२०७५ वैशाख २० गते १६:१२ विकासन्युज
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व ब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् ।
अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्धारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन् । यसको मतलब के अब हामीले विश्व ब्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ?’
पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिए सँगै यो बिषय विश्व ब्यापी वहशमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादन माथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ । विश्व ब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ ।
‘विश्व ब्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वब्यापी रूपमा गम्भिर समिक्षा विना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ ।
अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढि जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरेका छन् । ‘अमेरिका लगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनिकुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन ।’
विकासशिल राष्ट्रहरूको प्रमुख एजेण्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको बताउँदै अध्यक्ष चौधरीले ति देशहरूमा राजनीतिक तहबाटै लगानी–मैत्री वातावरण तयार गर्ने तर्फ ध्यान पुर्याइएको महसुस आफुले गरेको अनुभव सुनाए । विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यानदिन जरूरी रहेको उनले बताए ।
‘विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने ‘यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।’ विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको छ र यो प्रयासमा साथ दिन आग्रह गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.