व्यवस्था परिवर्तनसँगै रेमिट्यान्स आम्दानीमा गिरावट, ५७ देशमा किन जाँदैनन् नेपाली ?

  २०७५ वैशाख २४ गते ११:३४     राजु पौडेल

एसियाली मुलुक फिलिपिन्स विगत साढे पाँच दशकदेखि रेमिट्यान्समा निर्भर छ । सीपमुलक तालिम लिएका वा प्राविधिक शिक्षा हासिल गरेका फिलिपिनी नागरिकहरूले देशको सिमानाभन्दा वाहिरबाट पठाउने रेमिट्यान्सले त्यहाँको अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ । दक्षिण एसियाली मुलुक बङ्गलादेश, पाकिस्तान, श्रीलंका र भारत पनि घरयासी अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका उल्लेखनिय छ ।

रोजगारी, व्यापार–व्यवसाय वा अध्ययनलाई विज्ञान र प्रविधिको अभूतपूर्व विकासले विश्वलाई अप्रत्यासित रुपमा साँघुरो बनाइदिएको छ । एक देशको सिमाना नाघेर अर्को देशमा प्रवेस गर्न सजिलो बन्दै गएको छ । तसर्थ, एक देशमा आर्जन गरेको धन अर्को देशको अर्थतन्त्रमा हिस्सेदारी बन्ने विश्व परम्परा पछिल्लो समयमा विकसित हुँदै आएको छ ।

नेपालको अर्थतन्त्र अझै विशेषतः परम्परागत ग्रामिण कृषि अर्थतन्त्रसँग रेमिट्यान्सको अत्यन्तै प्रगाढ र लामो सम्बन्ध छ । तत्कालिन ब्रिटेन अधिनस्थ भारत र त्यहाँस्थित विभिन्न स्थानहरुमा इस्ट इण्डिया कम्पनीको व्यवस्थापनमा संचालन हुने चिया बगान र कृषि फार्ममा मौसमी रोजगारीमा जाने नेपाली प्रचलन विभिन्न रुपमा आजसम्म पनि कायम छ । चार÷छ महिना त्यहाँ पोखिएका पसिनाको मूल्यले घरका नाना र छाना फेरिएका धेरै उदाहरण नेपाली समाजको इतिहासमा सुरक्षित छन् ।

अहिले धेरैको वास्तविकता त्यो भन्दा त्यति धेरै फरक पनि छैन । सन् १८१६ को सुगौली सन्धिपछि गल्ला (तत्कालिन ब्रिटिश– इण्डियामा भर्ति लिनका लागि अख्तियारी प्राप्त सर्वेसर्वा व्यक्ति) को छनोटमा परेका नेपाली युवाले देशको सिमा रक्षा जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न पाए । अनौपचारिक क्षेत्रमा मात्र सीमित रहेको कामका लागि प्रवासिने नेपाली प्रचलन त्यसपछि मात्र औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा फैलिन थालेको हो । यी घटनाहरुलाई अध्ययन गर्दा नेपालमा वैदेशिक रोजगारीको इतिहासले दुई सयवर्ष पार गरिसकेको छ । यद्यपि, राष्ट्रिय बिभूती कलाकार अरनिकोको प्रवासनलाई पनि एक महत्वपूर्ण पाटो मान्नुपर्ने हुन्छ । यति लामो इतिहास बोकेको वैदेशिक रोजगार र त्यसबाट आर्जन हुने रेमिट्यान्सको आप्रवाह पछिल्लो समयमा खस्किँदो छ । यसले केहि निश्चित चिन्ताहरू जन्माइ दिएको छ ।

रेमिट्यान्स आप्रवाहको पछिल्लो अवस्था

हालै नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको संयुक्त पहलमा आर्थिक वर्ष २०७२/७३ र ७३/७४ मा वैदेशिक रोजगारीमा जानेको आँकडा विश्लेषण गरिएको थियो । विश्लेषणबाट प्राप्त नतिजा अनुसार बैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा झन्डै सवा ५ प्रतिशतले गिरावट आएको देखाइएको छ । रेमिट्यान्स आप्रवाहको मुख्य स्रोत वैदेशिक रोजगारीमा आएको यो गिरावटले रेमिट्यान्स बजारलाई थप चिन्तित तुल्याएको छ । नेपाली श्रमिकहरुले पहुँच राख्न सक्ने सजिला गन्तव्य मुलुकमा भएका नीति परिवर्तन, भूकम्प र त्यसपछिको परिस्थिति लगायतका कारणले नेपालको वैदेशिक रोजगार दिन प्रतिदिन प्रभावित बन्दै आएको छ ।

