र्या हुनुपर्छ । मैले छोराहरुसँग भन्छु–तिमीहरुसँग इष्र्या नै भएन । यो काम गर्छु, गर्छु भनेर लागेनन् । मैले गरेको काममा धेरै विस्तार गर्न सकेननन छोराहरुले ।

४५ वर्षमा बजारमा कस्तो परिवर्तन आएको छ ?

धेरै परिवर्तन छ । कारोबार निकै पढ्यो । तर उधारो चल्यो । यो राम्रो भएन । अहिले ९० दिनको उधारो भन्न थाले । व्यापारीहरु पनि चलाख भए । बैंक ग्यारेन्टी माग्यो भने जग्गा तेरै नाममा लेखिदिन्छु तर बैंक ग्यारेन्टी दिन सक्दिन भन्छन् । एकै जनाले २/३ करोड उधारो लिन्छ ।

उधारो उठाउन केही समयअघि धनगढी गएको थिएँ । पैसा माग्दा विस्तारै दिन्छु भन्छ । घर जग्गा लेखेर दिएकै छु, महँगो भएको छ । तपाईको पैसा डुब्दैन भन्छ । उसको घरमा न बस्न जानु, न बिक्री गर्नु । त्यो मलाई कामै छैन ।

उद्योग व्यवस्थापन गर्न सबैभन्दा गाह्रो के हुन्छ ?

जनशक्ति व्यवस्थापन गाह्रो भयो । बैंकहरुले धेरै तलब दिन्छ, बोनस पनि राम्रो दिन्छ, काम पनि सेकेण्ड सेकेण्डको हिसाबमा हुन्छ । तर उद्योगमा त्यसरी काम लगाउन सकिँदैन । १० बजे आउनुपर्ने कर्मचारी साढे १० सम्म आइपुगेको हुँदैन । २ बजेपछि आधा घण्टाको खाजाको समय छ भने १ घण्टा खाजा खाजा विताउँछन् । मन लागेन भने अफिस नै आउँदैन । हिजो किन नआएको भनेर सोध्यो भने घरमा काम प¥यो भन्छ । काम लगाउँनै गाह्रो छ ।

आफ्नो भविष्यकोबारे के सोच्नुहुन्छ ?

अब नसोचे पनि हुन्छ । म अन्तिम चरणमा पुगको छु । सामाजिक काम पनि धेरै गरे । स्कूल, कलेजको अध्यक्ष भएर धेरै वर्ष काम गरे । भक्तपुर क्यान्सर अस्पतालमा लामो समय दिए । अब सामाजिक काम पनि छोडे, राजनीति पनि छोडे । अचेल बढी समय धार्मिक काम गर्छु ।

राजनीति त छोड्नु भयो, भोट हाल्न पनि छोड्नु भयो कि ?

भोट त हाल्छु । मंसिरमा पनि काँग्रेसलाई भोट दिए । २००३ सालदेखि प्रजातान्त्रिक आल्दोलनमा लागेको म । त्यसैले मैले संधै कांग्रेसलाई भोट दिन्छु ।

चन्दा माग्न कति आउँछन् ?

धार्मिक कार्यलाई चन्दा दिन्छु । राजनीति गर्नेलाई चन्दा दिन्न । हामीलाई खुप पेल्छ । चन्दा माग्नेमा कम्यूनिष्ट पार्टीहरु खराव छन् ।  धम्की पनि कस्तो कस्तो कस्तो दिने । चन्दा नदिएकोले कसलाई बोरामा राखेर फालिदिए भन्यो, माअाेवादीकाे एक नेताले। सक्छस् भने मलाई पनि बोरामा राखेर फाल्, चन्दा त मरे पनि दिन्न भनेँ ।

बाेरामा फाल्ने धम्की दिनेले पैसा लिएरै गए कि नलिइ ?

दिइन । किन दिने ? हरेक चुनावमा चन्दा माग्ने, हड्ताल गर्नु पर्ने भएपनि माग्ने । सके पो दिने । माग्ने पनि थोरै हो र ? १० लाख, ५ लाख भन्छ । मैले बढी दियो भने २५ हजार, नत्र पाँच हजार, १० हजार मात्र ।

चन्दाको कुरा भयो, घुस पनि खुब खुवाउनुपर्छ है ?

