मेगा बैंकमा टुरिजम् डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार आजैबाट शुरु

  २०७५ वैशाख ३० गते १५:४४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । दुई कम्पनी गाभिएपश्चात आइतबारबाटै मेगा बैंक लि.को नामबाट एकिकृत कारोबार शुरु भएकाे छ ।

काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको जनाएका छन् ।

मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

‘टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने- ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ । मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’

संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् ।

मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोड रुपैयाँको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको कम्पनीले जनाएको छ ।

यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.