अमुल डेरीलाई नेपाल आउन नदिने– दुग्द उद्योगी

  २०७५ जेठ ८ गते २१:०२     विकासन्युज

काठमाडौं । भारतको लोकप्रिय दुग्ध सहकारी संस्था अमुल डेरीलाई आफ्नो उत्पादन विस्तार र बजारिकरण गर्न नेपाल आउन नदिने दुग्ध उत्पादक उद्योगीहरुले बताएका छन् । भारतमा किसानलाई दिइने अनुदानको कारणले नेपालकोभन्दा सस्तो दुध पाइने भएको भन्दै सो डेरी नेपालमा आए स्वदेशी उद्योहरुले प्रतिस्पर्धा गर्न नसकी धरासाय हुने उनीहरुको तर्क छ ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले भारतको लोकप्रिय सहकारी संस्था अमुल डेरीलाई नेपालमा आफ्नो बजार बिस्तार गर्ने गरी आउन नदिने बताए । ‘अहिले भारत लगायतका देशहरुबाट पाउर दुध, बटर लगायत अत्यधिक आयात भएकोले स्वदेशमा उत्पादन हुने दुधले बजार पाउन सकेको छैन,’ उनले भने ‘झन ४५ मुलकमा आफ्नो उत्पादन निर्यात गरिरहेको सहकारी संस्था अमुलले आफ्नो बजार विस्तर गर्न नेपालमा प्रवेश गरे स्वदेशी डेरी उद्योगहरु धरासायी हुनेछन् ।’ त्यसकारण पनि बजार विस्तारको लागि उक्त डेरीलाई आउन नदिन सम्पूर्ण दुग्ध सहकरी संस्था एकजुट भएको उनले जानकारी दिए ।

अमुलको सहकारी मोडल तथा प्रविधिहरु स्वदेशी दुग्ध उद्योग तथा सहकारी संस्थाहरुको हितको लागि ल्याइन्छ भने त्यसलाई स्वागत गर्ने उनको भनाइ छ ।

मंगलबार उक्त सहकारी संघले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा चितवनबाट प्रतिनिधि गरेका नन्दीनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बालकृष्ण उप्रेतीले अहिले चितवानमा मिल्क होलीडे शुरु भइसकेको भन्दै यस्तो विकराल अवस्थामा भारतको अमुल डेरीलाई मुलुकमा आउन दिन नहुने बताए ।

त्यस्तै इलाम कन्यामका सिद्धवावा दुग्ध केन्द्र सहकारी तथा कन्याम चिस्यान तथा प्रशोधन केन्द्रका निरकुमार प्रधानले पनि मुलुकका ठुला डेरी सहकारी संस्थानहरुले दुध लिन छोडेको भन्दै यस्तो अवस्थामा मुलुकबाहिरको दुग्ध उद्योगहरुलाई नेपालमा भित्र्यान नहुने बताए । ‘अहिले हाम्रो सहकारीबाट झापाका सहकारी संस्थामा पठाइने गरेको दुधमध्ये २५ देखि ५० प्रतिशतसम्म लिन छोडिसकेका छन्’, उनले भने ‘मिल्क होलीडे शुरु भइसकेको अवस्थामा विदेशी उद्योगलाई नेपालमा बजार विस्तार गर्न दिनु हुदैन ।’

नेपाल दुधमा आत्मनिर्भर हुने दिशामा अघि बढिरहेको अवस्थामा सोही अनुसारको कार्यक्रमहरु ल्याइउनु पर्ने दुग्ध उद्योगीहरुको भनाइ छ ।
दुग्ध व्यवसायीहरुकाअनुसार भारतीय सरकारले किसानहरुलाई दुध उत्पादनमा १५/२० प्रतिशतसम्म अनुदान दिएको छ । जसअनुसार त्यहाँ नेपालकोभन्दा प्रतिलिटर ७/१० रुपैयाँ सस्तो पाइने गरेको छ ।

अमुल डेरीले नेपालमा आफ्नो उत्पादन विस्तार गरे स्वदेशी मूल्यभन्दा उक्त उद्योगबाट उत्पादन भएको दुध तथा दुधजन्य पदार्थको मुल्य कम हुने भएकोले स्वदेशी उद्योगहरु प्रतिस्पर्धा गर्न नसकि धरासयी हुने उनीहरुको जिकीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.