पैसा नदिई कामै हुन्न । पैसा खाएर पनि काम गर्दैन । म एउटा उदाहरण भन्छु । लोडसेडिङ बढेपछि पुराना सबै उद्योगले विद्युतको सबस्टेशन राखेर उद्योग चलाउन थाले । हामीले पनि सब स्टेशन राखेर उद्योग चलाउन प्रयास गर्यौ । तीन वर्षअघि फाइल जोतेर (जोडबल गरेर) लगेको थिएँ । त्यतिबेला उर्जामन्त्री पोष्टबहादुर बोगटी थिए । एउटै भेटमा उनले तोक लगाइदिएका थिए ।

विद्युत प्राधिकरणका जनरल म्यानेजरमा फाइल पुगेपछि रोकियो । उनी बढो चल्तिको मान्छे । उसले अर्काे स्टीललाई सबस्टेशन राखिदियो, मलाई दिएन । सबस्टेशन राख्न मैले चार वर्षभन्दा बढी मिहेनत गरे । पैसा पनि धेरै खर्च भयो । तर सबस्टेशन राखिदिएन ।

माथि देखि तलसम्म खुवाउनु पर्ने । मैले पनि पैसा खर्च गरेँ तर अलि कन्जुस गरेँ । अरुले धेरै खर्च गरे । अरुको काम भयो, मेरो भएन ।

त्यसरी पैसा खुवाएर सबस्टेशन राख्दाको फाइदा के हुन् ?

लोडसेडिङको बेलामा पनि विजुली आइरहने भयो । उद्योग नियमित चलाउन सकिन्छ । दोस्रो प्रति युनिट एक रुपैयाँ रिबेट (फिर्ता) हुन्छ । सबस्टेशन राख्दा जति खर्च भएपनि दुई वर्षमा नै कभर हुन्छ । तेस्रो, भोल्टेर स्थिर हुन्छ । भोल्टेज अस्थिर हुँदा धेरै सामान लस हुन्छ । स्थिर भयो भने लस हुन्न । प्रोडक्सन राम्रो हुन्छ । प्रोडक्सन राम्रो हुनु भनेको हाम्रो लागि फाइदै फाइदा ।

अहिले त्यो फाइल कहाँ छ ?

(तत्कालिन उर्जा मन्त्री पोष्टबहादुर बोहरालाई सबस्टेशन राखिदिनु भनेर तोक लगाएको फाइल देखाउँदै) त्यतिबेला मैले धेरै मिहिनेत गरेँ । हेटौंडा, जनकपुर शाखा कार्यालयदेखि विद्युत् प्राधिकरण, उर्जा मन्त्रालय, मन्त्री सब ठाउँबाट लिनुपर्ने सहमति लिए, गर्नुपर्ने निर्णय गराएँ । तर प्राधिकरणको सुल्पियाले फाइल रोकिदियो । केही समयपछि सरकार परिवर्तन भयो । पछि त्यो फाइल खोजेको, प्राधिकरणले हरायो भने ।

अहिले प्राधिकरणले पुरानो फाइल हारायो, नयाँ निवदेन लेख्न भन्यो । अब छोडिदिन्छु । दुई वर्षपछि विद्युत् पर्याप्त उत्पादन हुन्छ । त्यसपछि प्राधिकरण हामीलाई नै बिजुली बढी किन्न भन्न आइहाल्छ ।

तपाई नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य । महासंघ अहिले कमजोर भयो भन्छन्, तपाईलाई कस्तो लाग्छ ?

२०१९ सालतिरको कुरा हो, जुद्धबहादुर श्रेष्ठ, म र अरु केही साथीहरु उद्योग मन्त्रालय गयौं । मन्त्रालयमा सचिव थिए कृष्ण मल्ल । उनलाई हामीले उद्योग वाणिज्य संघ खोल्नु पर्यो भन्यौं । उनले भने–‘अहिले समय भएको छैन, समय आएपछि म तपाईहरुलाई बोलाउँछु ।

केही महिनापछि मन्त्रालयबाट हामीलाई बलावट भयो । म, जुद्धबहादुर, इन्द्रबहादुरलगायत ५/७ जना गएका थियो । ‘अब समय भयो, उद्योग वाणिज्य संघ खोल्दा हुन्छ’ सचिव मल्लले भने ।