आर्थिक वर्ष २०७०/७१ सम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा निरन्तर बढोत्तरी आइरहेको थियो । कूल गार्हस्थ्य उत्पादनको ३१/३२ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट प्राप्त हुन्थ्यो । ‘फ्री भिषा फ्री टिकट’ नीति र २०७२ वैशाखमा आएको विनासकारी भूकम्पले वैदेशिक रोजगारीमाजाने ठूलो श्रमिक सङ्ख्या अन्योलमा पर्यो । सबैभन्दा आकर्षक र सजिलो गन्तब्य मानिएको मलेसियामा आर्थिक वर्ष २०७०/७१ मा २ लाख १० हजार वैदेशिक रोजगारीका लागि प्रवेस गरेको देखिन्छ भने आर्थिक वर्ष ०७२/७३ मा सो सङ्ख्या ५९ हजारमा झरेको छ । सङ्घीय संबिधान जारी भएपछि सम्पन्न तीनै तहका निर्वाचनका कारण पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ह्रास आएको हो । रेमिट्यान्सको स्वभाविक स्रोत वैदेशिक रोजगारी दिन प्रतिदिन प्रभावित बन्दा रेमिट्यान्स आप्रवाहको दरमा पनि राम्रै धक्का महसुस भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालमा ६ खर्ब ९५ अर्ब रकम रेमिट्यान्समार्फत भित्रिएको छ जुन कुलगार्हस्थ्य उत्पादनको २६ दशमलव ९ प्रतिशत बराबरको रकम मात्र हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा रेमिट्यान्स आप्रवाहको दर मात्र होइन रकम नै घट्न पुगेको तथ्यांकले देखाउँदा मूलतःमुलुकको आयात धान्ने मुख्य स्रोत रेमिट्यान्स अहिले वित्तीय व्यवस्थापनको जिम्मेवारीमा रहेका सबैलाई चिन्ताको विषय बनेको छ ।

चिन्ता व्यवस्थापनका उपायहरु

देशको उर्वर जनशक्ति प्रवासको भौतिक विकासमालगाउँदा प्राप्त हुने रेमिट्यान्सले देशको दीर्घकालीन आर्थिक विकासमा सहयोग पुग्दैन । यो सत्य हो तर, त्यो उमेरको श्रम, सीप र शक्ति व्यर्थैमा खेर फाल्नुभन्दा रेमिट्यान्स आर्जनको विकल्प खोज्नु धेरै हदसम्म उत्तम उपाय हो । पहिलो त देशका युवालाई देशकै भूगोलमा आयआर्जनका विकल्प प्रस्तुत गर्नु दीर्घकालीन उपाय हो जुन प्रत्यक्षत राज्यसँग सम्बन्धित मुद्दा हो । पहिलो विकल्प तत्काल पूर्ति नहुने अवस्थामा सोझिने निसाना भनेकै अन्तर्राष्ट्रिय श्रम बजार हो । सुरक्षित, भरपर्दो र अलि बढी आम्दानी प्राप्त गर्न सकिने श्रम बजारको खोजि गर्नु दोस्रो उपाय हो । वैदेशिक रोजगारका लागि खुल्ला गरिएका १ सय १० भन्दा बढी देशहरू मध्ये अहिले जम्मा जम्मी ५३ देशहरुमा नेपाली श्रमिकहरूको उपस्थिति देखिन्छ । करिव ५२ प्रतिशत देशमा नेपाली जाँदैनन् । ती देशमा नेपालीहरु किन जाँदैनन ? खोजीको विषय भएको छ ।

नेपाली जाने राष्ट्रहरू मध्ये पनि खाडी मुलुकर मलेसियाको बाहुल्यता बढ्ता छ । हालै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र द एसिया फाउन्डेसनको सहयोगमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले तयार पारेको प्रतिवेदनका अनुसार उच्चजोखिम र न्यूनप्रतिफल यस्ता बजारको विशेषता हो । तसर्थ, खस्किँदो रेमिट्यान्स आप्रवाहको क्षतिलाई तत्काल न्यूनीकरण गर्न अन्य आकर्षक श्रम गन्तव्यको खोजि गरिनु पर्दछ ।
अघिल्लो महिनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव ९ प्रतिशतले बृद्वि भयो । रेमिट्यान्सको स्रोतमा तात्विक फेरवदलन देखिइकन प्राप्त यो नतिजाले सवैलाई आश्चर्य चकित तुल्याइ दियो । नेपालको गृह प्रशासनले देखाएको कडाई यसको मुख्य कारण थियो । अवैध आर्थिक कारोबार नियन्त्रणका लागि गृह मन्त्रालयले चालेका कदमको प्रभाव छोटै समयमा कसरी विस्तारित हुने रहेछ भन्ने सजीव प्रमाणको लागि यो उदाहरण प्रस्तुतगरिदिएहुन्छ । यस्ता कैयनकार्यहरू सम्पादनगर्न बाँकी नै छन् जहाँ राज्यको निरन्तर निगरानीपुग्नुपर्दछ । फलत, यहि स्रोत र साधनमा पनि रेमिट्यान्स आप्रवाहको दरलाई सजिलै बढाउन सकिन्छ ।

अन्त्यमा
बढ्दो विश्वव्यापीकरणसँगै व्यक्ति–व्यक्तिको रोज्ने छाड्ने अधिकारमा पनि बढोत्तरी आएको छ । एक देशको प्रविधि अर्को देशको जनशक्ति यो अहिले विश्वको साझा रोजाई हो । देशको राजनीतिक ब्यवस्था बदलिएको छ, नागरिकहरुको अवस्था उस्तै छ । यही बेलामा रेमिट्यान्स आम्दानीमा गिरावट आएको छ । आर्थिक स्वतन्त्रता र आर्थिक समृद्विको नारा अहिले सबैको मुखारविन्दबाट प्रस्फुटित हुन्छ । यो नारालाई सत्यमा रुपान्तरण गर्न प्रविधि, सीप, तालिम, जनशक्ति, संजाल र धनकावीच सहकार्य आवश्यक हुन्छ । रेमिट्यान्स सेवा यो दृष्टिले समेत आगामी दिनमा झनै महत्त्वपूर्ण हुनेछ ।

twitter@rajupaudel44

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.