नेपाल चेम्बर अफ कमर्शले मंसिर १४ गते लैनचौरको खानी विभागमा पहिलो सम्मेलन बोलायो, प्रतिष्ठित उद्योग, व्यापारीहरुको । राजा महेन्द्रले त्यसको उद्घाटन गरेका थिए । त्यसपछि लोकनाथ जोशीको अध्यक्षतामा उद्योग वाणिज्य संघको तदर्थ समिति गठन भयो ।

संघ नभएको जिल्लाहरुमा पनि संघ खोल्दै जाने निर्णय भयो । मैले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेँ । संस्थापक अध्यक्ष भएर १४ वर्ष काम गरेँ ।

२०२२ सालमा विधिवत रुपमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भयो । यसको कार्यालय नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथमा राखियो । देशभरमा ४४ उद्योग वाणिज्य संघ स्थापना भएका थिए । जिल्ला उद्योग वाणिज्य संघ मात्र सदस्य हुन पाउने । पहिलो चुनाव भयो । जुद्धबहादुरले अध्यक्ष पदमा जित्यो । कार्यसमिति सदस्यमा सबैभन्दा बढी ४३ भोट ल्याएर म विजय भएँ । महासंघमा दुई पटक चुनाव जितेर बसे । तीन पटक सल्लाहकार भएँ ।

चुनावअघि धेरै छलफल भएको थियो । एउटा सम्मेलनमा झोँछेका बालकृष्ण श्रेष्ठले भनेको थिए–‘नेपाल चेम्बर अफ कमर्शले छोरा जन्माउनु पर्ने ठाउँमा बाउ जन्मायो ।’ यस विषयमा पछिसम्म ठूलो छलफल भयो । मलाई सबै थाहा छ । म चेम्बरको सचिव पनि थिए । नेपाल चेम्बर अफ कमर्शमा पनि वीरगञ्ज चेम्बर अफ कमर्श, विराटनगर चेम्बर अफ कमर्श, जनकपुर चेम्बर अफ कमर्श जस्ता धेरै सदस्य थिए । पशुपति गिरीले एउटा लेखमा भनेका थिए–‘नेपाल चेम्बर अफ कमर्शले फेडेरेशनको स्वरुपमा काम गसिसकेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ किन खोल्नु पर्यो ?’ चेम्बर अफ कमर्शको नाम मात्र परिवर्तन गरे हुन्छ, नयाँ संस्था चाहिँदैन भन्ने उनको तर्क थियो ।

कोट्यायो भने म आफै पनि दोषी हुन्छु । वास्तवमा नेपाल चेम्बर अफ कमर्शले बाउ जन्माएको हो । पछि आएर नेपाल उद्योग वाणिज्य महासंघ चेम्बर अफ कमर्शको दुस्मनी भयो । आजसम्म नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पनि लिएको छैन । शुरुको समयमा दुई संस्थाको नेतृत्वबीच बोलचाल नै भएन । चेम्बर अफ कमर्शको अध्यक्ष भइसकेका इन्द्रभक्त श्रेष्ठ २०३८ सालमा महासंघको अध्यक्ष भएपछि सम्बन्धमा सुधार भयो ।

महासंघ र चेम्बरबीच अहिले पनि द्धन्द्ध छ । यसबारे तपाईको बुझाई के छ ?

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ मलाई सोध्न आएका थिए । अब चेम्बरलाई पनि महासंघ जस्तै फेडरल ढाँचामा लैजाने । उद्योग वाणिज्य महासंघका गतिविधि समाल्नै नसकिने गरि अगाडि बढ्यो । राजधानीबाहिरको व्यवसायहरुको बाहुल्यता बढ्यो । पशुपति मुरारकालाई यसरी मोडिदियो कि महासंघले विधान संशोधन गरेर गर्नै नहुने काम गर्यो । संयोगले भवानी राणा उपाध्यक्ष भएको थियो, अहिले स्वतः अध्यक्ष भयो । राणाको लागि गोल्डेन चान्स आयो । प्रथम उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले महासंघलाई खत्तम बनायो । यसको शक्ति सकियो । यस्तो व्यवस्था धेरै समय टिक्छ भन्ने मलाई लाग्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.